October 28th, 2019

४ अर्ब ८० करोडका नोट छाप्दै राष्ट्र बैंक

राष्ट्र बैंकले ४ अर्ब ८० करोड रुपैयाँ बराबरका नोट छाप्न बोलपत्र आह्वान गरेको छ। २० रुपैयाँ दरका २४ करोड थान नोट छाप्न बोलपत्र खोलिएको हो। यसअघि राष्ट्र बैंकले सन् २०१६ मा २० रुपैयाँ दरका २१ करोड थान नोट छपाएको थियो। केन्द्रीय बैंकले हरेक नोट एकपटकमा ३ वर्षका लागि पुग्ने गरी छपाउँछ। यसलाई नोटको आयु पनि भनिन्छ। यसको अर्थ एउटा नेपाली नोट ३ वर्षसम्म टिक्छ भन्ने पनि हो।

पछिल्ला वर्षमा २० रुपैयाँको नोट सबैभन्दा बढी अभाव हुने नोटमा पर्ने गरेको छ। हरेक वर्ष दसैंको समयमा नयाँ नोट बजारमा पठाउँदा केन्द्रीय बैंकले केही वर्षयता २० रुपैयाँका नोटको अभाव खेप्नुपरेको राष्ट्र बैंकका अधिकारी बताउँछन्।

‘चार्डपर्वमा २० रुपैयाँको माग बढी हुन थालेको छ। मागअनुसार छपाइ नहुँदा बर्सेनि अभाव खेप्नुपरेको हो’, राष्ट्र बैंकका एक अधिकृत भन्छन्। मानिसको क्रयशक्ति र बजारभाउले कुन दरको नोट बढी माग हुन्छ भन्ने निर्धारण हुन्छ। दसैंमा २० रुपैयाँको नोटमा चाप पर्नुका कारण पनि यही हो। तर, राष्ट्र बैंकले भने यस्ता साना दरको नोटको साटो ५० र १०० अंकित दरका नोटको छपाइ बढाउने नीति लिएपछि साना दरका नोट अभाव हुने अवस्था आएको ती अधिकृत बताउँछन्।

पछिल्ला वर्षमा राष्ट्र बैंकले ५०० र १०० दरका नोटको छपाइ बढाउन थालेको छ। तीन वर्षअघि २० करोड थान १ हजार दरका नोट छपाएको केन्द्रीय बैंकले यो वर्ष भने ३१ करोड थान छपाउँदै छ।

नोटमा प्रयोग हुने कागज, नोटका सुरक्षा विशेषता, छपाइ र ढुवानी लागतअनुसार केन्द्रीय बैंकलाई ठूला दरका नोट छाप्न सस्तो पर्छ। अमेरिकी डलरको विनिमय दरमा आउने फेरबदल पनि छपाइको लागतमा ठूलोअन्तर पर्नसक्छ। राष्ट्र बैंकले सन् २०१४ मा १ हजार दरको एउटा नोट छाप्न ३ रुपैयाँ ९२ पैसा खर्चेको थियो। २०१६ मा यही नोट १ रुपैयाँ ९० पैसामा छापियो।

गत १२ असोजमा चिनियाँ कम्पनी ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड माइनिङ कर्पोरेसन’सँग भएको सम्झौता अनुसार यही १ हजार दरको नोट छाप्न राष्ट्र बैंकले ३ रुपैयाँ ३६ पैसा खर्च गर्ने भएको छ। सन् २०१३ मा ३.१३ रुपैयाँमा छापिएको ५०० दरको नोट २०१६ मा २.९२ रुपैयाँमै छापियो। २० रुपैयाँको नोट तीन वर्षअघि १ रुपैयाँ ११ पैसामा छपाइएको थियो।

केही अर्थविद् ठूला दरका नोटको चलनचल्तीले मूल्यवृद्धिमा पनि सहयोग पुग्ने बताउँछन्। उनीहरूको तर्कमा सानो नोटको अभावले मानिसमा पैसाको महत्व घट्न थाल्छ। यसले गर्दा खर्च बढ्ने र मूल्य वृद्धि हुने सम्भावना हुन्छ। तर, राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुखसमेत रहेका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला यस्तो भनाइमा सहमत छैनन्। ‘ठूलो दरका नोट हुनेबित्तिकै बढी खर्च गर्छ भन्ने हुन्न’, उनी भन्छन्, ‘मूल्यवृद्धिसँग नोटको कुनै सम्बन्ध हुँदैन।’  अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित समाचार ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]