December 17th, 2017

लिखु–४ जलविद्युत् आयोजनामा सात बैंकले लगानी गर्ने

बैंकिङ खबर । ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनामा सात वटा वाणिज्य बैंकले सात अर्ब ६२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । ग्रीन भेञ्चर प्रालिद्धारा प्रवद्र्धित उक्त आयोजनामा नबिल बैंकको नेतृत्वमा लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, एसबीआई बैंक, सनराइज बैंक, प्रभु बैंक र सानिमा बैंकले उक्त अनुपातमा ऋण लगानी गर्ने भएका हुन् ।

लगानी सम्झौतामा कम्पनीका अध्यक्ष सुभाषचन्द्र सङ्घई एवम् अन्य सातओटै बैङ्कका प्रतिनिधिबाट संयुक्त हस्ताक्षर भएको छ । सम्झौताअनुसार, उक्त आयोजनामा नबिल बैंकले एक अर्ब ४२ करोड, लक्ष्मी बैंकले एक अर्ब २५ करोड, ग्लोबल आईएमई बैंकले एक अर्ब २५ करोड, एसबीआई बैंक र सनराइज बैंकले एक/एक अर्ब र प्रभु तथा सानिमा बैंकले ८५/८५ करोड रुपैयाँ लगानी गर्नेछन् ।

नेपालको व्यवसायीक घरना त्रिवेणी ग्रुप र विशाल ग्रुपको संयुक्त लगानी रहेको उक्त आयोजनाको कुल लागत १० अर्ब १६ करोड रहेको छ । यसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजी रहेको छ । सो आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग २०७३ असारमा विद्युत् खरीद सम्झौता (पीपीए) गरिसकेको छ । आयोजनाले २०७७ असोज ३० गतेबाट व्यापारिक उत्पादन (आरसीओडी) शुरू गर्नुपर्नेछ । आयोजनाबाट उत्पादित विद्युत् २२० केभी डबल सर्किट प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको नयाँ खिम्ती सबस्टेशनमा जोडिनेछ । लिखु–४ जलविद्युत् आयोजनाको निर्माणस्थल रामेछाप र ओखलढुङ्गा जिल्लामा पर्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]