November 10th, 2020

सुधारोन्मुख नेपालको मुद्रास्फीति

अपेक्षा ढुंगाना । बैंकिङ खबर ।  सर्वसाधारणले प्रयोग गर्ने समग्र वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा निरन्तर भएको मूल्यवृद्धिको अवस्था मुद्रास्फीति हो । यसको मतलब केही वस्तु वा सेवाको मात्र मूल्यवृद्धि भएमा त्यसलाई मुद्रास्फीति भनिँदैन । यसका लागि समग्र मूल्यस्तरमा वृद्धि भएको हुनुपर्छ । केहीको मूल्य घटे पनि धेरैजसो वस्तु र सेवाको मूल्यवृद्धि भएको छ र त्यस्तो वृद्धि लगातार भएको छ भने त्यस अवस्थालाई मुद्रास्फीति भनिन्छ ।
विगत ५ वर्षमा नेपालको अवस्था हेर्दा  मुद्रास्फीति  २०७३ असार ३१ मा दोहोरो अंकमा अर्थात १०.४० प्रतिशत रहेको मुद्रास्फीति सुधारीदै २०७४ असार ३१ मा २.७० प्रतिशतमा पुगेको छ । यो मुद्रास्फीति २०६१ कार्तिक पछिको न्यूनतम हो । अघिल्लो वर्षको आधार मूल्यको प्रभाव, आपूर्ति व्यवस्थापनमा आएको सुधार एवम् भारत लगायत विश्वयापी रुपमा न्यून मूल्यवृद्धिको प्रभावका कारण उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो । यस्तै, २०७५ असार ३२ मा ४.६० मा पुगेको देखिन्छ भने २०७६ असार ३१ मा पुग्दा ६.०२ मा रहेको छ । यस्तै, २०७७ असार ३१ मा आइपुग्दा घटेर ४.७८ मा पुगेको छ । 

मुद्रास्फीतिका कारणः 

माग प्रेरित मुद्रास्फीति (मौद्रिक आम्दानीमा वृद्धि)
मौद्रिक आम्दानीमा वृद्धि हुँदा वस्तु तथा सेवाको माग बढ्न जान्छ । तर, सो अनुपातमा उत्पादनमा वृद्धि भएन भने मुद्रास्फीति हुन्छ । माग बढेका कारण यस्तो भएकाले त्यसलाई माग प्रेरित मुद्रास्फीति भनिन्छ । सामान्य अवस्थामा निम्न कारणले यो अवस्था सिर्जना हुन्छ ।

क) केन्द्रीय बैंकले जारी गरेको प्रारम्भिक मुद्रा तथा बैंकहरूले सिर्जना गरेको शाख मुद्राको आपूर्तिमा वृद्धि ।
ख) घाटाको सरकारी वित्त व्यवस्था
ग) जनसङ्ख्या वृद्धि
घ) कर कटौती
ङ) वैदेशिक ऋण, लगानी, सहायता र विप्रेषण आयमा उच्च वृद्धि (यसबाट माथि ‘क’मा दिएको अवस्था सिर्जना हुन्छ)

लागत वृद्धि मुद्रास्फीति (उत्पादन लागतमा वृद्धि)  
उत्पादन लागत बढेका कारण वस्तु तथा सेवाको मूल्यवृद्धि हुन्छ । मूल्य बढेका कारण माग केही घटेपछि माग र आपूर्तिबीचमा असन्तुलनका कारण मूल्यवृद्धि सिर्जना भएमा त्यसलाई लागत वृद्धि मुद्रास्फीति भनिन्छ । सामान्यतया निम्न कारणले यो अवस्था सिर्जना हुन्छ ः
क) पुँजी लागतमा वृद्धि
ख) कच्चापदार्थको मूल्यमा वृद्धि
ग) ब्याजदरमा वृद्धि
घ) ज्यालादरमा वृद्धि
ङ) प्राकृतिक प्रकोप आदि ।

लगानीकर्तामा मुद्रास्फीतिको प्रभाव : 
मुद्रास्फीति उच्च भएमा उपभोक्ताको क्रयक्षमतामा कमी आउने भएकाले सीमित आय भएका लगानीकर्ताले ठूलो जोखिम लिन चाहँदैनन् । त्यस्तै धेरै आम्दानी भएका लगानीकर्ताले पनि मुद्रास्फीतिको अवस्थामा लगानी गर्न उत्साहित हुँदैनन् ।

मुद्रास्फीतिको अवस्थामा मुद्राको मूल्य कम हुँदै जाने भएकाले बचत गरेको मुद्राको मूल्यमा ह्रास आउँछ । यसले मानिसहरू बचत गर्न प्रोेत्साहित नहुन सक्छन् ।

सामान्यतया मुद्रास्फीति उच्च हुँदा ब्याजदर पनि उच्च हुन्छ र कम हुँदा ब्याजदर पनि कम हुन्छ । तसर्थ, मुद्रास्फीतिको अवस्थामा लगानीकर्ता अपुग लगानीका स्रोत खोज्न वा नयाँ लगानी गर्न उत्साहित हुँदैनन् ।

 मुद्रास्फीतिको अवस्थामा मुद्राको मूल्यमा ह्रास आउँछ । त्यसैले, लगानीकर्ताले सानो पोर्टफोलियो निर्माणका लागि पनि ठूलो धनराशि खर्च गर्नुपर्छ ।

 
 

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]