January 28th, 2018

दोस्रो त्रैमासमै अर्बपति क्लबमा एभरेष्ट बैंक

बैंकिङ खबर । एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब १४ करोड ८१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ३४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एभरेष्टले ९७ करोड १५ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब १० करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा पाँच अर्ब १९ करोड चार लाख १० हजार रुपैयाँ राखेको छ । बैंकले एक खर्ब ३ अर्ब २९ करोड ९१ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी ८४ अर्ब ७३ करोड ६४ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ९० अर्ब ४३ करोड ६६ लाख ७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ६१ करोड ८१ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समिक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि बढाएको छ । बैंकले चालू आवको ६ महिनाको अवधिमा १ अर्ब ७७ करोड ५८ लाख ५ हजार रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ । त्यस्तै यो अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९ करोड ८० लाख ४२ हजार रहेको छ । एक करोड १८ लाख ३४ हजार रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा आठ करोड दुई लाख ९४ हजार रुपैयाँ राखेको छ ।

पुस मसान्तसम्मा एभरेष्ट बैंकको खराबकर्जा ०.२५ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १५.६८ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ९३ पैसाबाट झरेर २८ रुपैयाँ ४१ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ३१.९३ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]