July 22nd, 2016

लगानीकर्ताको डीपी खाताको सुरक्षामाथि प्रश्नचिह्न : बोर्डले गरायो सचेत

dhitopatraधितोपत्र बोर्डले स्थलगत निरीक्षणका क्रममा केही मर्चेन्ट बैंकर र ब्रोकर कम्पनीले लगानीकर्ताको डिपी खाता गोप्यता कायम नराखेको भेटेपछि त्यस्ता सबै कम्पनीलाई सचेत गराएको छ । सिभिल लगायत तीन वटा मर्चेन्ट बैकर र अग्रवाल सेक्युरिटिज सहित १९ वटा धितोपत्र दलाल व्यवसायीहरुले आफ्नो वेभसाइट मार्फत नभई अन्य वेभसाइट मार्फत हितग्राही खाताको विवरण प्रवाहित गरे/गराएको पाइएकोले त्यस्ता सबै कम्पनीलाई बोर्डले सचेत गराएको हो । 

निक्षेप खाता खोलिएका लगानीकर्ताको धितोपत्र सम्बन्धी विवरण सम्बन्धित निक्षेप सदस्यले सुरक्षित राख्ने व्यवस्था गर्नुपर्ने तथा सम्बन्धित लगानीकर्ताको मात्र पहुँच हुनुपर्ने व्यवस्था रहिआएको छ । तर, केही मर्चेन्ट तथा ब्रोकर कम्पनीले शेयर कारोबार गराएको विबरण लगानीकर्तालाई उपलब्ध गराउँदै आएको पाइएपछि बोर्डले सो व्यवस्था तत्काल बन्द गर्न निर्देशन दिएको छ । साथै, नियमकले निर्धारण गरेको व्यवस्था अनुसार मात्र त्यस्तो सुचना प्रवाह गर्नुपर्ने बताएको छ । 

बोर्डद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय निक्षेप कम्पनीकोे पूर्ब स्वीकृति नभई आफ्नो काम कारवाही अन्य कसैलाई तोक्न वा प्रत्यायोजित गर्न नहुने व्यवस्था रहेको र निक्षेप खाता खोलिएका लगानीकर्ताको धितोपत्र सम्बन्धी विवरण सम्बन्धित निक्षेप सदस्यले सुरक्षित राख्ने व्यवस्था गर्नुपर्ने तथा सम्बन्धित लगानीकर्ताको मात्र पहँुच भई गोप्यता कायम हुनु पर्नेमा निम्नानुसार ३ मर्चेन्ट बैकर र १९ धितोपत्र दलाल व्यवसायीहरुले आफ्नो वेभसाइट मार्फत नभई अन्य वेभसाइट मार्फत हितग्राही खाताको विवरण प्रवाहित गरे÷गराएको पाइएकोले एक पटकका लागि सचेत गराइएको छ ।’
 
लगानीकर्ताको गोप्यताको विषयमा ध्यान दिन बोर्डले सिडिएस एण्ड क्लियरिङलाई पनि बोर्डले निर्देशन दिएको छ । धितोपत्र बोर्डले केही ब्रोकर कम्पनीले अनुमति विनाको सफ्टवेयर प्रयोग गरेको पनि भेटेको छ । बोर्ड, नेप्से र ब्रोकर कम्पनीहरुबीच मण्डला ब्रोकर ब्याक अफिस सिस्टम प्रयोग गर्ने सहमति थियो । मण्डला प्रयोग नगर्ने ब्रोकर कम्पनीलाई पनि बोर्डले सचेत गराएको छ । नेप्सेले भने सबै ब्रोकरले मण्डला नै प्रयोग गरिरहेको जानकारी बोर्डलाई गराएको थियो । झुटो विवरण दिएको भन्दै बोर्डले नेप्सेको पनि ध्यानाकर्षण गराएको छ ।