June 28th, 2017

चार वित्तीय संस्थालाई गाभेर कुमारी बैंकले शुक्रबारदेखि एकीकृत कारोबार थाल्ने

कुमारी बैंक लिमिटेडले चार वटा वित्तीय संस्थालाई एकैसाथ एक्वायर गरेर असार १६ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । यसअघि असार १२ गतेदेखि एकीकृत कारोबार थाल्ने भनिएको विशेष कारणवश मिति सार्नुपरेको बैंकले जनाकारी दिएको छ । बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैंक र काँक्रेविहार विकास बैंकलाई आफुमा गाभेर ‘कुमारी बैंक लिमिटेड’को नामबाटै एकीकृत कारोबार सुरु गर्न लागेको हो ।

गत जेठ १७ गते नेपाल राष्ट्र बैंकबाट एक्विजिसनका लागि अन्तिम स्वीकृति पाएको बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार १ गते स्वीकृति पाएको थियो । विलय पुरा भए पछि कुमारी बैंकको दरबारमार्गमा रहेको स्थानमा नै मुख्य कार्यालय रहने बताइएको छ ।

बैंकले हालै जारी गरेको ५० प्रतिशत हकप्रद सेयर, गत आर्थिक वर्षको बोनस सेयर र चार वित्तीय संस्थासँगको एक्विजिसनपछि कुमारी बैंकको चुक्ता पूँजी पाँच अर्ब ९७ करोड रुपैंया पुगेको छ । गत चैत नौ गते सम्पन्न साधारण सभाले उल्लेखित चुक्ता पूँजी तयार गरी एक अर्ब १९ करोड रुपैंया बराबरको हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । उक्त हकप्रद निष्काशन पश्श्चात बैंकको चुक्ता पूँजी सात अर्ब १६ करोड रुपैंया नाघ्ने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]