डा. तिलक रावल, पूर्वगभर्नर – पोलिमर नोट छपाई प्रक्ररणबारे विभिन्न टिका टिप्पणीहरु आईरहेका छन् । यही बीचमा यसबारे स्पष्ट पार्नु सान्दर्भिक लागेको छ । म गभर्नर भएका बेला नेपालका लागि अष्ट्रेलियन राजदूत क्रोन ड्रोय थिए । उनले त्यतिबेला विभिन्न नेता, मन्त्रीदेखि राजासम्म पुगेर पोलिमर नोट छाप्न ‘लविङ’ गरे । उनले एउटा प्लाष्टिकको पोलिमर नोट छापिदिनुपर्यो भनेर प्रस्ताव गरेका थिए । पछि त्यहाँ केही कमजोरी देखिएपछि हामीले उनीविरुद्ध एक्सन लियौँ । नोटमा सानो त्रुटि देखिएकाले हामीले उनलाई करिब ८ लाख अष्ट्रेलियन डलर नोक्सान हुने गरी निर्णय गरिदियौँ । हाम्रो निर्णयले पोलिमर नोट कम्पनीवालाले ८ लाख डलरको नोक्सानी खेप्नुपरेको थियो ।
पोलिमर छाप्ने निर्णय मन्त्रिपरिषद्को थियो
नेता, मन्त्रिदेखि राजासम्म पुगेका क्रोनले मसंग पनि यसबारे कुराकानी गरे । हामीले छलफल गरेर ‘एक वा दुईको नोट पोलिमरमा जानुहुँदैन । यसलाई सिक्काले विस्थापित गर्नुपर्छ’ भन्ने सोच बनायौं । साथै केही वर्षमा पाँचको नोटलाई पनि सिक्काले विस्थापित गर्ने हाम्रो योजना थियो । त्यसपछिको सबैभन्दा कम दरको नोट दसको हुने भएकाले त्यसैलाई गर्नुपर्छ भन्ने हाम्रो निर्णय भयो । त्यसैले पोलिमरको नोट छाप्दा सबै प्रक्रिया पुर्याएर मन्त्रिपरिषद्को निर्णय भएर गरियो । यो कुनै एकल निर्णयले हुने कुरा पनि हैन भएको पनि हैन ।
छपाईपछि देखिएको कमजोरी
मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन भएपछि दश रुपैयाँको नोटको डिजाइन स्वीकृत भएर पहिलो लट नेपालमा आइपुग्यो । पहिलो लटको नोट गुणस्तरीय नै थियो । तर, पछि अर्को लटमा नोट आउँदा प्यानल नम्बरमा खराबी देखियो । त्यो नम्बरहरू मिलेन भन्ने थियो । तर, अष्ट्रेलियनहरूले यत्तिको खराबी आउँदा अन्य देशमा स्वीकृत भएको जिकिर गरे । भोलि मिडियामा यस्ता कुरा आउँदा राम्रो हुँदैन भनेर मैले अब त्यस्तो नोट नछाप्ने निर्णय गरेँ । त्यसबाट उनीहरूलाई ठूलो घाटा भयो ।
अष्ट्रेलियनहरुले लविङ जारी राखे
नेपाल राष्ट्र बैंकमा मेरो पदावधि सकियो र मेरो ठाउँमा विजयनाथ भट्टराई आउनुभयो । त्यसपछि अष्ट्रेलियनहरूले पहिले छाप्दा केही बढी छापिएकाले बाँकी नोट किनिदिन आग्रह गरेका थिए । सो कुरालाई विजयनाथ भट्टराईले मान्नुभएन । मेरो र विजयनाथजीको अडान र निर्णयले गर्दा नोट प्रिण्टिङमा अष्ट्रेलियालाई करीब ८ लाख डलर घाटा भएको हो । उनीहरुका लागि हामीले गरको यो अप्रिय निर्णय थियो । यसरी हामीले गुणस्तरीय नोट नभएको भनेर लिन नमान्दा अष्ट्रेलियन कम्पनीलाई ठूलो घाटा भयो । तर, हामी हाम्रो निर्णयमा अडिग रह्यौं । अहिले आएर भारतले पनि पोलिमर नोट छाप्ने कुरा गरिरहेको मिडियाबाट सुनेको छु ।
रहस्य यस्तो हो
पोलिमर नोट प्रकरणमा अष्ट्रेलियनहरूले घाटा खानुपरेकाले उनीहरूको रिस नेपालमा एजेण्ट रहेका व्यक्तिमाथि परेको हो जस्तो मलाई लाग्छ । नोट प्रिण्टिङका एजेण्ट हिमालयबहादुर पाण्डे रहेको मैले सुनेको हुँ । तर, म गभर्नर हुँदा उनीसँग मेरो कहिल्यै पनि यस विषयमा कुरा भएन । यो विषयमा काम गराउने भनेको त्यसबेलाका राजदूत क्रोन ड्रोयनै हुन् । उनीहरूले हाम्रो देशमा पोलिमर नोट छपाउन १८÷२० वर्ष मेहनत गरे । अष्ट्रेलियनहरूले हाम्रो पालामा पोलिमर नोट प्रिण्टिङ गर्न पाए, जुन उनीहरूले वर्षौंदेखि कोशिस गरिरहेका थिए । आज उनीहरूले हामीमाथि नै औंला ठड्याउँदा मलाई दुःख लाग्छ । यस्तो व्यवहारले दुई देशबीचको व्यावसायिक सम्बन्धलाई नराम्रो असर पार्छ ।
मेरो बैङ्क खाता जसले पनि बुझ्न सक्छ
मैले २०३१ सालमा राष्ट्रिय वाणिज्य बैङ्कमा खाता खोलेको हुँ । त्यस्तै १७÷१८ वर्ष अगाडि एसबीआई बैङ्कमा अर्को खाता खोलेको छु । मैले मुख्य रूपमा चलाउने खाता यिनै हुन् । त्यस्तै नेपाल बैङ्क तथा स्ट्याण्डर्ड चार्टर्डमा खाता भए पनि त्यो म चलाउँदिन । म गभर्नर भएका बेला कतिपय बैङ्कको शाखा उद्घाटन गर्दा खाता खोलेर गर्ने पनि गरिएकाले अरू बैङ्कमा पनि खाताहरू होलान् । तर, उल्लेख्य रकम केही पनि छैन । जो अदालतमा गए, उनीहरूले गलत गरे भन्ने मेरो भनाइ होइन । कानूनले दिएको अधिकार हनन भयो भनेर उहाँहरू अदालत जानु सामान्य कुरा हो । म ठूलाठूला पदमा पनि बसेको नाताले धेरै ठाउँमा सम्पत्ति विवरण पेश गरेको छु । यस्तो विवरण सम्पत्ति शुद्धीकरणदेखि लिएर सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको हुन्छ । मेरो बैङ्क खाता जसले पनि बुझ्न सक्छ । यसमा मेरो कुनै आपत्ति छैन ।
‘फाइनान्सियल सेक्टर रिफर्म’को कुरा मेरो पालामा नै शुरू भएको हो । त्यसअन्तर्गत राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल बैङ्कलाई अगाडि बढाउने हामीले निर्णय र्गयौं । त्यसअन्तर्गत विश्व बैङ्क र आईएमएफसँग हामीले कुरा गरिरहेका थियौं । त्यसपछि यी दुवै बैङ्कका लागि भनेर हामीले टीम नै मगायौं । नेपाल बैङ्कमा त टीम आएर काम शुरू गर्यो । तर, राष्ट्रिय वाणिज्य बैङ्कमा भने विश्वप्रख्यात कम्पनी डेलोइट टुच भने आउन मानेन । माओवादी द्वन्द्वको कारण देखाई उसले आउन मानेको थिएन । मैले त्यसबेलाका अमेरिकी राजदूत तथा वर्ल्ड बैङ्कका अध्यक्षको साथ लिएर उसलाई ६ लाख डलर जरीवाना गरें, त्यो बैङ्कको आम्दानीमा गएको छ । त्यस्तै, म राष्ट्रिय वाणिज्य बैङ्कमा हुँदा विदेश जाँदाको हवाई टिकटलगायत अन्य सामग्रीहरू खरीद गर्दा सबैभन्दा धेरै छूट दिनेसँग काम गर्ने भनेर नियम बसालेँ । त्यसरी छूट आएको रकम कर्मचारी कल्याण कोषमा राख्न लगाएँ । यसो गर्दा दुई वर्षमा नै ७÷८ लाख रुपैयाँ जम्मा भएको थियो । त्यसैले हामी काम गर्ने संस्था तथा राष्ट्रका लागि काम गरेर अगाडि बढेका मान्छे हौं ।