January 30th, 2017

सात जलविद्युत् कम्पनीले पौने ३९ लाख कित्ता आईपीओ जारी गर्दै

पछिल्लो समय जलविद्युत् कम्पनीमा सर्वसाधारण लगानीकर्ताको आकर्षण बढिरहेको देखिन्छ । स्थानीय तथा आयोजना प्रभावितका लागि भन्दै जलविद्युत् आयोजनाहरुले जारी गरेको सेयरमा परेको आवेदनले यस्तो देखाएको हो । हाल, साधारण सेयर निष्काशनका लागि सात वटा जलविद्युत् कम्पनी नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा छन् । यी कम्पनीले कुल ३८ लाख ७४ हजार पाँच सय ४३ कित्ता साधारण सेयर एक सय रुपैयाँ अंकित मूल्यमा जारी गर्न लागेका हुन् । हेरौँ, कुन जलविद्युत् कम्पनीले कति कित्ता सेयर निष्काशन गर्दैछ ?

आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड
आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले आठ लाख कित्ता साधारण सेयर जारी गर्न अनुमति माग गर्दै गत जेठ ३१ गते नै धितोपत्र बोर्डमा निवेदन दिएको थियो । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा निष्काशन गर्न लागेको सेयरले इक्रा नेपालबाट ग्रेड ५ रेटिङ पाएको छ । कम्पनीले आयोजना प्रभावितहरुका लागि सेयर जारी गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । 

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले तीन करोड ६८ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १०० रुपैयाँ अंकित मूल्यमा तीन लाख ६८ हजार १४३ कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको यो आयोजना रसुवा जिल्लाको डाँडागाउँमा रहेको छ ।

गर्जङ उपत्यका हाइड्रोपावर लिमिटेड
गर्जङ उपत्यका हाइड्रोपावर लिमिटेडले पनि दुई लाख कित्ता साधारण सेयर निष्काशन गर्दैछ । कम्पनीले स्थानीय वासिन्दाका लागि एक सय रुपैयाँ अंकित मूल्यमा दुई करोड रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

राधी विद्युत् कम्पनी लिमिटेड
राधी विद्युत् कम्पनी लिमिटेडले चार लाख १० हजार कित्ता साधारण सेयर निष्काशन गर्दैछ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा चार करोड १० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । कम्पनीले जारी गर्न लागेको सेयर स्थानीयका लागि हो । राधीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड
युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले सर्वसाधरण लगानीकर्ताका लागि १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १७ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले सेयरलाई इक्रा नेपालले ग्रेड ३ रेटिङ दिएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले तीन लाख ७१ हजार चार सय कित्ता साधारण सेयर निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावितका लागि सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा तीन करोड ७१ लाख ४० हजार रुपैंया बराबरको सेयर जारी गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड
अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सहायक कम्पनी रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले पाँच लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्दैछ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा पाँच करोड ६० लाख रुपैयाँ बराबरको सेयर स्थानीय वासिन्दाका लागि निष्काशन गर्न लागेको हो । सेयर निष्काशन तथा विक्रि प्रबन्धककमा कम्पनीले एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]