May 25th, 2021

नागरिक बचतपत्रमा लगानीको अबसर : बचत पत्र के हो ? फाइदा के के छन् ?

 

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ९ प्रतिशत ब्याज दिनेगरी नागरिक बचतपत्र जारी गरेको छ । राष्ट्र बैंकले बैंकले कुल २ अर्ब रुपैयाँको नागरिक बचतपत्र निष्कासन गरेको हो । ५ वर्षे अवधिको यस्तो बचतपत्रमा लगानी गरेपछि ६–६ महिनामा ब्याज पाइनेछ । कम्तीमा १० हजार रुपैयाँ र त्यसपछि १० हजारले भाग जाने अंकमा लगानी गर्न सकिन्छ। यस्तो बचतपत्र बैंक तथा वित्तीय संस्थामा धितो राखेर आवश्यक परेको खण्डमा ऋण पनि लिन पाइन्छ।

हाल कुनै पनि वाणिज्य बैंकहरुले साढे ८ प्रतिशतभन्दा बढी ब्याज नदिएको अवस्थामा यो बचतपत्र बढी प्रतिफलमूलक देखिएको छ।
मंगलबार देखि असार १ गतेसम्म यसमा लगानीका लागि आवेदन दिन सकिन्छ । ५ वर्षपछि अर्थात २०८३ असार ६ गते यसको लगानी अर्थात साँवा रकम फिर्ता हुनेछ।

कसरी दिने आवेदन ?

आवेदन फारम विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुमा पाइन्छ। साथै राष्ट्र बैंकको वेबसाइटमा गई ‘पब्लिक डेप्ट’मा गई डाउनलोड गर्न सकिन्छ। डाउनलोड गरेको सो फारम भरेर बैंक तथा वित्तीय संस्थाका शाखा वा राष्ट्र बैंकका प्रदेश कार्यालयमा पनि बुझाउन सकिन्छ।

बचत पत्र खरिदका लागि रकम बुझाएकै मितिबाट ब्याज रकम गणना हुनेछ। स्टक वा प्रमिसरी नोटको रुपमा बचतपत्र स्वीकार हुने राष्ट्र बैंकले जनाएको छ। स्टक वा प्रमिसरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारम भर्दा खुलाउनुपर्नेछ।

नखुलाएको अवस्थामा प्रमिसरी नोट प्रमाणपत्र उपलव्ध गराइने बैंकले जनाएको छ। लेखपढ गर्न नजान्नेलाई स्टक प्रमाणपत्र उपलव्ध गराइने बैंकले जनाएको छ। आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्र, नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी पेश गर्नुपर्नेछ। लेखपढ गर्न नजान्ने व्यक्तिले आवेदनका साथ २ प्रति पासपोर्ट साइजको फोटो समेत पेश गर्नुपर्नेछ।

‘नागरिक बचतपत्र’ के हो ?

‘नागरिक बचतपत्र’  मध्यम तथा दिर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । नेपाल सरकारले आवश्यकतानुसार यो बचतपत्रको अवधि निर्धारण गर्दछ । अर्थतन्त्रमा छरिएर रहेको स–सानो बचत रकम परिचालन गर्न सर्वसाधारण नेपाली नागरिकहरूलाई उचित प्रतिफल सहितको सुरक्षित लगानी गर्ने अवसर प्रदान गरी देश विकासको निमित्त वित्तीय साधन जुटाउनु रहेको छ । नागरिक बचतपत्र तोकिएको अवधिभित्र ओटीसी प्रक्रियाबाट निष्कासन गरिन्छ । 

नागरिक बचतपत्रको बिक्री खुला, बिक्री बन्द र निष्कासन खुला बजार सञ्चालन समितिले तोकिदिएको मितिमा गर्ने गरिन्छ । सो सम्बन्धी जानकारी पत्रपत्रिका तथा वेबसाइटमा प्रकाशित गरिन्छ । नागरिक बचतपत्रको अवधि र यसमा पाउने निश्चित ब्याज दर नेपाल सरकारले तोकिदिए बमोजिम हुने गर्दछ । 

नागरिक बचतपत्र सर्वसाधारण नेपाली नागरिकले मात्र खरिद गर्न सक्दछन् । घटीमा १० हजार रूपैंया र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई १० हजार रूपैंयाले भाग गर्दा निःशेष भाग जाने अंकमा नागरिक बचतपत्र खरिद गर्नको लागि आवेदन दिन सकिन्छ । प्राथमिक निष्कासनको समयमा उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालय र बजार निर्माता बिक्री प्रवन्धक रहने व्यवस्था छ । प्राथमिक निष्कासनको समयमा आवेदन फारम नेपाल राष्ट्र बैंकको वेबसाईटबाट डाउनलोड गरी वा उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालय वा बजार निर्माता मार्फत उपलब्ध हुन्छ । नागरिक बचतपत्र खरिद आवेदन फारम र खरिद गर्न चाहेको रकम देशभरका बजार निर्माताका साथै नेपाल राष्ट्र बैंकका उपत्यका बाहिरका कार्यालयमा पेश गर्न सकिन्छ । नागरिक बचतपत्र खरिद गर्नको लागि आवेदन साथ नागरिकताको प्रतिलिपि, नाबालकको नाममा खरिद गर्ने भए नाबालकको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि तथा तोकिए बमोजिमका अन्य कागजात पेश गर्नुपर्दछ । 

आह्वान रकम भन्दा कम वा बराबर आवेदन परेमा माग अनुसार र आह्वान रकम भन्दा बढी रकमको लागि आवेदन प्राप्त हुन आएको अवस्थामा खुला बजार सञ्चालन समितिको निर्णयानुसार बाँडफाँट गरिन्छ । खण्डित अवधिको ब्याज आवेदन साथ रकम बुझाएको मिति देखि निष्कासन मिति भन्दा अघिल्लो दिनसम्मको बचतपत्रको लागि तोकिएको ब्याजदरमा खण्डित अवधिको ब्याज प्रदान गरिन्छ । नागरिक बचतपत्रको दोस्रो बजार कारोबार देश भरका बजार निर्माताका साथै नेपाल राष्ट्र बैंकका उपत्यका बाहिरका कार्यालयहरू मार्फत गर्न सकिन्छ । 

सेवा सुविधा : 
नागरिक बचतपत्र निष्कासनको सूचना नेपाल राष्ट्र बैंकको वेवसाइट or राष्ट्रिय स्तरका दैनिक पत्रिका तथा अनलाइन पत्रिकाहरूमा प्रकाशित गरिन्छ । सफल आवेदनकर्तालाई प्रमाण स्वरूप तोकिएको ढाँचामा प्रमाणपत्र उपलब्ध गराइन्छ । यस्तो प्रमाणपत्र प्रमिशरी नोट वा स्टककोरूपमा आवेदन पेश गरेको कार्यालयबाट उपलब्ध गराइन्छ । आवेदन फारममा नै प्रमिशरी नोट लिने कि स्टक लिने हो खुलाउनु पर्दछ । नखुलाइएको अवस्थामा प्रमिशरी नोट नै प्रदान गरिने व्यवस्था छ । 

नागरिक बचतपत्रको ब्याज अर्धवार्षिकरूपमा भुक्तानी गरिन्छ भने तोकिएको मितिमा साँवा भुक्तानी गरिन्छ । ब्याज गणना विधि नागरिक बचतपत्रको लागि निर्धारित ब्याज हिसाब गर्दा ३६० दिन बराबरको एक वर्ष र ३० दिन बराबरको एक महिना मानी गणना गर्नु पर्दछ । नागरिक बचतपत्रमा गरिएको लगानीबाट आर्जित ब्याज आम्दानीमा आयकर लाग्दछ । प्रयोग नागरिक बचतपत्रको प्रमाणपत्र भुक्तानी मिति अगावै यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन दिन पाइने व्यवस्था छ । नागरिक बचतपत्रमा लगानी गर्दा ६/६ महिनामा ब्याज पाइने, चाहेको समयमा बिक्री गर्न वा धितो राखी कर्जा लिन सकिने, लगानी रकमको जोखिम नहुने र अप्रत्यक्ष रूपमा देश विकास कार्यमा संलग्न हुन पाइने हुन्छ ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]