बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने तयारी गरेको छ । समितिले बीमा ऐनमा संशोधन गरी आल कायम रहेको चुक्ता पुँजी ८ देखि १६ गुणासम्म बढाउने मस्यौदा तयार गरेको हो । अहिलेको तुलनामा जीवन बीमाको हकमा ८ गुणा र निर्जिवन बीमा कम्पनीको हकमा १६ गुणासम्म बढाउने योजना बनाएको बताइएको छ ।
हाल जीवन बीमा कम्पनीको ५० करोड र निर्जीवन बीमा कम्पनीको २५ करोड रुपैयाँ चुक्ता पूँजी हुनुपर्ने व्यवस्था रहेको छ । तर, कतिपय बीमा कम्पनीहरुले समितिले तोकेबमोजिम पूँजी पुर्याउन सकेका छैनन् । अहिले पनि केही बीमा कम्पनीको चुक्ता पूँजी १२/१३ करोड रुपैयाँ रहेको छ । हाल मुलुकमा ९ जीवन बीमा र १७ निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । बीमा समितिले यसअघि नै नयाँ कम्पनी खोल्न बन्देज लगाइसकेको छ । भएका बीमा कम्पनीहरुमध्ये अधिकांशले स्तरिय सेवा दिन नसकेको र त्यसको एक प्रमुख बाधक अधिक संख्या तथा थोरै चुक्ता पूँजी भएको ठहर गर्दै यस्ता संस्थाहरुलाई दरिलो र भरपर्दो बनाउन पुँजी वृद्धिको योजना अघि सारिएको समितिको दाबी छ ।
बिमितहरुको हक हितको सुरक्षा गर्न, बीमा क्षेत्रलाई फराकिलो बनाउन र जतिसक्दो धेरै जोखिम बहन गराउने क्षमता वृद्धिका लागि बीमा क्षेत्रको आर्थिक, प्राविधिक र जनशक्तिको पाटो मजबुत हुनु आवश्यक हुन्छ । त्यसमाथि पनि पुँजी सबैभन्दा बलियो पक्ष हो । यसकारण पनि बीमा क्षेत्रमा पुँजी वृद्धि हुनैपर्ने धारण राख्छन्, बीमा समितिका अध्यक्ष डा. फत्त बहादुर केसी । उनी भन्छन्, “अझ गत साल बैशाखदेखि निरन्तर रुपमा जाँदै गरेको भुइँचालोले त सबैलाई बीमा गर्नैपर्ने रहेछ भन्ने मानसिकता बनाएको छ । बिमितहरुलाई यस्ता दैविक प्रकोपहरुबाट तुरुन्त उद्धार गराउनका लागि इन्स्योरेन्स कम्पनीहरुमा पर्याप्त मात्रामा पुँजी हुनु आवश्यक छ ।”