October 24th, 2017

जेमी डिमन सबैभन्दा धनी बैंकर, तलब मात्रै वार्षिक २८.२ मिलियन डलर

३१ डिसेम्बर २००५देखि जेपी मोर्गन चेजका सीईओ रहेका जेमी डिमन संसारकै सबैभन्दा धेरै पारिश्रमिक लिने बैंकर हुन् । उनको तलब वार्षिक २८.२ अमेरिकी डलर रहेको छ । ३१ डिसेम्बर २००६देखि जेपी मोर्गन चेजको संचालक समितिका अध्यक्ष समेत रहिआएका डिमन जेपी मोर्गन चेज र बैंक वन कर्पोरेसन एकआपसमा मर्जर हुँदादेखि नै उक्त बैंकमा रहेका छन् । यी दुई संस्थाबीच सन् २००४मा मर्जर भएको थियो । त्यसअघि, सन् २००४ देखि उनी बैंक वनमा अध्यक्ष तथा सीईओ थिए । बैंक वनमा प्रवेश गर्नुपूर्व उनी सिटी ग्रुप, द ट्राभलर्स ग्रुप, कमर्सियल क्रेडिट कम्पनी, अमेरिकन एक्सप्रेस कम्पनी लगायतमा संलग्न थिए ।

दर्जन संस्थामा संलग्नता
टुफ्ट्स गुनिभर्सिटीबाट सन् १९७८मा ग्रयाजुएट गरेका डिमनले सन् १९८२मा हार्भर्ड विजनेस स्कुलबाट एमबीए गरेका थिए । द कलेज फण्ड÷युएनसीएफका निर्देशक समेत रहेका उनी द फेडरल रिजर्भ बैंक अफ न्युयोर्क, द नेशनल सेन्टर अफ एडिक्सन एण्ड सब्स्ट्यान्स अब्युज, हार्भर्ड विजनेस स्कुल र क्याटालिस्टको संचालक समितिमा पनि छन् । न्युयोर्क युनिभर्सिटी स्कुल अफ मेडिसिनको बोर्ड अफ ट्रस्टीजमा समेत रहेका डिमन अन्य कुनै पनि पब्लिक व्यापारिक कम्पनीमा भने आवद्ध छैनन् ।

पारिवारिक जीवन
अमेरिकाको सबैभन्दा ठूलो बैंक जेपी मोर्गन चेजका अध्यक्ष एवम् सीईओ जेमी डिमनको जन्म १३ मार्च १९५६ मा अमेरिकाको न्युयोर्क सहरमा भएको थियो । सन् १९८३मा जुडिथ केन्टसँग वैवाहिक जीवनमा बाँधिएका डिमनका तीन सन्तान छन् ः लओरा डिमन, जुलिया डिमन र कारा लेह् डिमन । फोब्र्सका अनुसार, उनको कुल सम्पत्ती १.१४ विलियन अमेरिकी डलर बराबर रहेको छ । २००६, २००८, २००९ र २०११ मा उनी टाइम म्यागाजिनको सबैभन्दा प्रभावशाली १०० व्यक्तिहरुको सूचिमा परेका थिए ।

झन्डै ६२औँ वसन्त पार गर्न लागेका डिमनले थ्रोट क्यान्सरलाई समेत पार गरेका छन् । सन् २०१४ मा उनलाई घाँटीको क्यान्सर भएको थियो । आठ हप्ताको रेडिएसन र किमोथेरापीपछि २०१४ को सेप्टेम्बरमा उनी निको भएका थिए ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]