October 16th, 2019

बैंकिङ प्रविधिका प्रयोगकर्ता बढ्दै, झन्डै ६८ लाखसँग डेबिट कार्ड

बैंकिङ खबर । नेपालको बैंकिङ क्षेत्रमा पछिल्लो समय निकै सुधार भएको छ । वित्तीय पहुँच बडेर ६०.९ प्रतिशत पुगेको छ । अधिकांश स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । बैंकमा शाखा खोल्ने र बैंकबाट कारोबार गर्नेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । साथमा बैंकिङ प्रविधिका प्रयोगकर्ता पनि बढ्न थालेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

गत असार मसान्तसम्मको तथ्यांकअनुसार, नेपालमा एटीएमको संख्या ३३१६ पुगेको छ । जबकी एक वर्षअघि यस्तो संख्या २७९१ थियो । एटीएम मेसिनको संख्या मात्रै बढेका छैनन्, बैंकको कार्ड प्रयोग गर्नेको संख्याले पनि तीव्रता पाइरहेको छ । डेबिट कार्डका प्रयोगकर्ता ६७ लाख आठ हजार पाँच सय २१ पुगेको छन् भने क्रेडिट कार्डका प्रयोगकर्ता एक लाख २३ हजार एक सय ४६ पुगेको छ । एक करोड ८० लाखको बैंक् खाता भएको अवस्थामा यो संख्या कम देखिए तापनि विगतको अवस्था हेर्दा यसलाई राम्रै प्रगति मान्नुपर्छ ।

त्यस्तै, मोबाइल र इन्टरनेट बैंकिङका प्रयोगकर्ता पनि बढेका छन् । मोबाइल वा कम्प्युटरबाटै बिल भुक्तानी, टिकट, सपिङ, रिचार्ज, पैसा ट्रान्सफर, सेयर खरिदविक्री लगायतका सेवा उपलब्ध हुन थालेपछि यसप्रति बैंकका ग्राहकको आकर्षण बढ्न थालेको छ । मोवाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २०७३ मा १७ लाख ५५ हजार रहेकोमा २०७६ सम्ममा करिब ५ गुणाले वृद्धि भई ८३ लाख ४७ हजार पुगेको छ । यस अवधिमा इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या समेत पाँच लाखबाट बढेर नौ लाख पुगेको छ ।

त्यसैगरी, शाखा रहित बैंकिङ्ग केन्द्रको संख्या पनि बढ्दै गएको छ भने यसका प्रयोगकर्ता पनि बढ्न थालेका छन् । यस्ता केन्द्रको संख्या एक अजार पाँच सय ३० पुग्दा प्रयोगकर्ताको संख्या एक लाख ६८ हजार तीन सय सात पुगेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]