February 2nd, 2016

अशोक शेरचनको बैँकिङ विश्लेषण : लगानीको क्षेत्र विस्तार गर्नुपर्छ

नीजि क्षेत्रको वित्तिय संस्थाहरुमा छोटो समयमै आफ्नो स्थान माथि उठाउन सफल रहेको प्रभु बैंक अहिले प्रगतीको बाटोमा अघि बढिरहेको छ । विभिन्न बैंकहरुसंग एक्वीजिसन प्रक्रिया थालेर प्रभु बैंकको नामबाट आफ्नो ब्राण्ड स्थापना गर्नुमा सञ्चालक समितिको निकै महत्वपुर्ण भूमिका रहेको छ । मर्जर प्रक्रियामा आएको केही समयमै बैंकलाई सोचे भन्दा पनि बढी फाईदा दिलाएर बंैकका कार्यकारी अधिकृत अशोक शेरचनले बैंकप्रति आम नागरिकको विश्वास बढाएका छन् । अहिले प्रभु बैंक नीजिक्षेत्रकै नमुना बैंकको रुपमा स्थापना हुन पुगेको छ । बैंकिङ्ग यात्राको थालनीदेखि अहिलेको अवस्थासम्म आईपुग्दाका उतारचढाव तथा भावि दिनमा बैंकिङ क्षेत्रले अर्थतन्त्रमा खेल्नु पर्ने भूमिकाको बारेमा बैंकका सिईओ शेरचनसंग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

बैंकिङ क्षेत्रका नीतिगत समस्याहरु के—के छन् ?
यो कुरा नेपाल सरकार तथा नेपाल राष्ट्रबैंकले जारी गर्नेे नीति तथा कार्यक्रममै भर पर्दछ । त्यसबाहेक बजारको माग र परिवर्तन अुनसार पनि बैंकिङ नीतिले प्रभाव परेको देखिन्छ । साथै केही नीतिगत कुराहरु अन्तर्राष्ट्रिय स्तरको नीतिलाई समेत ध्यान दिएर बनाइने हुँदा प्रभाव त पक्कै हुन्छ । तर अब बैंकिङ क्षेत्रका लागि नीतिनियम बनाउँदा नेपालको अवस्थालाई हेरर नीति निर्माण गर्नु भन्दा पहिले बैंकर्स तथा उद्योग व्यवसायीहरुसँग पनि छलफल तथा परामर्श गरेर ल्याउँदा राम्रो हुन्छ । बैंकिङ भन्ने वित्तिकै मुलुकको अर्थतन्त्रसँग जोडिएका क्षेत्र व्यापार, उद्योगहरुले सरकारी नीति नियमहरुलाई पालना गरेर कारोबार गर्नु पर्ने भएकाले सरकारी र नीजि क्षेत्रबीच तादम्यता मिल्नु पर्ने हुन्छ । पछिल्लो समय कतिपय नीतिहरुमा समस्या देखिएको छ । त्यसकारण नीतिहरु समस्या भन्दा पनि समाधानका रुपमा आउनु पर्छ । त्यो नीति बैंकर्स, व्यापारी तथा उद्योगिहरुलाई सहज हुने किसिमले ल्याइनु  पर्छ ।

राष्ट्र बैंकले बनाउने नीतिहरुलाई कसरी अर्थतन्त्रमा सहयोग पु¥याउने बनाउन सकिन्छ ?
केही क्षेत्रमा कहिलेकाहिं नीतिले प्रभाव पार्छ । त्यो स्वभाविक पनि हो । तर अहिलेसम्म केन्द्रीय बैंकको त्यस्ता नीतिहरुले अर्थतन्त्रमा गलत प्रभाव त पारेका छैनन् । राष्ट्र बैंकले रियल स्टेटमा केही कडा गरेको पाइएको छ । उत्पादनको क्षेत्रमा कुरा गर्दा आज पनि बैंकहरु लगानी गर्नको लागि तयार नै छन् र हिजो पनि थिए । अबको अवस्थामा राष्ट्र बैंकले ल्याउने नीतिहरु पूर्वाधार तथा ठूला आयोजनाहरुमा लगानी गर्न सक्ने हुनुपर्छ । अहिले कृषि, हाइड्रो तथा पर्यटन क्षेत्रमा लागनी गर्ने नीति आउन सकिरहेको छैन । त्यसकारण हरेक राज्यको अर्थतन्त्र बलियो बनाउनका लागि बैंकहरुले यी क्षेत्रहरुमा लगानी गर्न सक्ने वातावरण निर्माण गर्ने काम राज्यको हो । सरकारको ढुकुटीमा पैसा धेरै समयसम्म थन्किएर बसेको अवस्थाका कारण अहिले यो समस्या देखिएको हो । अर्को तर्फ देशमा हरेक समस्याले गांजिरहेको कारणले पनि भने जस्तो काम हुन सकिरहेको छैन । नत्र बैंकहरु त लगानी गर्न सँधै तयार रहेका छन् ।

ashok 2अहिलेको अवस्था हेर्दा घरजग्गा तर्फ नै बढी लगानी भएको पाइन्छ , लगानीको क्षेत्र कमजोर भएर हो कि ?
लगानीको क्षेत्र त पहिले देखि नै कमजोर छ । हामी विश्व बजारमा आफ्नो बलियो उपस्थिति जनाईरहेको देशहरुको बीचमा छौँ । उनीहरुको तुलनामा हामी टिक्न सक्दैनौँ । उनीहरुको जस्तो लगानी गरेर हामी अर्थतन्त्रमा माथि आउन धेरै समय लाग्छ । तर, हामी केही गर्न नसक्ने स्थितिमा भने होइन । मात्र अहिले देशको यो परिस्थितिका कारण हाम्रो लगानी घरजग्गा तथा गाडिहरुमा बढी भईरहेको छ । तर हामीले लगानी गर्ने क्षेत्रहरु विस्तार गर्नु जरुरी छ । जब मान्छे आफू पहिले सक्षम हुन्छ तब मात्र उसले आफ्नो विजनेस अझ सहज बनाउनका लागि घरजग्गा तथा गाडिमा लगानी गर्ने गर्छ । मलाई लाग्छ अबका दिनहरुमा मानिसे यी क्षेत्रहरुमा लगानी कम गर्दै जानेछन् । उनीहरु आफ्नो विजनेश बढाउने क्षेत्रहरुमा लगानी गर्न चाहन्छन् ।

बैंक मर्जरको नीति ले वैकहरुको गुणात्मक विकासका लागि कत्तिको सहयोग पुग्ला ?
बैंक तथा वित्तिय संस्थाहरुमा केही समस्या भएकै हो । तर अब यस्तो समस्या आउँदैन । बैंक तथा वित्तिय संस्थाहरुको ठूलो संख्या भईसकेपछि लगानी पनि त भएन भन्ने कुरा आईरहेको छ । बैंकहरुले कृषि, पर्यटन तथा अन्य क्षेत्रहरुमा लगानी गर्न किन सकिरहेका छैनन् भन्ने कुराका विश्लेषण हुनु जरुरी छ । बाहिरबाट हेर्दा हाम्रो जस्तो देशका लागि बैंक तथा वित्तिय संस्थाहरुको संख्या धेरै भनिन्छ । तर संख्यात्मक रुपमा भन्दा पनि बंैक तथा वित्तिय क्षेत्रहरुले पारेको प्रभावलाई मापन गरिनु पर्छ । थोरै बैंक भएर के थियो र अहिले धेरै बैंकहरु भएर के भयो भन्ने कुराको राम्रो अध्ययन हुनुपर्दछ ।

बैंकमा सबैको पहुँच नहुनुका पछाडिको कारण के हो जस्तो लाग्छ ?
आर्थिक क्षेत्रले विश्वव्यापीरुपमा जुन किसिमको महत्व पाएको छ । त्यो हाम्रो देशमा छैन । अरु देशहरुमा आर्थिक मुद्दा पहिलो प्राथमिकतामा पर्छ । तर हाम्रो सन्दर्भमा आर्थिक एजेण्डा चाहँदा चाहँदै पनि  राजनीतिक मुद्दाको छायांमा परिरहेको छ । यस कारण हाम्रो मुलुकमा धेरै सम्भावना भएर पनि पहिलेको भन्दा पनि निकै पछि परिरहेको छ । हामी हेर्न सक्छौँ हामी भन्दा पनि पछि परेका मुलुकहरु पनि अहिले आएर अर्थतन्त्रमा निकै बलिया भएका छन् यसको एउटै कारण हो राजनीतिक अस्थिरता । राजनेताहरुको आवाज एक नभएकाले नै सबैको पहुँच बैंकसम्म पुग्न सकिरहेको छैन । जबसम्म अर्थतन्त्रमा राजनेताहरुको एउटै आवाज हुँदैन तबसम्म हाम्रो मुलुकको अर्थतन्त्र बलियो बन्न सक्दैन ।

बैंकिङ क्षेत्रमा देखिएका चुनौतिहरु के छन् ?
काम गर्दा निकै नै असहज तथा भार मानेर काम गर्नु भन्दा पनि जुनसुकै कामलाई पनि सहज ढंगबाट लिने हो भने त्यति अप्ठेरो छैन । काम गर्दै जाँदा पक्कै पनि हरेक काममा अप्ठेराहरु हुन्छन् । त्यसलाई हामीले सहज बनाउँदै जाने हो । प्रभु बैंकको कुरा गर्दा अहिले हामी जुन स्थितिमा छौँ, यसलाई कायम राख्नुका साथै भोलीका दिनमा यसलाई अझै माथि उठाउनका लागि हामीसामु निकै चुनौतीहरु छन् । हामी पूर्वाधार, कृषि, पर्यटन, ट्रेडिङ क्षेत्रमा पनि हामी पछाडि छौं । त्यसकारण यी क्षेत्रहरुमा हामीले लगानी गर्न सक्ने हो र नयाँ योजनाका साथ अगाडि बढ्ने हो भने प्रभु बैंकलाई एक नम्बरमा ल्याउन सक्छौं ।

तपाईको नेतृत्वका कारण प्रभु बैंक यो अवस्था आइपुग्यो । सफलता कसरी मिल्दो रहेछ, तपाईको अनुभव के छ ?
सरलता नै सफलताको सुत्र हो जस्तो मलाइ लाग्छ । म पनि आम नगरिक जस्तै हुँ । म कुनै फरक मानिस होइन । प्रभु बैंकमा मैले जिम्मेवारी सम्हालेपछि कुनै पनि कुरालाई असहज रुपमा लिइनँ । सबैको सहयोगले आज हामी यो स्थानमा पुगेका हौँ । हरेक बैंकसँग मर्ज हँुदा देखि अहिलेसम्मको प्रभुको सफलता भनेको नै सहजरुपमा छलफल, सहज पहुँच तथा सहजरुपमा कार्य गर्नु हो । यो कुनै व्यक्तिगत नभएर बैँक सञ्चालक देखि लिएर प्रभु गु्रपसंग आबद्ध सम्पूर्ण ग्राहकहरु सम्मको सफलता हो ।

बैंकका आगामी योजनाहरु के—के छन् । 
अब हामी ग्राण्ड बैंकलाई एक्युजेशन गर्ने प्रक्रियामा अगाडि बढेका छौँ । त्यसैगरी नेपाल विकास बैंकलाई पनि खरिद गरेका छौँ । बैंकले लगानीका क्षेत्रहरु खोज्ने क्रममा हाइड्रो, कृषि तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ । आगामी बर्ष देखि एस एम ई प्रोजेक्टरहरुका लागि विषेश प्रकारको प्याकेज अगाडि ल्याउने योजना छ । अहिलेको ४० अर्बको विजनेशलाई बढाएर ६० अर्बसम्म पु¥याउने सोच बनाएका छौँ । यो भयो भने हामी नीजि क्षेत्रको सबै भन्दा बढी शाखा र जनशक्ति भएको वित्तिय संस्थाको रुपमा रहने छौँ ।

राष्ट्र वैंकको कस्तो नीतिले नीजि क्षेत्रलाई काम गर्न सजिलो हुन्छ ? 
नीतिगत रुपमा हाम्रो देशको सम्भावनालाई हेरेर नेपालकै साधन श्रोतहरुलाई अधिकतम रुपमा प्रयोग गर्नेगरी ठूलो लगानी गर्ने किसिमको व्यवस्था गर्नु पर्छ । जस्तो कृषि क्षेत्रमा लगानी गर्ने नीति ल्यायो । त्यसलाई बैंकहरुले अंगिकार गर्नै पर्ने हुन्छ । नत्र बैंक खोलेर हामीले देशलाई के दिन सक्यौँ भनेर बैंकहरुले सोच्नु पर्छ । हामी धेरै क्षेत्रमा धनी छौं तर, उपयुक्त लगानी, प्रविधि नभएका कारण त्यसलाई हामीले विकास गर्न सकिरहेका छैनाँै । यसका लागि अब बैंकिङ क्षेत्रले लगानी प्रविधि लगेर अघि बढ्नुपर्दछ । अर्थतन्त्रको सम्भावना भएका क्षेत्रहरुमा अब बैंकहरु मार्फत त्यसको विकास गर्न पनि सरकारले नीतिनियमहरु त्यसै अनुसारको बनाउनु पर्छ ।