October 21st, 2016

मूल्यवृद्धिको वृद्धिदर घट्यो : उपत्यकामा ६.६ प्रतिशत

shopचालु आवको दोस्रो महिनामा मुल्यवृद्धिदर घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, गत साउनमा ८.६ प्रतिशतका दरले बढेको मूल्यवृद्धि भदौ महिनामा ७.९ प्रतिशतका सीमित भएको हो । गत वर्षको भदौको तुलनामा भने यो दर बढेको हो । गत आर्थिक वर्षको भदौ महिनामा मूल्यवृद्धिको वृद्धिदर ७.२ प्रतिशत रहेको थियो । सो अवधिमा चिनी तथा चिनीजन्य पदार्थ, फलफूल, दलहन तथा गेडागुडी, मदिराजन्य पेय पदार्थ, मसला, लत्ताकपडा तथा जुत्ता र विविध वस्तु तथा सेवाहरुको मूल्य वृद्धिदर उच्च रहेकोले समग्र मूल्यवृद्धिको  वृद्धिदर अपेक्षित रुपमा घट्न नसकेको राष्ट्र बैंकले जनाएको छ । 

चालू आवको भदौ महिनामा खाद्य पद्धार्थको मूल्यवृद्धि गत आवको भदौ महिनाको तुलनामा न्यून दरमा बढेको छ । गत वर्षको भदौमा ८ प्रतिशतका दरले बढेको खाद्य वस्तुको मूल्यवृद्धिदर चालू आवको भदौ महिनामा ७.७ ्रतिशतका सीमित भएको छ । यो अवधिमा दाल तथा गेडागुडी, मासु तथा माछा, घिउ तथा तेल, मदिराजन्य पदार्थ, होटल तथा रेष्टुरेन्ट अन्तर्गतका बस्तुहरुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोलेखाद्य मुद्रास्फीति केही कम रह्यो । यसले गर्दा पनि समग्र खाद्य मुद्रास्फीति कम भएको हो । भदौ महिनामा चिनी तथा चिनीजन्य पदार्थको मूल्य २०.६ प्रतिशत, फलफूलको मूल्य १६.६ प्रतिशत, दलहन तथा गेडागुडीको मूल्य १४.४ प्रतिशत, मदिराजन्य पेय पदार्थको मूल्य १३.४ प्रतिशत र मसलाको मूल्य १२.६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ । 

भदौ महिनामा गैर–खाद्य मुद्रास्फीति ८.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर– खाद्य मुद्रास्फीति ६.६ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतका विविध वस्तु तथा सेवाहरुको मूल्य १३.६ प्रतिशत र लत्ताकपडा तथा जुत्ताको मूल्य ११.२ प्रतिशतले वृद्धि भएको कारण गत वर्षको तुलनामा समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क बढेको छ ।

त्यस्तै, क्षेत्रगत आधारमा विश्लेषण गर्दा भदौ महिनामा उपभोक्ता मुद्रास्फीति पहाडमा १०.३ प्रतिशत, हिमालमा ७.५ प्रतिशत, तराईमा ७.४ प्रतिशत र काठमाडौं उपत्यकामा ६.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा ७.२ प्रतिशत, हिमालमा ६.१ प्रतिशत, तराईमा ६.६ प्रतिशत र काठमाडौं उपत्यकामा ८.२ प्रतिशत रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]