बीमा कम्पनीहरूलाई जतिसक्दो ग्रामीण क्षेत्रमा पठाउन बीमा समितिले नयाँ रणनीति तयारी पारेको छ । समितिले शाखा विस्तारका सम्बन्धमा नयाँ व्यवस्था गरी बीमा कम्पनीहरूलाई गाउँ–गाउँमा शाखा विस्तार गर्न प्रेरित गरेको हो । बीमा भनेको जोखिम बहन गर्नु हो । सहरी क्षेत्रमा बढी कारोबार हुनुका साथै जोखिम बढी हुने भएकाले बीमा व्यवसाय सहरमा नै केन्द्रित भएका छन् । यसले गर्दा ग्रामीण तथा दुर्गम भेगका मानिसहरु बीमाको पहुँचबाट टाढा भइरहेका छन् । यसै अवस्थालाई मध्यनजर गर्दै समितिले बीमा कम्पनीहरुलाई ग्रामीण तथा दुर्गम भेगसम्म उपस्थित गराउनेगरी यस्ता रणनीतिहरु अपनाएको छ :
प्राथमिकतामा बीमा सेवा नपुगेका स्थान
बीमा समितिले नयाँ निर्देशन जारी गर्दै विमकहरूले प्रदेश कार्यालय, शाखा तथा उपशाखा कार्यालय खोल्दा बीमाको सेवा नपुगेको स्थानलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, काठमाडौं उपत्यकामा पाँच वा सोभन्दा बढी शाखा कार्यालय सञ्चालनमा रहेका बिमकहरूले काठमाडौंमा थप शाखा विस्तार गर्न चाहेमा उपत्यका बाहिर दुई शाखा कार्यालय खोल्नु पर्ने छ । यस निर्देशनको प्रायोजनका लागि बिमकहरूको उपस्थिति वा कार्यक्षेत्र न्यून रहेका जिल्लाहरू समितिले समय–समयमा तोकिदिन सक्ने व्यवस्था छ ।
पूर्वस्विृकृतिसम्बन्धि व्यवस्था
बीमा कम्पनीले केन्द्रीय कार्यालय, शाखा वा कुनै किसिमको कार्यालय बन्द गर्ने, स्थानान्तरण गर्ने, गाभ्ने तथा ठेगाना परिवर्तन गर्न समितिको पूर्वस्वीकृति लिनुपर्नेछ । शाखा कार्यालय स्थानान्तरण गर्नु परेमा बिमकको सञ्चालक समितिको निर्णयानुसार स्थानान्तरण गरी ७ दिनभित्र सोको जानकारी यस समितिलाई दिनुपर्ने छ । हालसम्म बिमकहरूले बीमा विनियमावली २०४९ को नियम १७ को उपदफा २ बमोजिम शाखा स्थापना र विस्तार गर्दै आएका छन् । उक्त विनियमावलीअनुसार शाखा खोल्ने ठाउँको सम्भाव्यताको अध्ययन गरी समितिबाट स्वीकृति लिएर शाखा विस्तार गर्दै आएका थिए ।
एक्सटेन्सन काउन्टरका लागि सर्तहरु
एक्सटेन्सन काउन्टरसम्बन्धी गरिएको व्यवस्थाअनुसार एक्सटेन्सन काउन्टर खोल्न चाहने बिमकले समितिले तोकेका शाखा कार्यालय स्थापनाका लागि आवश्यक पर्ने न्यूनतम सर्तहरू पूरा गर्नुपर्ने छ । काठमाडौं उपत्यका, महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा मात्र एक्सटेन्सन काउन्टर खोल्न सकिनेछ । तर, व्यापारिक उत्सव, मेला, सम्मेलन, प्रदर्शनी तथा आवधिकरघुम्ती बजार सञ्चालन हुने स्थलमा त्यस्तो मेला अवधिभरका लागि बिमा प्रचार–प्रसार कार्य मात्र गर्ने गरी यस समितिलाई पूर्वजानकारी दिई कुनै पनि स्थानमा त्यस्तो एक्सटेन्सन काउन्टर खोल्न सकिने जनाइएको छ ।
विदेशमा सम्पर्क कार्यालय खोल्न थप सर्तहरु
विदेशमा सम्पर्क कार्यालय, प्रतिनिधि कार्यालय खोल्न समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पूरा गरेको, संस्था र संस्थाका सञ्चालकलाई समितिबाट कुनै कारबाही गरिएको भए त्यस्तो कारबाही भएको छ महिना पूरा भइसकेपछि मात्रै बिमकले आवेदन दिन सक्नेछन् ।
कार्यालय सञ्चालनमा अनिवार्यता
कार्यालय समयसम्बन्धी व्यवस्थाअनुसार नेपाल सरकारले सार्वजनिक बिदा भनी तोकेका दिन बाहेकका दिन र कार्यालय समय भनी तोकेका समयमा बिमकले अनिवार्य रूपमा आफ्नो कार्यालय सञ्चालन गर्नुपर्ने छ, साथै सोका अतिरिक्त समय तथा अन्य बिदाका दिन र समयमा आफ्नो कारोबार सञ्चालन गर्नु परेमा यस समितिमा सोको पूर्वजानकारी लिखित रूपमा दिई कारोबार सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ ।




