July 19th, 2016

नेपाली बैंकिङ क्षेत्रमा भित्रिएका प्रविधिहरु (रिपोर्टसहित)

bankingअहिले नेपालको बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्रिने क्रम जारी छ । अहिले मानिसहरुले जतिसक्दो छिटो र कम खर्चिलो सेवा खोजिरहेका हुन्छन् । मानिसहरुको यस्ता चाहाना पूरा गर्नका लागि प्रविधि नै उपयुक्त माध्यम बन्न सक्छन् । त्यसैले त नेपाली बैंकिङ क्षेत्रमा नयाँ प्रविधि र प्रभावकारी सफ्टवेयरहरु भित्रिने क्रम जारी छ । जसका कारण ग्राहकहरुले विगतको तुलनामा निकै राहत महशुस गरेका छन् । 

नेपाली बैंकिङ क्षेत्रमा सूचना प्रविधिको राम्रो पहुँच र प्रयोग भएको पाइन्छ । अधिकांश बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधिको प्रयोगमार्फत ग्राहकलाई सेवा दिइरहेका छन् । पुराना तथा सरकारको स्वामित्वमा रहेका बैंकहरूले पनि आफूलाई यस क्षेत्रमा प्रतिस्पर्धी बनाउँदै लगेका छन् । पुरातन अवस्थामा ढड्डे र तमसुके बैंकको अवस्थाबाट आज बैंकहरू पनि डिजिटलाइज भइसकेका छन् । खाता खोल्नदेखि रकम एक खाताबाट अर्को खातामा पठाउन इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङमार्फत सम्भव भएसँगै र विभिन्न किसिमका किनमेल गर्न तथा बिल भुक्तानी पनि घरबाटै गर्न सम्भव भएपछि समय र खर्चको वचतका साथै नगदमा आधारित कारोबारमा पनि कमी आउँदै गएको बैंकरहरु बताउँछन् ।

पछिल्लो समय बैंकहरुले प्रविधि भित्र्याउने र प्रयोग गर्नतिर आफुलाई प्रतिष्पर्धामा उतारेका छन् । बैंकहरु प्राविधिक प्रतिष्पर्धामा यसरी अघि बढीरहेका छन् कि त्यो देखेर यतिखेर राष्ट्र बैंक पनि मख्ख छ । मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, व्रान्चलेस बैंकिङ तर्फ नेपालका बैंकहरु अगाडि बढिरहेका छन् । पछिल्लो चरणमा बैंक–बैंकबीच प्रतिष्पर्धा प्रविधिमै छ, कुन बैंकले राम्रो सेवा र सुविधा दिने भन्ने विषयमा प्रतिष्पर्धा छ । जुन बैंक प्राविधिक रुपमा सक्षम र सबल छ त्यही बैंक नै अब्बल देखिँदै गएको उदाहरण भेटिएका छन् ।

हाल प्रायःजसो नगदमा आधारित कारोबार हुने गरेकोमा पछिल्लो समय प्रविधिमा आधारित ‘भर्चुअल’ कारोबार बढाउन राष्ट्र बैंक पनि उद्दत देखिन्छ । यसरी कारोबार बढेमा बैंकिङ सेवा छिटो छरितो हुने, हरेक स्थानमा बैंकिङ पहुँच हुने तथा नोट बढी फाहोर भई परिवर्तन गरिरहनुपर्ने समस्याबाट समेत छुटकारा मिल्नेछ । इन्टरनेट बैंकिङलाई पछिल्लो प्रभावकारी प्रविधिको रुपमा लिन सकिन्छ । यो प्रविधिको प्रयोगमार्फत कुनै निश्चित बैंकका जुनसुकै शाखा कार्यालयबाट सजिलै पैसाको कारोबार गर्न सकिन्छ । यस्तो सुविधालाई एबिबिएस सेवा भनिन्छ । यस्तो सुविधा प्रायः सबै वाणिज्य बैंकहरू र केही विकास बैंक तथा फाइनान्स कम्पनीहरूले दिइरहेका छन् ।

एटिएम अर्थात् जुनसुकै समयमा पैसा निकाल्न सकिने मेसिनको सुविधा प्रायः सहरी क्षेत्रमा विस्तार भैसकेको छ । यस्तै भर्खरै सुरु भइरहेको अर्को प्रविधि भनेको पैसा जम्मा गर्ने मेसिनको प्रयोग हो । यसको प्रयोग सामान्य रूपमा गर्न सकिन्छ । प्रविधिको विकासले थोरै जनशक्ति परिचालनबाट छिटो रूपमा धेरै काम गर्न सकिन्छ । जसले गर्दा आन्तरिक खर्चमा कमी आई मुनाफा कमाउने सम्भावना बढी हुने बैंकरहरुले राम्रै सँग बुझेका छन त्यही कारण अधिकांश बैंकहरु प्रविधिप्रति चाख दिएर यसलाई अवलम्बन गर्नतिर अग्रसर देखिन्छन् ।

बुँदागत रुपमा हेरौैँ बैंकिङ क्षेत्रमा भित्रिएका प्रविधि र सफ्टवेयरहरु :  
क्रेडिट कार्ड : तत्कालिन नेपाल अरव बैंक अर्थात हालको नविल बैंकले पहिलो पटक क्रेडिट कार्ड भित्र्याएको हो ।

एटिएम मेसिन : वि सं २०५२ सालमा नै एटिएम मेसिन नेपालमा भित्र्याइएको थियो । उक्त मेसिन प्रथम पटक हिमालयन बैंकले भित्राएको हो ।

टेलि बैंकिङ सेवा : हिमालयन बैंक सुरुवात भएको वर्ष ताकै उस्ले टेलि बैंकिङ सेवाको सुरुवात गरेको थियो ।

इन्टरनेट बैंकिङ : टेलि बैंकिङ सेवाको सुरु भएको सात वर्षपछि इन्टरनेट बैंकिङ सुरु भएको थियो । इन्टरनेट बैंकिङ भित्राउने कुमारी बैंक पहिलो बन्न पुग्यो ।

एसएमएस बैंकिङ : ०६१ सालबाट एसएमएस बैंकिङ सुरुवात भयो । यस्को सुरुवात लक्ष्मी बैंकले गर्यो ।

ब्रान्चलेस बैंकिङ : अहिले नेपालमा शाखारहित बैंकिङ सेवा निकै प्रभावकारी ढंगबाट संचालित छ ।

ट्यावलेट बैंकिङ : प्रविधिको द्रुतत्तर विकास संगै नेपालका बैंकहरुले विकसित अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीमा प्रयोग भएको ट्यावलेट बैंकिङ समेत प्रयोगमा ल्याइसकेका छन् ।

प्रविधिले यति सम्म गरेको छ कि स्वचालित टे«लर मेसिनबाटै विभिन्न बैंकका शाखाहरु एक आपसमा जोडिदै छन ।

महत्वपूर्ण मानिने बैंकिङ सफ्टवेयर
सिविएस : नेपालका अधिकाशं बैंकले प्रयोग गर्ने प्रमुख सफ्टवेयर सिविएस हो । यसले रकम राख्न, झिक्न, ब्याजको गणनालगायतका काम गर्न सघाउँछ ।

एमआइएसः एमआइएसले बैंकका हरेक शाखाको दैनिक नाफा र घाटाको हिसाव निकाल्छ । यसले कुन शाखाका कति निक्षेप जम्मा भयो, कति ऋण गयो, कुन शाखाका रकम फ्रिज भएर बसेको छ, कुनमा नगदको अभाव छ भन्ने जानकारी ब्यवस्थापन तहका व्यक्तिहरूलाई गराउँछ । यसैलाई विश्लेषण गरेर ब्यवस्थापनले नगदको प्रवाह एक शाखाबाट अर्कोमा गराउने, ऋण लगानी गर्ने गर्छन् ।

लोन मेनेजमेन्ट सफ्टवेयरः लोन मेनेजमेन्ट सफ्टवेयरले ऋणका लागि ग्राहकले निवेदन दिएपछि त्यसमा बढेको प्रक्रियाको सम्पूर्ण विवरण देखाउँछ । यसले ऋणको कागजात कुन शाखामा, कुन अधिकारी कहाँ पुगेको छ, स्वीकृत हुने र नहुने अवस्थाबारे जानकारी दिन्छ

एलसी ग्यारेन्टी र बिल्स मेनेजमेन्ट : एलसी ग्यारेन्टी र बिल्स मेनेजमेन्ट सफ्टवेयरले ब्यक्तिले खोलेको एलसी, बैंक ग्यारेन्टी, विल्सको अवस्था, त्यसको अवधि, म्याद सकिएको जानकारी समयमै ब्यक्ति र बैंकका अधिकारीलाई दिन्छ ।

इन्टिग्रेसन सफ्टवेयरः डेबिट र क्रेडिट र पस कार्डलाईं सम्बन्धित बैंकसँग आइएसओ इन्टिग्रेसन सफ्टवेयरले जोड्छ । नेपालमा भिसा, मास्टरकार्ड, स्मार्ट च्वाइस टेक्नोलोजी (एससिटी)लगायतका कार्ड प्रयोगमा छन् । इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङका लागि पनि छुट्टाछुट्टै सफ्टवेयर छन् ।
 
कोर बैकिङ : बैंकिङ सिस्टममा बैंकको मुटु हो कोर बैकिङ । नेपालको बैंकहरुमा मुख्यतया चलेको सफ्टवेयर आइफेलेक्स, ट्युमिनस, फिनिकल हो जो विदेशबाट आयातित सफ्टवेयर हुन भने अधिकांश बैंकहरुले नेपालमै बनेको पुमोरी सफ्टवेयर चलाउँदै आएका रिभोसाइन्सले उल्लेख गरेको छ । जुन सफ्टवेयर नेपाली कम्पनी मर्कनटाइलले बनाएको हो । अहिले बजारमा प्रयोग भएका सफ्टवेयरमध्ये २० प्रतशितले मात्र क्वालिटी एस्सुरेन्समा ध्यान दिएका सफ्टवेयर गुणस्तरसम्बन्धी काम गर्न स्थापना भएको इमिनेन्स वेयजका फाउन्डर तथा सफ्टवेयर इन्जिनियर नारायण कोइरालालाई उदृत गर्दै रिभोसाइन्सले उल्लेख गरेको छ, ८० प्रतिशतका सफ्टवेयरमा क्वालिटी एस्सुरेन्स छैन ।’ यसको प्रमुख कारण सफ्टवेयर प्रयोगकर्ता नै यस विषयमा सचेत नभएको उनको तर्क छ । सामान्यतया सफ्टवेयरहरू ५–७ हजारदेखि करोडौंसम्मका हुन्छन् । सफ्टवेयर कत्तिको सुरक्षित र राम्रो बनाउने भन्ने विषय पैसामा भर पर्छ ।

प्रविधि र सेवा
बैंकहरूले अत्याधुनिक किसिमका प्रविधिबाट आम ग्राहकहरूलाई सेवा दिँदा सानादेखि ठूलासम्मका काम अब प्रविधिकै सहयोगमा सम्भव भइसकेको छ । कुनै कुरा किनमेलका लागि अब गोजीमा पैसा बोकेर हिँड्ने चलन हराउँदै जान थालेको छ, अर्थात् नगदमा आधारित कारोबार घट्दै गइरहेको छ । प्रविधिले घरमै बसेर इन्टरनेट तथा मोवाइलबाट बिल भुक्तानी सेवा तथा खरिद बिक्री गर्न सकिने व्यवस्था सिर्जना गरेको छ । कुनै समय थियो, बैंकमा रकम जम्मा गर्न, निकाल्न वा कतै पठाउन लामो लाइन बस्नु पर्दथ्यो । तर अहिले अवस्था फेरिएको छ । अब घरबाटै इन्टरनेटमार्फत यस किसिमका बिल भुत्तानी गर्न सम्भव भएको हो । बैंकहरूले प्रदान गर्ने इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङ सेवाका प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दो रहेको छ । नेपालमा मोवाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा कतिले लिएका छन् भन्ने यकीन तथ्याङ्क राष्ट्रबैंकसँग छैन । तर नेपालमा मोवाइल बैंकिङ र इन्टरनेट बैंकिङका सफ्टवेयर निर्माण गरेर अधिकांश नेपाली बैंक र विदेशमा समेत सफ्टवेयर निर्यात गर्ने एफवान सफ्ट कम्पनीका अनुसार करिब ३२ लाख प्रयोगकर्ताले मोवाइल बैंकिङ सेवा प्रयोग गरिरहेका छन् ।

राष्ट्र बैंकले मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा शाखारहित बैंकिङ सेवाबाट शहरमा मात्र केन्द्रित भएको बैंकिङ सेवा ग्रामीण भेगमा समेत पुगेको र आगामी केही वर्षमै बैंकिङ सेवा सबै कुनाकाप्चामा पुग्ने भन्दै यस किसिमको भर्चुअल कारोबारलाई प्रोत्साहन गरिरहेको छ । नेपालमा हाल अधिकांश वाणिज्य बैंकले इन्टरनेट बैंकिङको सुविधा दिएका छन् भने अधिकांश वाणिज्य बैंकले मोवाइल बैंकिङको सुविधा दिएका छन् । पछिल्लो समय वाणिज्य बैंक मात्र होइन अन्य विकास बैंक र वित्तीय संस्था पनि यस किसिमको सेवा दिनका लागि आकर्षित भइरहेका छन् । इन्टरनेट बैंकिङ कारोबार गर्दा वान वे फ्याक्टर र टु वे फ्याक्टर गरेर दुई किसिमको प्रणालीबाट कारोबार हुन्छ । वान वे फ्याक्टरमा कारोबार गर्दा कसैले युजरनेम र पासवर्ड पत्ता लगाएर रकम चोरी हुन सक्छ तसर्थ भरपर्दो र सुरक्षित कारोबारका लागि टु वे फ्याक्टर प्रयोग गर्नु आवश्यक छ ।