January 11th, 2017

पुनःनिर्माण प्राधिकरणबाट हटाइए ज्ञवाली, नयाँ सीईओमा डा. पोखरेल नियुक्त

सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई हटाई डा. गोविन्दराज पोखरेललाई नियुक्त गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले ज्ञवालीले पेस गरेको दोस्रो स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै उनलाई अवकाश दिई डा. पोखरेललाई नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । अघिल्लो मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई पुनः२४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पुनःनिर्माणको काममा तीव्रता नआएको भन्दै उनलाई स्पष्टीकरण सोधिएको थियो । नवनियुक्त डा पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षका साथै पुनःनिर्माण प्राधिकरणसम्बन्धी ऐन आउनुपूर्व प्रमुख कार्यकारी अधिकृत थिए ।

बैठकले भूकम्प प्रभावित विद्यालयमा पुनःनिर्माणका कामलाई गति दिन अस्थायी दरबन्दीमा कर्मचारी नियुक्त गर्ने निर्णय पनि गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]