गत वर्षको बैशाख १२ गतेको विनाशकारी भुकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाकमा त्यसबेला ज्यान गुमाएकामध्ये ५ जनाको मात्रै बीमा गरिएको पाइएको छ । बीमा गरेका मृतकका परिवारलाई बीमा रकम हस्तारण गर्न बीमा समितिका अध्यक्ष प्रा. डा. फत्तबहादुर केसी आफैँ बारपार्क पुगेका थिए । उनले बीमा रकमवापत ९ लाख ६३ हजार रुपैयाँ दिएका थिए । सो भुकम्पमा परी बारपाकका ७१ जनाले ज्यान गुमाएका थिए । बारपाकको कुल जनसंख्या ८ सय ५० रहेको छ ।
गृह मन्त्रालयको तथ्यांक अनुसार वैशाख १२ र २९ गतेको भूकम्पका कारण ८ हजार ८ सय ९० जनाले ज्यान गुमाएका थिए । भुकम्पपछि बीमा रकमको दाबी भुक्तानीका लागि भने ३ सय ६७ निवेदन मात्रै परेका थिए । जसमध्ये ९५ प्रतिशत अर्थात् ३ सय ४९ मृतकका परिवारले रकम बुझिसकेको बिमा समितिको पछिल्लो तथ्यांकले देखाएको छ । बाँकी भने सम्पर्कमा नै नआएको समितिको दाबी छ ।
अहिलेसम्म करिब १२ प्रतिशत जनताले मात्रै जीवन बीमा गरेको तथ्यांक बीमा समितिको छ । विकसित मुलुकमा ९८ प्रतिशतसम्म मानिसको बीमा गरिएको हुन्छ । ती देशको बिमाको इतिहास डेढ सय वर्ष पुगिसकेको छ । नेपालमा पनि बीमाले आधा शताब्दीको इतिहास बनाइसकेको छ । सबैभन्दा पहिले सरकारी स्तरबाट स्थापना भएको जीवन बिमा कम्पनीले बीमाको सुरुवात गरेको थियो । निजीस्तरका बीमा कम्पनिहरुको इतिहास पनि डेढ दशक पुरानो भइसकोको छ । यद्यपि, अधिकांश क्षेत्रमा यस्ता कम्पनिहरुको पअुँच पुग्न सकेको छैन । एकातर्फ सर्वसाधारणहरुमा बीमा गराउनुपर्छ भन्ने कुराको जानकारी नै छैन भने
अर्कोतर्फ बीमा कम्पनिहरु सहरमुखी भइरहँदा ग्रामीण भेगसम्म बीमाको पहुँच नै पुग्न नसकेको अवस्था छ ।
हाल मुलुकभर नौवटा जीवन बिमा कम्पनीहरु सञ्चालनमा छन् । सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई अनिवार्य रुपमा बीगर्नुपर्ने प्रावधान ल्याएपछि बिमा गर्नेको संख्या बढेको भएतापनि पर्याप्त नभएको विज्ञहरु बताउँछन् । कुल जनसंख्याको आधाभन्दा बढीले नियमित आम्दानी गर्ने अवसर प्राप्त नगरेका कारण मुलुकको ग्रामीण क्षेत्रमा बिमाको पहुँच विस्तार हुन नसकेको उनीहरुको तर्क छ । बीमा क्षेत्रको विस्तारका लागि सुरुमा बीमाका सम्बन्धमा आवश्यक प्रचारप्रसार र जनचेतना फैलाउनुपर्छ । साथै जनताको आयस्तर पनि बढाउन सक्नुपर्ने विज्ञहरु सुझाउँछन् ।