May 24th, 2017

संसारकै महँगो मुद्रा ‘बिट क्वाइन’ बारे विशेष रिपोर्ट

केही समययता विद्युतीय मुद्रा बिट्क्वाइनको भाउ निरन्तर बढिरहेको छ । सोमबारको कारोबारमा बिट्क्वाइनको भाउले दुई हजार दुई सय डलरको नयाँ कीर्तिमानी उचाई छोयो । यद्यपि, बजार बन्द हुँदा भने यसको भाउ दुई हजार एक सय ७० डलर ४९ सेण्ट कायम भएको छ । बिट्क्वाइनको भाउ यस वर्षको अहिलेसम्मको अवधिमा एक सय प्रतिशतले बढिसकेको छ भने अझै बढ्न सक्ने विश्लेषण विश्लेषकहरूले गरेका छन् । अहिले बिट्क्वाइन संसारकै सबैभन्दा महँगो मुद्रा बनेको छ ।

मूल्यवृद्धिको अनुमानले लगानी बढ्दै
बिटक्वाइन चलनचल्तीमा आउँदा मानिसहरू ०.०९ डलरमा १ बिटक्वाइन किनेको सुनाउँछन् । यही २०१७ मार्च ३१ मा यसको सटही दर १ बिट क्वाइन बराबर एक हजार डलर थियो । कहिलेकाहीं यसको मूल्य घटे पनि तीव्र गतिमा बढिरहेको छ । पछिल्लो गतिमा बढेको दरको आधारमा सन् २०१८ मा १० हजार डलर पुग्ने अनुमान सार्वजनिक गरिएका छन् । त्यसैले विश्वभर बिटक्वाइनमा लगानी तीव्र रूपमा बढिरहेको छ । यद्यपि सट्टे बजारका यस्ता प्रक्षेपण मिल्छन् नै भन्ने हुँदैन । बिटक्वाइनको निकै सानो एकाइ बनाइएको छ । १० करोड सतोषीको एक बिट क्वाइन हुन्छ । अहिले विश्वमा हुने कारोबारमध्ये हप्तामा १ ट्रिलियन डलरबराबर बिटक्वाइनबाट कारोबार हुन्छ । सबै मुद्रा हप्तामा ७० ट्रिलियन डलर कारोबार हुन्छ ।

के हो बिटक्वाइन ?
बिटक्वाइन भर्चुअल (अभौतिक) मुद्रा हो । यसलाई क्रिप्टोकरेन्सी भनिन्छ । भारु, नेरु जस्ता भौतिक मुद्रा देशका सरकारहरूले निर्माण गर्दछन् । तर, बिटक्वाइन विश्वको जोकोही सर्वसाधारणले बनाउन सक्दछन् । यद्यपि, मनखुसी जति पनि सिर्जना गर्न भने सकिँदैन । यसमा नियम लागू हुन्छ । 

यो ओपनसोर्स सफ्टवेयरमा आधारित हुन्छ । बिटक्वाइन आफैंले बनाउन वा बजारबाट डलर, सुन जस्तै किन्न सकिन्छ । नेपालमा नेरु र भारुले मात्र सरसामान किन्न पाइन्छ । तर बिटक्वाइन भने विश्वका अधिकांश मुलुकमा चल्दछ । बिटक्वाइन मोबाइल वा कम्प्युटरमा मात्र राख्न मिल्दछ । आइक्लाउड (इन्टरनेट) बाट एप्लिकेसन डाउनलोड गरी मोबाइल वा कम्प्युटरमा इन्स्टल गरेर त्यसमा बिटक्वाइन राख्नुपर्छ ।

आफ्नो देशको चलनचल्तीको मुद्राले बिटक्वाइन किन्न पाइन्छ । मनी एक्सचेन्जरले विदेशी मुद्रा साटेजस्तो अन्य मुलुकमा बिटक्वाइन पनि किन्न र बेच्न पाइन्छ । बिट क्वाइन एटीएम मेसिनहरू पनि राखिएका हुन्छन् । त्यहाँ अन्य मुद्रा छिराएर त्यसबराबरको बिटक्वाइन आफ्नो वालेटमा प्राप्त गर्न र आफूसँग भएको बिटक्वाइन अनलाइनबाट तिरेर अन्य मुद्रा झिक्न पनि सकिन्छ । अनलाइनबाट सामान किनेजस्तै विश्वभरबाट बिटक्वाइन किन्न पाइन्छ ।

बिट्क्वाइनको भाउ बढ्नुका कारणहरु
जापान सरकारले हालैमात्र एक विधेयक पारित गरेको छ । यसले बिट्क्वाइनलाई वैधानिक मुद्राको मान्यता दिएको छ । जसकारण येनमा बिट्क्वाइनको कारोबार बढेको छ ।

त्यस्तै, पछिल्लो समय विश्वमा देखा परेका राजनीतिक अनिश्चयले सेफ हेभन मानिने सम्पत्तिको माग बढाएको छ । यस्ता लगानीकर्ताहरूले बिट्क्वाइनलाई पनि सुन जस्तै सुरक्षित लगानीका रूपमा हेर्न थालेका कारण बिट्क्वाइनको माग बढ्न गई मूल्य पनि बढिरहेको छ । 

बिट्क्वाइन प्रयोगकर्ता समुदायमै बिट्क्वाइनको मूल प्रविधि ब्लकचेनको भविष्यका बारेमा मतभेद थियो । यसले दुई छुट्टाछुट्टै क्रिप्टोकरेन्सी सृजना हुने भयसमेत उब्जिएको थियो । तर, पछिल्लो समय यो विवाद साम्य भएपछि बिटक्वाइनको मूल्यवृद्धिका सहयोग पुगेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]