May 21st, 2017

बैंकिङ क्षेत्रमा १३ कम्पनीको हकप्रद खुला

रुपा कोइराला । यति बेला एक दर्जन भन्दा बढी कम्पनीहरुले हकप्रद सेयर निष्काशन गरिरहेका छन् । जसमध्ये, चार वटा वाणिज्य बैंक, छ वटा विकास बैंक, एक फाइनान्स, एक माइक्रोफाइनान्स र एक इन्स्योरेन्स कम्पनी छन् । सिद्धार्थ डेभलपमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, नेपाल बैंक, गरिमा विकास बैंक, सानिमा बैंक, तिनाउ विकास बैंक, सिद्धार्थ इन्स्योरेन्स, ज्योति विकास बैंक, फस्र्ट माइक्रोफाइनान्स, गोर्खाज फाइनान्स, सहयोगी विकास बैंक, नेपाल एसबीआई बैंक र हाम्रो विकास बैंकले हकप्रद सेयर जारी गरिरहेका हुन् । 

कसको कति सेयर खुला ?
हकप्रद सेयर निष्काशन गरिरहेका वाणिज्य बैंकहरुमा नेपाल बंगलादेश बैंकले ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । नेपाल बैंकले १००ः२३.७४ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ भने सानिमा बैंकले ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा र नेपाल एसबिआई बैंकले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद जारी गरेका छन् । त्यस्तै, विकास बैंकहरुमा सिद्धार्थले ६० प्रतिशत अर्थात १० बराबर छ, गरिमाले १० बराबर सात, तिनाउले १० बराबर ३.५, ज्योतिले एक बराबर एक, सहयोगीले १० बराबर ३.५ र हाम्रोले एक बराबर दुईको अनुपातमा हकप्रद सेयर जारी गरिरहेका छन् । यसबाहेक, गोर्खाज फाइनान्स, सिद्धार्थ इन्स्योरेन्स र फस्र्ट माइक्रोफाइनान्सले दुई बराबर एकको अनुपातमा हकप्रद खुला गरेका छन् ।

कसको हकप्रद निष्काशन कहिलेसम्म ?
हाल हकप्रद निष्काशन भइरहेका कम्पनीहरुमध्ये, नेपाल बंगलादेश बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक र नेपाल बैंकको हकप्रद भर्ने म्याद यही जेठ १० गतेसम्म रहेको छ । त्यस्तै, गरिमाको हकप्रद जेठ १७ गतेसम्म, सानिमाको जेठ २१ र तिनाउको जेठ २२ गतेसम्म खुला रहनेछ । जेठ ३१ गते सिद्धार्थ इन्स्योरेन्स, ज्योति विकास बैंक र फस्र्ट माइक्रोफाइनान्सको हकप्रद भर्ने म्याद सकिनेछ भने सहयोगी र गोर्खाजको हकप्रद असार ५ गतेसम्म भर्न पाइनेछ । नेपाल एसबिआई बैंक र हाम्रो विकास बैंकको हकप्रद असार ११ गतेसम्म खुला रहनेछ । 

पुँजीवृद्धिको चटारो
बैंक तथा बीमा कम्पनीहरुले नियामक निकायको निर्देशनबमोजिम चुक्तापुँजी बढाउनका लागि हकप्रद सेयर निष्काशनको बाटो अपनाएका हुन् । राष्ट्र बैंकको निर्देशनबमोजिम आठ अर्ब चुक्तापुँजी पुर्याउन लागेका नेपाल बंगलादेश, नेपाल एसबिआई, सानिमा र नेपाल बैंकको चुक्तापुँजी हकप्रद निष्काशनपछि क्रमशः सात अर्ब २० करोड रुपैयाँ, छ अर्ब ९७ करोड १७ लाख ९८ हजार रुपैयाँ, छ अर्ब ८९ करोड ७६ लाख ३४ हजार रुपैयाँ र आठ अर्ब चार करोड रुपैयाँ पुग्नेछ । 

त्यस्तै, राष्ट्रिय स्तरको विकास बैंक सिद्धार्थको चुक्तापुँजी हकप्रद निष्काशनपछि दुई अर्ब २७ करोड रुपैयाँ नाघ्नेछ भने गरिमाको चुक्तापुँजी दुई अर्ब १९ करोड रुपैयाँ र ज्योतिको दुई अर्ब २० करोड रुपैयाँ पुग्नेछ । यी बैंकले असार मसान्तसम्ममा दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ । यसबाहेक, तिनाउ, सहयोगी र हाम्रो विकास बैंकको चुक्तापुँजी क्रमशः ४६ करोड आठ लाख ५० हजार एक सय रुपैयाँ, ४२ करोड ४७ लाख रुपैयाँ र ४५ करोड ८६ लाख रुपैयाँ पुग्नेछ । यी बैंकहरुले ८० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ । 

हकप्रद जारी गरेपछि सिद्धार्थ इन्स्योरेन्सको चुक्तापुँजी ४३ करोड रुपैयाँ पुग्नेछ । ०७५ असार मसान्तसम्ममा यो कम्पनीले एक अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ । त्यस्तै, ०७५ हजार मसान्तसम्ममा ६० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने फस्र्ट माइक्रोफाइनान्सको चुक्तापुँजी ३९ करोड ६७ लाख ५० हजार रुपैयाँ पुग्नेछ । गोर्खाज फाइनान्सको चुक्तापुँजी हकप्रद निष्काशनपछि ८६ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]