डिम्याट खाता नभएकाले आगामी साउन १ गतेदेखि सेयर भर्न नपाउने भएका छन् । धितोपत्र बोर्डले साउन १ देखि सेयर भर्न डिम्याट खाता अनिवार्य गरेको हो । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले सेयर कारोबार पूर्णरूपमा डिजिटल प्रणालीमा लैजान डिम्याट अनिवार्य गर्न लागेको जनाएको छ । धितोपत्र बोर्डले साउनदेखि डिम्याट खाता नभएकालाई सेयर भर्न नदिन मर्चेन्ट बैंकरहरूलाई निर्देशन दिइसकेको छ । खाता भएनभएको परीक्षण गरेरमात्र सेयर आवेदन बुझ्नसमेत बोर्डले निर्देशन जारी गरिसकेको छ । दोस्रो बजारमा गत माघदेखि नै डिम्याट कारोबार अनिवार्य भइसकेको छ । यद्यपि, आइपीओमा भने अहिलेसम्म डिम्याट खाता ऐच्छिक मात्र थियो । अबदेखि भने आइपीओ मात्र भर्ने लगानीकर्ताले पनि डिम्याट खाता खोलेकै हुनुपर्ने व्यवस्था गरिएको हो ।
कसरी खोल्ने डिम्याट खाता ?
अहिले अधिकांश वाणिज्य बैंक, मर्चेन्ट बैंकरले डिम्याट खाता खोल्ने गरेका छन् । यसबाहेक धेरै ब्रोकर कम्पनीले पनि डिम्याट खाता खोल्ने तथा सेयर अभौतिकीकरणका लागि डिपीको सदस्यता लिइसकेका छन् । फोटो, नागरिकता अनि निश्चित रकम बुझाएपछि यस्ता संस्थाले सजिलै खाता खोलिदिन्छन् । अधिकांश कम्पनीले एक सय रूपैयाँमै डिम्याट खाता खोलिदिने गरेका छन् । डिम्याट खाता खोल्ने जानकारी नभएकाले वाणिज्य बैंक तथा ब्रोकर कम्पनीमा सम्पर्क राख्न सक्छन् ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार सेयर कारोबारीको संख्या १५ लाखको हाराहारीमा पुगिसकेका छन् । तर, अहिलेसम्म जम्मा ३ लाख ६९ हजार ६ सय ३४ जनाले मात्र डिम्याट खाता खोलेका छन् ।