November 28th, 2016

कमजोर बन्दै भारतीय रुपया : यस्ता छन् कारणहरु

dollar-icआगामी महिना भारतीय रुपया झनै कमजोर बन्ने अनुसन्धान प्रतिवेदनले देखाएका छन् । जर्मन बहुराष्ट्रिय वित्तीय सेवा प्रदायक कम्पनी ‘दोयचे बैङ्क’ले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार डिसेम्बरमा भारूको तीव्र अवमूल्यन हुने र डलरमा भारूको विनिमय दर कमजोर भएर ७० रुपया पुग्नेछ । सन् २०१७ को अन्त्यसम्ममा भने विनिमय दर झनै कमजोर हुँदै ७२ रुपया ५० पैसा पुग्न सक्ने बताइएको छ ।

अमेरिकामा राष्ट्रपतिको निर्वाचनपछि उदीयमान बजारका विदेशी मुद्रा विनिमय दर ‘सेल–अफ’को स्थितिमा आएको छ । यो पनि रुपयाको भाउ कमजोर बनाउने कारकहरूमध्ये एक भएको बैङ्कले बताएको छ । भारतको भुक्तानी सन्तुलन मजबुत भए पनि रुपयाको भाउ थप कमजोर हुने सम्भावना भएको प्रतिवेदनमा बैङ्कले औंल्याएको छ । चालू आर्थिक वर्षमा भारतको चालू खाता घाटा जीडीपीको शून्य दशमलव ५ प्रतिशत रहने र आर्थिक वर्ष २०१७/१८ मा यो बढेर १ दशमलव १ प्रतिशत पुग्ने दोयचेको प्रक्षेपण छ ।

डलरको मजबुतीले अन्य मुद्रामा दबाब
अमेरिकाले आगामी वर्ष ब्याजदर बढाएपछि डलर झनै सुदृढ हुनेछ । यसले चीनलगायतका अन्य उदीयमान बजारका मुद्राको भाउ पनि दबाबमा आउने बताइएको छ । आगामी वर्षको डिसेम्बरमा डलर र चिनियाँ युआन विनिमय दर ७ दशमलव ४ प्रतिशतले घट्ने र सोही अवधिमा यूरोको पनि विनिमय दर प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ । ‘यस परिदृश्यमा आगामी वर्ष रुपयाको विनिमय दरले ७० भारूको स्तर पनि पार गर्नेछ र वर्षको अन्त्यसम्ममा यो दर ७२ रुपया ५० पैसा नै पुग्न सक्छ,’ प्रतिवेदनमा दोयचेले भनेको छ ।

अवमूल्यन रोक्ने उपाय
केन्द्रीय बैङ्कले रुपयाको भाउलाई टेवा दिन बेलाबेलामा मुद्रा बजारमा हस्तक्षेप गरे पनि यसले भारूको भाउमा आउने झिनो अवमूल्यन भने रोक्न नसक्ने दोयचको भनाइ छ । मुद्रा बजारमा धेरै हस्तक्षेप गर्नुभन्दा भारूको भाउलाई अन्य उदीयमान बजारका मुद्राकै हाराहारीमा कमजोर हुन दिँदा निर्यातमा प्रतिस्पर्धात्मकता कायम हुनुका साथै मौद्रिक नीति थप खुकुलो बनाउन सहज हुने प्रतिवेदनको सुझाव छ । रासस/पीटीआई


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]