January 20th, 2020

बीमा कम्पनीहरुलाई बीमा चेतना अभिबृद्धिमा सक्रिय हुन समितिका अध्यक्ष चापागाईँको निर्देशन

बैंकिङ खबर । बीमा समितिमा अध्यक्ष चिरञ्जिवी चापागाईँले बीमा चेतना अभिवृद्धिमा सकृय हुन बीमा कम्पनीहरुलाइ निर्देशन दिएका छन् । बीमा जागरण गीतको विमोचन गर्न समितिमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बीमा बारे गाउँगाउँमा पुगेर जागरण फैलाउन निर्देशन दिएका हुन् ।

सबै स्थानीय तहमा बीमाको पहुँच पुर्याउन एवम् बीमाबारे सबैलाई जानकारी गराउनका लागि विभिन्न पहलहरु गर्दै आएको छ । कम्पनी नै खोल्नलाई लागतले नभ्याए तापनि घुम्ती सेवा मार्फत सबै स्थानीय तहमा पुग्ने कोशिस भइरहेको समितिका अध्यक्ष चापागाईँले बताए । कम्तीमा एक महिनामा एकपटक घुम्ती बीमा सेवा हरेक स्थानीय तहमा पुर्याउने योजना रहेको बताए । घुम्ती बीमा सेवा कत्तिको प्रभावकारी भयो भन्ने विषयमा रिपोटिङ गर्ने व्यवस्था समेत मिलाइएको उनले जानकारी दिए ।

त्यस्तै, सबै वर्गका जनतालाई बीमा पहुँचमा ल्याउन समितिले लघुबीमामा जोड दिएको छ । बीमा कम्पनीहरुलाई ०७७ असार मसान्तभित्रमा लघुबीमा १० प्रतिशत पुर्याउन निर्देशन दिइएको अध्यक्ष चापागाईँले जानकारी दिए । उनले बीमा पहुँच विस्तार र चेतना अभिवृद्धिका लागि बीमा कम्पनीहरुले गरेको पहलको सराहना गर्दै गाउँगाउँमा कार्यक्रमहरु लैजाँदा एउटा जीवन र एउटा निर्जिवन गरी जाँदा बढी प्रभावकारी हुने सुझाव समेत दिए ।

अध्यक्ष चापागाईँले गत माघ १ गतेदेखि तेस्रो पक्ष बीमा पुल सुरु गरेमा बिमक संघप्रति आभार प्रकट गरे । बीमा क्षेत्रको अस्वस्थ प्रतिष्पर्धा कम गर्न पुलले काम गर्नेमा उनले विश्वास व्यक्त गरे ।

बीमा क्षेत्रका कर्मचारीहरुलाई दक्ष बनाउनेतर्फ पनि ध्यान दिन अध्यक्ष चापागाईँले बीमा कम्पनीहरुलाई निर्देशन दिए । “मानव संशाधनमा अलि बढी खर्च गर्नुहोस्,” उनले भने । आवश्यक तालिम प्रदान गरेर बीमा क्षेत्रमा दक्ष जनशक्ति तयार गर्नुपर्नेमा उनले जाृड दिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]