December 26th, 2016

’सेयरबाट करोडपति’को तेस्रो संस्करण बजारमा

सेयर विश्लेषक रविन्द्र भट्टराईको पुस्तक ’सेयरबाट करोडपति’को तेस्रो संस्करण बजारमा आएको छ । विमोचन भएको एक हप्तामै पहिलो पाँच हजार प्रति बिक्री भएको पुस्तकको दोस्रो संकरण गत असारमा बजारमा आएको थियो । गत जेठ १२ गते पहिलो संस्करण बजारमा आएको यो पुस्तक हालसम्म दश हजार प्रति विक्री भइसकेको छ ।

तेस्रो संस्करणमा धेरै विषय बस्तु थप गरिएको छ र कतिपय पुनर्लेखन समेत गरिएको लेखक भट्टरईले बताइएका छन् । उनका अनुसार, यो संस्करणमा भाषागत त्रुटि हटाइएको छ । यसले पाठकलाई पढ्न अझ बढी उत्प्रेरित गर्ने विश्वास लेखकको छ । दोस्रो संस्कणको तुलनामा पुस्तकको आकार केहि बढेको छ तर पनि मूल्य भने यथावत राखिएको छ । यसले गर्दा उही मूल्यमा पाठकले अझ बढी पढ्न पाउने भएका छन् ।

देशभरका सबै पुस्तक पसलमा पुस्तकको तेस्रो संस्करण उपलब्ध भएको प्रकाशक फाइनप्रिन्टका  प्रवन्ध निर्देशक नीरज भारीले बताए । उनले भने, ‘दोस्रो संस्करण अपेक्षा गरे भन्दा छिट्टै सकिएको छ ।अहिले पनि पुस्तकको मागमा कमि आएको छैन । विदेशबाट सोचे भन्दा बढी माग भएको छ । पुस्तक पसलहरुबाट पुस्तकको माग निरन्तर भइरहेको छ । यो मागले तेस्रो संस्करणले अपेक्षाकृत सफलता हात पर्नेमा आशावादि छौँ ।’ 

पुस्तकको प्रतिक्रिया देखेर आफू उत्साहित भएको लेखक भट्टराई बताउँछन् । ‘सोसल मिडिया र इमेल मार्फत आएका पाठकका प्रतिक्रियाले अझ बढी उत्साहित बनाएको छ ।’ निरन्तर उकालो लागेको सेयर बजार अहिले केहि घट्दो ट्रेन्डमा छ । यद्यपि बजारको जुनसुकै अवस्थामा पनि लगानीकर्ताले जोखिम कम गर्न आफ्नो रणनीति तयार गर्न सक्ने तरिकाहरु कितावमा समेटिएकाले पनि किताव सदावहार बन्न सक्छ । उनी भन्छन्, ‘मेरा अघिल्ला पुस्तकहरु भन्दा अझ बढी सरल, सहज र सर्वसाधारणले पनि बुझ्न सक्नेभाषा र शैलीमा लेखिएकोले यो पुस्तक बढी रुचाइएको हो ।’

पुस्तक विमोचन कार्यक्रममा मदन पुरस्कार प्राप्त कृतिका लेखक अमर न्यौपानेले विम्बहरुको प्रयोग र लेखन शैलीका कारण पुस्तकलाई सेयर साहित्य भनिदिए पनि हुन्छ भनेका थिए । पैसालाई बुझ्न यो पुस्तक एकपटक पढ्नै पर्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]