July 6th, 2016

वाणिज्य बैंकहरुमा गाभिँदै ६ विकास बैंकहरु

mergerनेपाल राष्ट्र बैैंकले तोकेअनुरुप चुक्ता पुँजी पुर्याउनका लागि बैंक तथा वित्तीय संस्थाहरुले मर्जर र एक्विजिसनलाई प्रमुख आधार बनाएका छन् । यसमध्ये पनि गाभ्ने गाभिने (मर्जर) प्रक्रिया झन्झटिलो लामोसमेत हुने भएकाले बैंकहरू पछिल्लो समय खरिद बिक्री (एक्विजिसन)लाई प्राथमिकता दिन थालेका छन् । जसअन्तर्गत वाणिज्य बैंकहरूले साना र क्षेत्रीयस्तरका विकास बैंकलाई किन्ने क्रम बढेको छ ।  

कुन विकास बैंक कुन बैंकमा गाभिँदै
पछिल्लो एक महिनायता मात्रै पाँचवटा वाणिज्य बैंकहरूले एक्विजिसनका लागि सम्झौता गरी प्रक्रिया अघि बढाइसकेका छन् । सानिमा बैंकले सर्लाहीको बागमती डेभलपमेन्ट बैंक किन्ने सहमति गरी प्रक्रिया अघि बढाएको छ भने ग्लोबल आईएमई बैंक लिमिटेडले लमजुङमा रहेको प्यासिफिक डेभलपमेन्ट बैंक किन्ने सम्झौता गरेको छ । यस्तै प्राइम कमर्सियल बैंकले विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकसँग खरिद बिक्री सम्झौता गरेको छ भने लक्ष्मी बैंकले बनेपाको प्रोफेसनल दियालो विकास बैंंकलाई खरिद गर्ने सम्झौता गरेको छ । सेञ्चुरी बैंकले पनि भैरहवाको इनोभेटिभ डेभलपमेन्ट बैंकलाई किन्ने प्रक्रिया अघि बढाएको छ । यसबाहेक २ दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू मर्जरको प्रक्रियामा छन् भने मर्जर र एक्विजिसनबाट नपुगेको पुँजी हकप्रद र बोनस शेयरबाट पुर्याउन लागिपरेका छन् । 

बैंक तथा वित्तीय संस्थाको खरिद बिक्रीका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७० कार्यान्वयनमा ल्याएको थियो । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पुँजी ४ देखि २५ गुणासम्म बढाउने घोषणा गरेको थियो । मौद्रिक नीतिको व्यवस्थाअनुसार ०७४ असारसम्ममा वाणिज्य बैंकले ८ अर्ब, राष्ट्रियस्तरका विकास बैंकले २ अर्ब ५० करोड, ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकले १ अर्ब २० करोड र १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका विकास बैंकले ५० करोड चुक्ता पुँजी पुर्याउनुपर्ने छ । त्यस्तै, राष्ट्रियस्तर र १० जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीले ८० करोड र १ देखि ३ जिल्ला कार्यक्षेत्र भएकाले ४० करोड पुर्याउनुपर्ने व्यवस्था छ ।