यूरोपेली संघ (इयू)बाट ब्रिटेन बाहिरिने पक्षले बहुमत ल्याएपछि अहिले दुनियाँभरि नै वित्तीय बजार प्रभावित हुने हल्ला चलेको छ । यथार्थमा केही देशहरुको वित्तीय बजार प्रभावित भएको छ । एशियामै हेर्ने हो भने, जापान, चीन, हङकङ, भारतलगायतका देशमा प्रारम्भिक प्रभाव देखिएको छ । भारतीय मुद्रामा परेको प्रभावका कारण नेपाली रुपैयाँँमा पनि त्यसको प्रभाव देखिएको छ । सुनको भाउमा पनि त्यसको अप्रत्यासित प्रभाव परेको छ ।
किन पर्यो प्रभाव ?
ब्रिटेन इयूबाट बाहिरिँदैमा झट्टै वित्तीय बजार प्रभावित भईहाल्ने, त्यस्तो ठूलो कायापलट भइहाल्ने हैन । अहिले जसरी विभिन्न मुलुकको वित्तीय क्षेत्रहरु प्रभावित बन्दैछन् त्यसको एउटै कारण हो मनोवैज्ञानिक कारण । यही कारणले गर्दा नै विभिन्न मुलुकको वित्तीय बजारमा हलचल देखिएको हो ।
ईयूबाट छु्टीने ब्रिटिस नागरिकको निर्णयपछिको विश्वको आर्थिक भविस्यका बारेमा गरिएको अल्पकालिन परिकल्पनाले नै वर्तमान रुपमा विश्वको वित्तीय अवस्था खल्बलिन पुगेको हो । भविष्यमा व्यापारिक कभरेजमा कमी आउला, बेलायती शेयर बजारहरु घट्लान्, व्यवसायीक क्रियाकलाप घटेर जालान्, लगानी घट्ला, आर्थिक क्रियाकलापहरु संकोचित हुँदै जालान् भन्ने मनगढन्ते कारणलाई लिएर बेलायत छुट्टिए लगत्तै विभिन्न मुलुकले आ–आफ्नै खालका आर्थिक तथा वित्तीय निर्णयहरु गर्न सुरु गरेका हुन् । तर यूरोपेली युनियनले यस्ता अवरोधहरु आईहाले पनि अवरोध घटाउन के–कस्ता नीति–नियम बनाउला र बेलायत आफैँले पनि कस्ता कदम चाल्ला भन्ने बिषयमा विश्वको ध्यान नै जान सकेको छैन । यानकी बेलायत वैधानिक रुपमा ईयूबाट छुटीनको लागि नै अझ ३ वर्ष लाग्छ । त्यो समय वा अझै केही समयसम्म अहिलेकै अवस्थामा चल्ने हुन् धेरै कुराहरु । त्यसैले अहिले विश्वको वित्तीय बजारमा मनोबैज्ञानिक कारण नै हलचल पैदा भएको हो । (डा. अधिकारीसंग बैंकिङ खबरका लागि सहकर्मी शारदा भण्डारीले गरेको कुराकानीमा आधारित)