August 28th, 2016

लघुवित्त कार्यक्रमले देखाएका सुनौला किरणहरु

शिव अधिकारी –
shiva-Adhikari-Photoलघुवित्त कार्यक्रमले खास गरी घरबारविहिन, आवाज विहिन, छनौट विहिनजस्ता व्यक्तिहरुलाई विशेष प्राथमिकताका साथ त्यस्ता व्यक्तिहरु माझ सामूहिक भावनाको महशुस गराई आपसमा समूह निर्माण गरी बचत गर्न उत्प्रेरणा जगाउँदै संकलित बचतमा संस्थाको आफ्नो श्रोतबाट वा बाह्य निकायबाट ऋण प्राप्त गरी समूहका सदस्यहरुलाई सहज र सरल तरिकाबाट सुलभ ऋण प्रदान लगायतका वित्तिय सुविधाहरुको पहुँच पुर्याउने कार्यक्रमलाई लघुवित्त भनिन्छ ।

विभिन्न निकायहरुले लघुवित्त कार्यक्रमलाई आआफ्नै ढङ्गबाट परिभाषित गरे तापनि यसको क्षेत्राधिकारले लघु बचत, लघु ऋण, लघु बिमा, मुद्रा विप्रेषण समेतलाई जनाउँदछ । तसर्थ लघुवित्तले आर्थिक पक्षलाई मात्र भन्दा पनि समग्र पक्षलाई समेटेको हुन्छ । नेपालको परिप्रेक्ष्यमा भन्नुपर्दा सरकारी निकायहरु, नेपाल राष्ट्र बैंक, सहकारी संस्थाहरु, वाणिज्य बैंकहरु, विकास बैंकहरु, लघुवीत्तिय बैंकहरु, विभिन्न वित्तिय संघसंस्थाहरु, स्वदेशी एवं विदेशी गैससहरु लगायत धेरै निकायहरुले लघुवित्त कार्यक्रमलाई आफ्नो एक महत्वपूर्ण वस्तु तथा सेवाको रुपमा लिएका छन् ।

यसरी देशका विभिन्न स्थान एवं समदायमा पुग्दा हरेक व्यक्तिहरु प्रायःजसो कुनै न कुनै निकायको लघुवित्त कार्यक्रममा सहभागिता रहेको पाइएको छ । एक तथ्याङ्क अनुसार नेपालमा करिब ५० लाख परिवार संख्या रहेकोमा जसमध्ये १६ लाख परिवारले लघुवित्त सेवा प्राप्त गरेका छन्, लघुवित्तीय सेवा लिने परिवारहरु समुदायका मध्यमस्तर र निम्नस्तर आय भएका भित्र पर्दछन् ।

नेफ्स्कूनले जन्माएको लघुवित्तीय अभ्यास
नेपालको गरिबी घटाउन लघुवित्त कार्यक्रम कोसेढुङ्गा सावित भएकै कारण यसलाई अझ व्यवस्थित रुपबाट प्रत्येक समुदायको गरिब एवं निम्न आयस्तर भएका वस्तीहरुमा विस्तार गर्दै लैजानुपर्ने आजको टड्कारो आवश्यकता छ । नेपालका साकोसहरुमा लघुवित्तको उत्तम अभ्यास नेफ्स्कूनले संस्थागत रुपमा वि.सं. २०५८ सालबाट शुरुवात गरेको पाइन्छ । त्यसभन्दा पहिले केही सहकारी संस्थाहरुले आ–आफ्नै तरिकाबाट लघुवित्त सञ्चालन गरेको जानकारी पनि प्राप्त भएका थिए ।

विश्वको प्रायःजसो मुलुकमा सहकारी स्थापना गर्नका मुख्य कारणको अध्ययन गर्दा खासगरी देशका गरिब, न्यून आय र विपन्न वर्गलाई समेटी उनीहरुको जीवनस्तरमा परिवर्तन गर्नु नै रहेको छ । नेपालको सहकारी ऐन २०४८ को प्रस्तावनामा पनि भनिएको छ कि देशका कृषक, कालिगढ, कम पूँजीवाल र निम्न आयवर्ग, श्रमिक, भूमिहिन तथा बेरोजगार वा सामाजिक कार्यकर्ताले सर्वसाधारण उपभोक्ताको आर्थिक तथा सामाजिक विकासको लागि पारस्परिक सहयोग र सहकारीताको आधारमा विभिन्न किसिमको सहकारी संस्था तथा संघहरुको गठन र संचालनसम्बन्धी वाञ्छनीय भएकाले सांसदले यो ऐन बनाएको छ । यसरी सहकारी ऐन २०४८ को प्रस्तावनालाई शुक्ष्मरुपमा अध्ययन गर्दा पनि गरिबिका विषयमानै सम्बोधन गरेको पाइएको छ ।

नेफ्स्कूनले लघुवित्त कार्यक्रमलाई विशेषरुपमा अगाडी बढाउनको मुख्य कारण वि.सं. २०५८ सालभन्दा अगाडी सहकारीका सदस्यहरुको सर्वेक्षण गर्ने क्रममा अधिकांश सदस्यहरु समुदायका उच्चवर्ग र मध्यमवर्गका रहेको र सहकारीको सेवा एवं सुविधा गरिब एवं न्यूनवर्गमा पुग्न सकेको थिएन । यसतर्फ नेफ्स्कूनको ध्यानाकर्षण भएको र त्यस बखत एशियाली ऋण महासंघ (अक्कू) थाइल्याण्डको प्राविधिक सहयोगमा नेफ्स्कूनले केही आवद्ध साकोसहरुसँग समन्वय गरी लघुवित्त कार्यक्रम सञ्चालन गर्न सुरुवात गरियो ।

साकोसहरुले लघुवित्त कार्यक्रम सञ्चालन गर्न सुरुवात गर्नका मुख्य कारणहरु समुदायका गरिब एवं न्यून आय भएका व्यक्तिहरुलाई वित्तीय पहुँचमा ल्याउन, साकोसको सदस्यता विस्तार गर्न, सदस्यहरुलाई विभिन्न किसिमका सीप विकास र उद्यम विकाससम्बधी र अन्य तालिम प्रदान गरी आय–आर्जनको रोजगारी सृजना गर्न साथै “गरिबले पनि बचत गर्न सक्दछ” भन्ने मूल मान्यता सहित ग्रामिण गरिबी न्यूनिकरणको एक आधारशिलाको रुपमा परिचय गराउन एवं न्यून आय तथा सीमान्तकृतवर्गमा रहेका व्यक्तिहरुको आर्थिक तथा सामाजिकस्तर सुधार गर्नु रहेको छ ।

वित्तीय पहुँच विस्तारका लागि निलो समुद्र रणनीति
सोही मूलधारलाई अगाडी सारिएको यस कार्यक्रमले अत्यन्तै राम्रो फड्को मार्न सफल भएको छ र यस कार्यक्रमलाई साकोसहरुमा अझ प्रभावकारी रुपबाट विस्तार गर्नका लागि ६ वर्ष अगाडी राष्ट्रिय गोष्ठी सञ्चालन गरी साकोस लघुवित्त क्षेत्रमा “निलो समुद्र रणनीति” अवलम्बन गरियो । निलो समुद्र रणनीति मार्फत वित्तीय पहुँच र प्रतिस्पर्धा नभएको क्षेत्रमा सेवा विस्तार कार्य रहेको र यस कार्यलाई सफल बनाउन ९ बुँदे घोषणा पत्र जारी गरी आवद्ध सम्पूर्ण साकोसहरुलाई उपलब्ध गराई सफल पार्न आह्वान गरिएको थियो ।

यसरी अध्ययन गर्दा सहकारी भनेकै समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रको उत्थान गर्न सहयोग गर्ने संस्था भएको हुँदा आफ्नो कार्यक्षेत्रमा कति गरिब छन्, न्यून आय एवं विपन्नवर्गका छन् र ती विपन्नवर्गका व्यक्तिहरुलाई कसरी वित्तीय मूलधारमा ल्याई उनीहरुको सशक्तिकरण गर्न सकिन्छ सोको अध्ययन गर्नु अत्यन्त जरुरी छ । साकोसले कति पुँजी संकलन गर्यो, कति सदस्य बनायो, कति तले घर बनायो, कति कर्मचारी कार्यरत छन् भन्नुभन्दा पहिले समुदायका कति गरिब घर परिवारमा उक्त साकोसको पहुँचबाट आर्थिक, सामाजिक रुपान्तरण भयो भन्ने कुरा महत्वपूर्ण हुन आउँदछ । नेपालमा करिब १६ हजार साकोसहरु रहेको र एउटा साकोसले १०० गरिब घर परिवारलाई समेटेको खण्डमा १६ लाख गरिब घर परिवारले साकोसको सदस्यता प्राप्त गर्ने अवसर मिल्न जाने समेत देखिन्छ ।

पुरस्कार तथा सम्मानले दिएको हौसला
एशियाली मुलुकको बचत तथा ऋण सहकारी संघसंस्थाहरुको छाता संगठन एशियाली ऋण महासंघ (अक्कू) ले पनि लघुवित्त कार्यक्रम सञ्चालन गरेका सहकारीहरुलाई CUMI (Credit Union Micro finance Innovation) Award द्वारा बिगत ५ बर्ष देखि सम्मान गर्न शुरु गरेको छ । जस अन्तर्गत लघुवित्त क्षेत्रमा योगदान गर्ने साकोसहरु काभ्रेको विन्धवासीनी साकोस, झापाको सहारा नेपाल साकोस र नबलपरासीको नव प्रतिभा साकोस यस अघि एशियाली ऋण महासंघको फोरममा पुरस्कृत भइसकेका छन् भने नेफ्स्कूनले पनि लघुवित्त क्षेत्रमा उल्लेखनीय योगदान गर्ने साकोसहरुलाई पुरस्कृत गर्ने कार्यको थालनि बिगत ४ बर्षदेखि शुरुवात गरिसकेको छ । यसरी नेफ्स्कूनसँगको सहकार्यमा वा आफ्नै तरिकाबाट (स्पष्ट नीति नियम बनाएर) देशका धेरै सहकारी संस्थाहरुले लघुवित्त कार्यक्रम सञ्चालन गरी उक्त कार्यक्रमबाट हजारौँको संख्यामा सदस्यहरु विस्तार भएको पाइएको छ ।

साकोसले सञ्चालन गरेका विभिन्न कार्यक्रममध्ये लघुवित्त कार्यक्रम एक नमूना कार्यक्रमको रुपमा समुदायमा परिचित भइसकेको र नेफ्स्कूनमा आवद्ध संस्थाहरुले यसको राम्रो अभ्यास गरि सकेको हुँदा नेफ्स्कूनमा आवद्व नभई सकेका र बित्तिय कारोवार गर्ने अन्य सहकारी संस्थाहरुले पनि लघुवित्त सम्बन्धि स्पष्ट किसिमको नीति निर्माण गरी लघुवित्त कार्यक्रमलाई सञ्चालन एवं विस्तार गराउनुपर्ने आजको टड्कारो आवश्यकता भएको महशुस गरिएको छ । (*बचत तथा ऋण सहकारी संस्थाहरुको छोटकरी रुप साकोस हो ।) (लेखक नेफस्कूनका प्रशासन तथा समन्वय विभागका प्रमुख हुन्)