December 12th, 2016

बोनस र हकप्रद सेयर जारी गरेर पुँजी पुर्याउँदै ज्योति विकास बैंक

jyotiज्योति विकास बैंक लिमिटेडले ११.७० प्रतिशत बोनस सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । बैंकले हाल कायम चुक्तापुँजीको ११.७० प्रतिशत बोनस सेयर दिन लागेको हो । ज्योति विकास बैंक र झिमरुक विकास बैंक लि. एकआपसमा गाभिएर साउन २८ गतेदेखि एकीकृत कारोबार सुरु गरेको ज्योति विकास बैंकको चुक्तापुँजी ९८ करोड ६६ लाख ४५ हजार रुपैयाँ छ । उक्त पुँजीको ११.७० प्रतिशतले हुन आउने ११ करोड ५४ लाख ३७ हजार रुपैयाँ बराबरको बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी एक अर्ब १० करोड २० लाख रुपैयाँ पुग्नेछ । 

ज्योति विकास बैंक राष्ट्रियस्तरको विकास बैंक हो । नेपाल राष्ट्र बैंकबाट जारी पुँजी योजना अनुसार २०७४ आसार मसान्तसम्ममा राष्ट्रिय स्तरको विकास बैंकले साढे दुई अर्ब पुँजी पुर्याउनुपर्ने हुन्छ । यसका लागि बैंकले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीबाट शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर समेत जारी गर्दैछ । हकप्रद सेयर निष्काशनका लागि पनि राष्ट्र बैंकले अनुमति दिएको बैंकले जनाएको छ । बैंकको आगामी साधारणसभाले उक्त बोनस सेयर र हकप्रद सेयर पारित गर्नेछ । हकप्रद सेयर जारी गरेपछि ज्योति विकास बैंकको चुक्तापुँजी दुई अर्ब २० करोड रुपैयाँ पुग्नेछ । 

यसबाहेक बैंकले ३० करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने हुन्छ । चालू आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गरेर उक्त पुँजी थप गर्ने योजना बैंकको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]