January 19th, 2017

राष्ट्र बैंकको निर्देशनलाई ठाडै चुनौति, घरघडेरीका ‘ठेकेदार बन्दै’ बैंकहरु

नवराज कुँवर– नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार वाणिज्य बैंकहरु उत्पादनमूलक क्षेत्रमा लगानी गर्न उदाशिन देखिएका छन् । नेपाल राष्ट्र बैंकले आफुले तयार पारेको मौद्रिक नीतिमा उत्पादनमूलक तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गलाई प्राथमिकतामा राखेको छ । तर खासगरी निजी क्षेत्रबाट सञ्चालित वाणिज्य बैंकहरु सो नीतिअनुसार लगानी गर्न उदाशिन देखिएका हुन् । पछिल्लो मौद्रिक नीति अनुसार वाणिज्य बैंकले उत्पादनमूलक क्षेत्रमा कम्तिमा २० प्रतिशत, त्यसमा पनि कृषिमा मात्रै १५ प्रतिशत लगानी गर्न भनिएको छ । त्यसैगरी विपन्न वर्गमा २ प्रतिशत सिधै लगानी गर्न मौद्रिक नीतिले निर्दिष्ट गरेको छ । तर राष्ट्र बैंककै तथ्यांक हेर्दा वाणिज्य बैंकहरुले केन्द्रीय बैंकको निर्देशनलाई बेवास्ता गरेको पाइएको हो । किनभने उनीहरुले राष्ट्र बैंकले भनेको जस्तो लगानी गरिरहेका छैनन् । 


इजरायलको सारागोलान क्षेत्रमा बैंकिङ लगानीबाट लगाइएको आँप बगैँचा । तस्वीर नवराज कुँवर 

चालू आर्थिक वर्षको मंसिर महिनासम्ममा १ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा बैंक तथा वित्तीय संस्थाले त्यसको ६१ प्रतिशत कर्जा अनुत्पादक क्षेत्रमै गरेको पाइएको छ । घरजग्गा, ओभरड्राफ्ट, हायर पर्चेज र सेयर धितोमा बैंक तथा वित्तीय संस्थाले व्यापक लगानी गरेका छन् । तथ्यांकअनुसार यी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले झण्डै एक खर्ब अर्थात ९६ अर्ब ८ करोड रुपैयाँ लगानी गरेका छन् । 

सारागोलान क्षेत्रमा उत्पादित आँप प्याकिङ गर्दै इजरायलकै ठूलो सोहम प्याकिङ हाउस 

तर नेपाल बैंकर्स एसोसियसनका पूर्वअध्यक्ष उपेन्द्र पौडेल उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बैंकहरु उदाशिन भएको बताउन नमिल्ने दाबी गर्छन् । ‘ओभरड्राफ्ट’ ‘वर्किङ क्यापिटल’ अन्तर्गत जाने ऋण उद्योडको लागि गएको हुनाले उत्पादन क्षेत्रमा बैंकहरुको लगानी त्यताबाट पनि जोडिएको उनको भनाई छ ।

इजरायलको बेतओसेफमा मिज्राही बैंकको लोनबाट उत्पादित टमाटर

मुलुकको विकासका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने विज्ञहरु बताउँछन् । फेरी अनुत्पादक क्षेत्रमा लगानी उच्च हुँदा बैंक तथा वित्तीय संस्थाको कर्जा डुब्ने सम्भावना पनि उत्तिकै हुन्छ । तर उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्दा खराब कर्जाको अनुपात बढ्ने सम्भावना रहँदैन ।  त्यसैले पनि राष्ट्र बैंकले कृषि, उर्जा, हाइड्रोलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्न आफ्नो नीतिमार्फत नै बैंक तथा वित्तीय संस्थालाई निर्दिष्ट गरेको हो । तर खासगरी निजी क्षेत्रबाट सञ्चालित वाणिज्य बैंकहरु उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्दा बढी मुनाफा नदेखेकाले त्यतापटि कर्जा प्रवाह गर्न त्यति उत्साहित नभएको बताइन्छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]