November 8th, 2019

सामाजिक सुरक्षा कोषले १ करोडसम्म होमलोन दिने

सरकारले सञ्चालन गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई १ करोड रुपैयाँसम्म घरजग्गा कर्जा दिने भएको छ । कोषले घरजग्गाका साथै शैक्षिक र सामाजिक कर्जासमेत दिने भएको छ । श्रमिकको आर्थिक सुनिश्चितता लागि सरकारले योगदानमा आधारित समाजिक सुरुक्षा कोष कार्यक्रम सञ्चालन गरेको हो । सोअनुसार प्रत्येक श्रमिकले आफ्नो पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशत रकम कोषमा संकलन गर्नुपर्नेछ । त्यस्ता योगदानकर्तालाई कोषले स्वास्थ्य, दुर्घटना, पेन्सन, उपदानलगायतका सुविधा पनि दिने तयारी गरेको हो । यसका लागि कोषले लगानी कार्यविधि तयारी पारेको छ । 

कार्यविधिलाई कोषको सञ्चालक समिति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि पारित गरिसकेको छ । स्वीकृतिका लागि मन्त्रालयमा पुगेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । 

३५ लाखसम्म शैक्षिक कर्जा
सामाजिक सुरक्षा कोषले ३५ लाख रुपैयाँसम्म शैक्षिक कर्जा प्रदान गर्ने भएको छ । योगदानकर्ताले स्वयं वा आफ्ना सन्तानको अध्ययनका लागि यस्तो कर्जा लिन सक्ने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । सामाजिक कर्जाका लागि भने कोषले २५ लाख रुपैयाँसम्म कर्जा प्रदान गर्ने भएको छ । 

सामाजिक सुरक्षा कोषले सञ्चालन गर्ने कर्जा सुविधाका लागि योगदानकर्ताले धितो राख्नुपर्नेछ । कोषले धितोको मूल्यांकन गरी अधिकतम ७० प्रतिशतसम्म कर्जा दिनेछ । कर्जा लिनका लागि योगदानकर्ताले लगातार तीन वर्षसम्म योगदान रकम भुक्तानी गरेको हुनुपर्नेछ । कोषले दिने कर्जाको अवधि ५ देखि १५ वर्षसम्मको हुनेछ । त्यस्तै, बजार हेरेर ब्याजदरको निर्धारण गरिने कोषका कार्यकारी निर्देशक ज्ञवालीले बताए । उनका अनुसार कोषले प्रदान गर्ने कर्जाको प्रक्रिया सहज हुनेछ । ‘बैंकबाट कर्जा लिनुभन्दा कोषबाट लिँदा योगदानकर्तालाई सहज हुनेछ,’ उनले भने, ‘ब्याजदर पनि वित्तीय संस्थाको भन्दा कम हुनेछ ।’ 

बेरोजगार सुरक्षा योजना
सामाजिक सुरक्षा कोषले बेरोजगार सुरक्षा योजनासमेत सञ्चालन गर्ने तयारी गरेको छ । ६० वर्ष पूरा नभई जागिरबाट अवकाश पाएका श्रमिकलाई लक्षित गरी कोषले यस्तो योजनाको परिकल्पना गरेको कोषका कार्यकारी निर्देशक ज्ञवालीले बताए । यस योजनाअनुसार कुनै श्रमिकको ६० वर्ष नपुग्दै अवकाश भएमा वा जागिर छोडेमा उसले ६० वर्षसम्म मासिक निश्चित रकम कोषबाट पाउनेछ । ६० वर्षपछाडि स्वतः श्रमिकले एकमुष्ट रकम पाउनेछ । 
 
एक क्षेत्रमा २०% मात्र लगानी
सामाजिक सुरक्षा कोषले योगदानलगायत अन्य क्षेत्रमा पनि लगानी गर्ने भएको छ । तर, कुनै पनि क्षेत्रमा कोषले २० प्रतिशतभन्दा बढी लगानी गर्न पाउनेछैन । सामाजिक सुरक्षा ऐन २०७४ अनुसार कोषले सरकारी ऋणपत्र, वित्तीय संस्थाको मुद्दती खाता वा दीर्घकालीन प्रकृतिका निक्षेप योजनाहरूमा समेत लगानी गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था तथा अन्य सीमित दायित्व भएको कम्पनीमा सेयर लगानी गर्नेछ । बैंक तथा वित्तीय संस्थाहरूसँग सहवित्तीयकरणका आधारमा धितो विभाजन गर्ने गरी आपसमा भएको सम्झौताअनुसार संयुक्त रूपमा ऋण दिनेछ । संगठित संस्थाले जारी गरको डिबेन्चरमा लगानी गर्नेछ भने सामूहिक लगानी कोषमा, व्यावसायिक भवनसमेत लगानी गर्नेछ । 

९ करोड योगदान रकम संकलन 
सामाजिक सुरक्षा कोषले योगदानकर्ताबाट हालसम्म ९ करोड रुपैयाँ योगदान रकम संकलन गरेको छ । त्यस्तै, कोषमा हालसम्म २ वटा मृत्यु दाबी परेको छ भने एउटा दुर्घटना दाबी परेको छ । मृत्यु भएका श्रमिकलाई मासिक भुक्तानी प्रदान गरिने कोषले बताएको छ । कोषका हालसम्म करिब ९ हजार रोजगारदाता दर्ता भएका छन् भने करिब १ लाख श्रमिक सूचीकृत भएका छन् । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]