February 12th, 2017

सिभिल बैंकको खुद मुनाफामा झिनो वृद्धि, सञ्चालन मुनाफा ९९ प्रतिशतले घट्यो

सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ करोड ७३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा मुनाफामा सात दशमलव ०३ प्रतिशतले मात्रै प्रगती गरेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सिभिलले १५ करोड ६३ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

चार अर्ब ५८ करोड ३८ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा २२ दशमलब ३७ प्रतिशतले वृद्धि गरी ३२ अर्ब ९३ करोड ४९ लाख रुपैयाँको संकलन गरेको छ । कर्जातर्फ बैंकले २८ प्रतिशत वृद्धि गरी २९ अर्ब ५० करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ५० दशमलव ५१ प्रतिशतले बढेर ५४ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ९९ प्रतिशतले घटेर दुई लाख रुपैयाँ पुगेको छ । 

बैंकको निष्कृय कर्जा दुई दशमलव ३१ प्रतिशतले बढेर चार दशमलव ४५ प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पति चार दशमलव ५८ प्रतिशतले बढेर १७ दशमलव ७४ प्रतिशत पुगेको छ । यो अवधिमा २६ करोड २७ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ४३ करोड १७ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा एक अर्ब ४२ करोड ८० लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी सात दशमलव ३२ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ३४ दशमलव ४२ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३१ दशमलव १५ रुपैयाँ र तरलता अनुपात २४ दशमलव ६४ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]