August 21st, 2016

विश्व अर्थतन्त्र खस्किएको संकेत : अमेरिकासँगको ऋण घटाउँदै विश्वका केन्द्रिय बैंकहरु

dollarविश्वका केन्द्रीय बैंकहरूले अमेरिकी ऋण घटाउन थालेका छन् । चालू वर्षको पछिलो ६ महिनाको अवधिमा विदेशी बैंकले अमेरिकी ट्रेजरीमा लिएको स्वामित्वबाट १ सय ९२ अर्ब डलर बिक्री गरेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोब्बर बढी हो । अघिल्लो वर्ष समीक्षा अवधिमा विदेशी बैंकले ट्रेजरीको स्वामित्वबाट ८३ अर्ब डलर बिक्री गरेका थिए । अमेरिकी ट्रेजरीको स्वामित्व बिक्री गर्ने अग्रणी मुलुकमा चीन, जापान, फ्रान्स, ब्राजिल र कोलम्बिया छन् । विदेशी मुलुकले गरेको अमेरिकी ट्रेजरीको यो बिक्री सन् १९७८ यताकै ठूलो भएको ट्रेजरी विभाग जनाएको छ ।

अमेरिकी ट्रेजरीलाई विश्वकै सुरक्षित सम्पत्तिमा लिइँदै आएको छ । धेरै मुलुकले अमेरिका सरकारको ऋणपत्र लिँदै आएका छन् । आफ्नो मुद्राको मूल्य ओरालो लागेको अवस्थामा यसलाई माथि उठाउन धेरैजसो मुलुकले आफूले लिएको अमेरिकी ट्रेजरीको स्वामित्व बिक्री गर्न थालेका हुन् ।

यसलाई विश्व अर्थतन्त्रमा आएको कमजोरीको संकेतका रूपमा लिइएको छ । न्यून तेल मूल्य, ओरालो लागेको चीनको आर्थिक वृद्धि र मुद्रामा अवमूल्यनलगायतका विषयले विश्वव्यापी वृद्धिमा प्रभाव पारेको छ । यसलाई अन्तरराष्ट्रिय मुद्राकोषले वर्षको सुरुमा धरमरको संज्ञा दिएको थियो ।

यी मुलुकको बिक्रीका बाबजुद ऋणपत्रप्रतिको निजी माग भने उकालो लागेको छ । माग धेरै आएकाले अमेरिकाले सस्तो ब्याजदरमा पनि यसलाई बिक्री गर्न सक्ने अवस्था आएको छ । १० वर्षे अमेरिकी ट्रेजरीको ब्याजदर यो वर्षको सुरुमा १.३४ प्रतिशतको कीर्तिमानी न्यून बिन्दुमा झरेको थियो । हाल आएर भने यसमा सुधार आएर १.५८ प्रतिशत पुगेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]