January 24th, 2018

राष्ट्रिय वाणिज्य बैंकले ४४ शाखा खोल्ने

अर्थमन्त्री ज्ञानेन्द्रबहादूर कार्कीले नेपाल आद्योगिक विकास निगम (एनआईडीसी)लाई राष्ट्रिय वाणिज्य बैंकमा मर्ज गर्ने कार्य सम्पन्न भए पश्चात राष्ट्रिय वाणिज्य बैंक अझै बलियोे बन्ने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५३ औं वार्षिकोत्सब समारोहमा बोल्दै उनले शहरी, ग्रामीण र दुर्गम स्थानमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै वित्तीय सुधार र वित्तीय समावेशीताका लागि राष्ट्रिय वाणिज्य बैंक पायोनीयर बन्नुपर्ने बताए । बैंकलाई नयाँ पुस्ताको आकर्षणको केन्द्र बनाउन सक्नु प्रमुख चुनौती रहेको उनको भनाई थियो ।

समारोहमा नेपाल राष्ट्र बैंकका कार्यबाहक गभर्नर चिन्तामणी शिवाकोटीले नेपालको आर्थिक विकासमा रावा बैंकले खेलेको भुमिकाको सराहना गर्दै यो बैंक नेपालका अन्य वाणिज्य बैंकहरुको तुलनामा अग्रणि रहेको बताए । उनले नयाँ प्रादेशिक संरचनाअनुसार बैंकहरुले सबै स्थानीय निकायमा शाखा खोल्नुपर्ने र त्यसको नेतृत्व राष्ट्रिय वाणिज्य बैंकले गर्नुपर्ने बताए ।
 
बैंकका संचालक समितिका अध्यक्ष डा.रवीन्द्र प्रसाद पाण्डेले विगत १० वर्ष यता देखि बैंकको सबै वित्तीय सुचकहरु सकारात्मक ढगंले अगाडी बढिरहेको भए तापनि विद्यमान अवस्थामा बैंकका सामु थुप्रै प्रकारका चूनौतीहरु रहेको बताए । यद्यपि, बैंक भित्रको जनशक्तिलाई पूर्ण रुपमा उत्प्रेरित गर्न सकेमा उक्त चुनौतीको सहजै सामना गर्न सकिने उनको भनाई थियो । अध्यक्ष डा. पाण्डेले बैंकमा युवा पुस्तालाई  आकर्षण गर्ने गरी प्रविधिमा आधारित सेवाहरु ल्याइरहेको जानकारी समेत दिए ।
 
पौने दुई अर्ब मुनाफा
बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराए । उनले २०७४ पुस मसान्तसम्म बैंकले एक खर्ब ४९ अर्व रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको जानकारी दिए । सीईओ श्रेष्ठका अनुसार, आठ अर्ब ५८ करोड ८९ लाख रुपैयाँ चुक्तापुँजी पुर्याएको बैैंकले यस अवधिमा खुद मुनाफा करिव एक अर्ब ७५ करोड रुपैयाँ पुर्याएको छ । यो नाफा गत बर्ष पौष मसान्तमा एक अर्ब ३० करोड रुपैयाँ मात्रै रहेको थियो । त्यस्तै, बैंकले खराब कर्जाको अनुपात तीन प्रतिशतभन्दा तल राख्न सफल भएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

६९ जिल्लामा उपस्थिती
आजभन्दा ५४ वर्षअघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको यो बैंक आज देशका ७७ जिल्लामध्ये ६९ जिल्लामा आफ्नो उपस्थिति जनाई देश र नागरिकको सेवामा समर्पित रहँदै आएको छ । हाल मूलूकभर बैंकका १८० वटा शाखा कार्यालय, १३० वटा एटिएम, १७ स्थानमा एक्सटेन्सन काउन्टर, ९४ स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा रहेका छन् भने २०७५ आसार मसान्तसम्म थप ४४ वटा शाखा कार्यालय, ७० वटा ए.टि.एम. र २० स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन हूने क्रममा रहेको बैंकका सीईओ श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत अटिजम बालबालिकाहरुको लागि विशेष स्कुलकी अध्यक्ष सबिता उप्रेतीलाई सहयोग गरिएको थियो । कार्यक्रममा  बैंकको उत्कुष्ट शाखा कार्यालय, उत्कृष्ट कर्मचारी, पूर्व कर्मचारी सम्मान कार्यक्रम, २० वर्ष सेवा अवधि पुगेका कर्मचारीहरु तथा भुपु कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो । 

कार्यक्रममा बैंकमा रावा बैंक कर्मचारी सघंका अध्यक्ष बेदबहादुर लावती, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष गगनसिंह घिमिरे, नेपाल राष्ट्रिय कर्मचारी संघठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्की, रावा बैंक पूर्व कर्मचारी संघका अध्यक्ष पुरुषेत्तम निरौलाले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु नारायण पौडेल, महेश्वरलाल श्रेष्ठ, बैंक संचालक समितिका सदस्यहरु, रावा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, केशब प्रसाद लम्साल, टेकराज जोशी, विभागिय प्रमुखहरु लगायत कर्मचारीहरुको भब्य उपस्थिती रहेको थियो । कार्यक्रम नायब महाप्रवन्धक उद्धब प्रसाद खनालले संचालन गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]