November 10th, 2019

बैंकिङ एक्स्पोमा सक्रिय सहभागिता जनाउन वित्तीय क्षेत्रलाई आग्रह

बैंकिङ खबर । आगामी मंसिर १ र २ गते काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको बैंकिङ एक्स्पोमा सक्रिय सहभागीता जनाउन सरोकारवालाहरुले आग्रह गरेका छन् । एक्स्पोका साझेदार संस्थाहरु नेपाल बैंकर्स संघ, बीमा समिति, माइक्रोफाइनान्स बैंकर्स संघ, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल लगायतले एक्स्पोमा सहभागी हुन वित्तीय क्षेत्रलाई आग्रह गरेका हुन् ।

बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले वित्तीय पहुँच पुगेर पनि बैंकमार्फत कारोबार गर्नेहरुको संख्या उल्लेख्य रुपमा बढ्न नसकेको बताए । वाणिज्य बैंकहरुले राष्ट्र बैंकको निर्देशनअनुसार लगभग सबै स्थानीय तहमा शाखा खोलिसकेका छन्, उनले भने, तर पनि बैंकका ग्राहक बढ्न सकेका छैनन् । ६०.९ प्रतिशत जनतामा वित्तीय पहुँच पुग्नु सुखद भएतापनि अझै ३९ प्रतिशत जनता वित्तीय पहुँच बाहिरै रहेकाले अझै वित्तीय पहुँच विस्तार गर्न बाँकी रहेको उनको भनाई छ । सर्वसाधारणलाई बैंक, बैंकिङ प्रणाली, कर्जा प्रक्रिया, रेमिट्यान्स, प्रविधि लगायतका विषयमा एकै ठाउँबाट जानकारी दिएर बैंकिङ एक्स्पोले वास्तविक रुपमा वित्तीय पहुँच विस्तारमा सहयोग गर्ने भन्दै उनले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई एक्स्पोमा सहभागी भई सहभागी हुन आउने सर्वसाधारणहरुलाई जानकारी गराउन आग्रह समेत गरे ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेलले बैंक र बीमा एकअर्कासँग सम्बन्धित भएको उल्लेख गर्दै बैंकिङ एक्स्पोले बैंक र बीमालाई एकसाथ ल्याउनु सराहनीय रहेको बताए । बैंकिङ पहुँचका साथसाथै बीमापहुँच पनि विस्तार गर्नुपर्ने र यसका लागि बैंकिङ एक्स्पो सहयोगी सावित हुनेमा उनले विश्वास व्यक्त गरे । उनले ग्रामीण भेगामा लघुबीमा र कृषि बीमाको आवश्यकता महशूस गर्दै यसको प्रवद्र्धनका लागि गाउँगाउँमा घुम्ती सेवा संचालन गर्दै आइएको जानकारी दिए । बीमा सेवा लिएर गाउँगाउँ पुगेपनि बीमाको महत्व र आवश्यकताका बारेमा चेतना नहुँदा आफ्नै इच्छाले बीमा गरौँ भनेर लागीपर्नेको संख्या न्युन रहेको भन्दै उनले बैंकिङ एक्स्पोमार्फत बीमा चेतना फैलाउन सहयोग पुग्ने र बीमा गर्नेको संख्यामा वृद्धि हुनेमा आफू विश्वस्त रहेको बताए । आर्थिक वृद्धिसँगै जोखिम र जोखिम सँगै बीमा अनिवार्य हुने भएकाले यसबारे सचेत रहनुपर्ने उनले बताए ।

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुम बहादुर सुवेदीले थोरै लगानीमा धेरै उत्पादन हुने एक मात्र व्यवसाय पर्यटन भएको भन्दै यसमा लगानी बढाउनेतर्फ बैंक तथा वित्तीय संस्थाको ध्यानाकर्षण गरे । पर्याप्त लगानी गर्ने हो भने पर्यटन व्यवसायबाटै देशको समृद्धि सम्भव भएकाले यस क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने र यस कार्यमा बैंक तथा वित्तीय संस्थाको विशेष भूमिका हुनुपर्ने बताए । भिजिट नेपाल २०२० लाई मध्यनजर गर्दै बैंकिङ एक्स्पोले पर्यटन व्यवसायलाई पनि सहभागी गराएकोप्रति आभार प्रकट गर्दै उनले बैंकिङ एक्स्पोमार्फत पर्यटनमा बैंकिङ लगानीको अवस्था र सम्भावनाहरुबारे छलफल हुने भएकाले एक्स्पोलाई सफल बनाउन सबै मिलेर लाग्नुपर्ने बताए ।

त्यस्तै, माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनका अध्यक्ष वसन्त लम्सालले ग्रामीण भेगमा वित्तीय सेवा पुर्याउन लघुवित्त वित्तीय संस्थाहरुले ठूलो भूमिका खेलेको दाबी गरे । उनले वित्तीय साक्षरता अभिवृद्धिका लागि लघुवित्त संस्थाहरु आफैँले पनि विभिन्न स्थानमा कार्यक्रमहरु गररहेको र बैंकिङ एक्स्पो जस्ता कार्यक्रममा पनि सहभागी भइरहेको जानकारी दिए । लघुवित्तले दिने सेवाहरुक बारेमा जानकारी दिएर सर्वसाधारणमा जागरण बढाउन सकिने भएकाले सबै मिलेर बैंकिङ एक्स्पो सफल बनाउनुपर्नेमा उनले जोड दिए ।

त्यसैगरी, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा. विष्णु पौडेलले वित्तीय पहुँच विस्तारका लाग कुनै एउटा संस्था मात्रै लागीपरेर नहुने बताए । वित्तीय पहुँच बैंक मात्रै नभएर बीमा, सेयर बजार, उद्यमशीलता, रेमिट्यान्स सबैसँग सम्बन्धित भएको उल्लेख गर्दै उनले बैंकिङ एक्स्पो जस्ता कार्यक्रमले सबै वित्तीय संस्थालाई एकैथलोमा ल्याएर वास्तविक रुपमा वित्तीय साक्षरता अभिवृद्धिमा सहयोग पुयाएको बताए । नेपालीहरुमा कुनै पनि काम सानो र ठूलो हुँदैन भन्ने धारणाको विकास गराउनुपर्ने आवश्यकता रहेको छ, उनले भने, बैंकिङ एक्स्पोमा सुनाइने ससानो पुँजीबाट सुरु गरेर अहले सफल बनेका व्यक्तिहरुको अनुभवले यस्तो धारणा विकास गर्ने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]