June 26th, 2017

कर्मशील हातहरु : लघुवित्तको सहाराले समृद्ध बन्दैछन्

२०७२ सालको बैशाख महिनाको महाभुकम्पले सिन्धुपाल्चोक जिल्लामा भौतिक क्षति मात्रै गरेन, पिडीतहरुलाई मनैदेखि विचलित बनायो । भुकम्प गएको झन्डै दुई वर्ष वित्दा अब भने यहाँका पिडीतले भूकम्पले दिएको घाउ विर्सेर अगाडि बढ्न थालेका छन् । 

खाडीचौरका महिलाहरु आयमूलक कार्यतर्फ अग्रसर भई आर्थिक रुपमा स्वाबलम्बी बनेका छन् । उनीहरुलाई उद्यमी बन्न एनएमबि माइक्रोफाइनान्सले सहयोग गर्यो । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था शाखा कार्यालय खाडीचौर, सिन्धुपाल्चोकका शाखा प्रमुख राम बहादुर बजगाइँले भन्छन्, ‘महिला दिदीवहिनीहरुको पिडामा मलम लगाउने कार्यमा विनाधितो सहज रुपमा कर्जा प्रदान गरी हामीले सानो सहयोग मात्र गरेका हौँ, अरु सबै काम उहाँहरु आफैँले गर्नुभयो ।’

एनएमबि माइक्रोफाइनान्सबाट लिईएको लघुकर्जाबाट समुहमा आबद्व सदस्यहरु व्यवसायिक बन्दै गएका छन् । मांखा गा।वि।स।को वडा नं। ४ स्थित पुरानो गाउँमा २०७० पौषमा गठन भएको केन्द्र नं। ३० मा १७ जना सदस्यहरु रहेका छन्, जसमा १६ जना सदस्यले ऋण लिई आयमुलक कार्यमा संलग्न भएका छन् । यस संस्थामा बसेपछि गाऊँका महिलाहरुको अवस्था पहिलेभन्दा धेरै परिवर्तन भएको कुरा यसै केन्द्रकी केन्द्र प्रमुख युव कुमारी पराजुली बताउँछिन् । 

केन्द्रकी सदस्य चरिमाया तामाङले सुरुमा ३० हजार रुपैयाँ कर्जा लिएर सुरु गरेको वाख्रापालनले अहिले व्यवसायिक रुप लिइसकेको छ । उनको घरमा हाल २५ वटा बाख्राहरु रहेका छन् । ब्यवसायसँगै उनले कर्जाको आकार पनि वृद्धि गर्दै गएकी छिन् । हाल एनएमबि माइक्रोफाइनान्सबाट उनले ९० हजार रुपैयाँ कर्जा लिएकी छिन् । ‘सुरुसुरुमा किस्ता तिर्न गाह्रो भएको थियो,’ उनी भन्छिन्, ‘अहिले बेलाबेलामा केही बाख्राहरु विक्री गरी किस्ता लगायत घरायसी खर्चहरु टार्ने गरेको छु ।’
सोही केन्द्रकी अर्की सदस्य काली तामाङले ५० हजार रुपैयाँ कर्जा लिएर बाख्रापालन सुरु गरेकी थिइन् । हाल उनीसँग आठ वटा बाख्रा र एउटा गाई छन् । यसै केन्द्रकी सदस्य श्रीमाया तामाङले पनि ५० हजार रुपैयाँ कर्जा लिएर नौ वटा बाख्रा पालेकी छिन् भने सुकुमाया तामाङले गाउँमा नै किराना पसल थापेकी छिन् । साथमा चार वटा बाख्रा र दुई वटा गाईवस्तु समेत पालेकी छिन् । उनी भन्छिन, ‘‘सुरुमा त ऋण लिन नै डर लाग्थ्यो । सरले ऋणको महत्व बुझाइदिनु भयो र काम गर्ने हिम्मत जुटाइदिनुभयो । अहिले पसल सानो छ, अब पसलमा सामानहरु थप गर्छु ।” 

केन्द्रकी प्रमुख पराजुली सबैलाई ऋणको सदुपयोग गर्नुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘ऋण लिएर त्यसको सही सदुपयोग गरे त्यसको फाइदा लिने त हामीहरुले नै हो ।’ उनी घरघरमा ऋणको सदुपयोग भएको देखाउन आफँै अग्रसर हुन्छिन् । ‘महिला दिदीवहिनीहरुसँग भएको सानोतिनो रकम पनि मासिक रुपमा घरदैलोमा आएर बचत गराउनुहुन्छ,’ उनी भन्छिन्, ‘त्यसले महिलाहरुमा बचत गर्ने बानीको विकास भइरहेको छ ।’ उनी आफैँले पनि एनएमबि माइक्राफाइनान्सबाट कर्जा लिई नौ वटा बाख्रा, एक हल गोरु र एउटा गाई पालेकी छिन् । 

यस केन्द्रका प्रायः सदस्यहरु बाख्रापालन व्यवसायमा नै लागेका छन् । शाखा प्रमुख बजगाँई भन्छन्, ‘यो गाउँका सदस्य दिदिबहिनीहरु मेहनती र इमान्दार रहेका छन् । सबैजना समयमा उपस्थित भई नियमित बचत कर्जाको कारोबार गर्दै आएका छन् ।’ केन्द्र प्रमुख पराजुली यस क्षेत्रका धेरैजसो महिला दिदीवहिनीहरुले कर्जा लिई वाख्रापालन गर्दै आएकाले बाख्राको बीमा गर्ने ब्यवस्था संस्थाले गरिदिए धेरै राम्रो हुने धारणा राख्छिन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]