October 13th, 2019

चार करोड लगानीमा वातावरणमैत्री उद्योग सञ्चालन

पोसकान्त पोखरेल । तिलोत्तमा नगरपालिका–१४ बनकट्टी रुपन्देहीमा चार करोड रुपैयाँको लगानीमा वातावरण मैत्री उद्योग सञ्चालनमा आएको छ । आईतबार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले औपचारिक रुपमा एक कार्यक्रमका बीच उद्घाटन गरेसँगै नन् ओभन ब्याग (गैर बुनेको झोला) तयार गर्ने उद्योग सञ्चालनमा आएको हो । प्लाष्टिक झोलाले फैलाउँदो वातावरणिय प्रदषणलाई मध्यनजर गर्दै साङ्लो गु्रपले पहिलो उद्योगको रुपमा साङ्लो गु्रप एण्ड ईण्डष्ट्रिज प्रा.लि.को नामबाट उक्त नन् ओभन उद्योग सञ्चालनमा ल्याएको छ । सम्भवतः नेपालमै पहिलो पटक मल्टीकलर प्रिन्टिङको सुविधा सहित उत्पादन सुरु गरिएको उक्त झोलाले द्रुतगतिमा बजार विस्तार गर्न सक्ने विश्वास पनि ब्यक्त गरिएको छ ।

संस्थाका अध्यक्ष खिमानन्द भुषालको अध्यक्षता र तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा कम्पनीको संक्षिप्त जानकारी गराउँदै अध्यक्ष खिमानन्द भुषालले समयको माग र बदलिंदो परिस्थितीमासँगै सहयात्रा गरौं भन्ने उद्देश्यले सानो सानो पुँजिलाई एकिकृत गरीसाङ्लो गु्रप एण्ड इण्डष्ट्रिज प्रा.लिको स्थापना गरेर वातावरण मैत्री उद्योग सञ्चालनमा ल्याएको बताए । उनले तिलोत्तमा नगरपालिकाले अगाडी सारेको ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा र राष्ट्रिय स्तरमै वातावरण सुरक्षाको लागि साङ्लो ग्रुप एण्ड ईण्डष्ट्रिज प्रा.लि. स्थापना सहयोगी भूमिकामा रहिरहने धारणा व्यक्त गरे । बर्तामान समयमा उद्योगले १३ जनालाई प्रत्यक्ष रोजगारी दिएको जानकारी गराउँदै अध्यक्ष भुषालले निकट भविष्यमै कृषि, यातायात, सहुलियत सपिङ मल लगायत उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने उद्देश्य बोकेको बताए ।

प्रमुख अतिथी तथा नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकाको वातावरण मैत्री योजनामा साङ्लो ग्रुपको उपस्थिती स्रहानीय भएको बताउँदै उद्योगले उत्पादन गरेका उत्पादनहरुको लागि बजारीकरणको कुनैपनि समस्या आउन नदिनेमा प्रतिबद्धता व्यक्त गरे । प्रमुख घिमिरेले नगरपालिकाका सबै बजारहरुमा आफ्ना उत्पादनहरु पु¥याएर पूर्ण प्लाष्टिक झोला मुक्त गर्ने नगरपालिकाको अभियानमा सहयोग गर्नपनि आग्रह गरे । एक्लो प्रयासले कुनैपनि कामलाई सफलताको सिढीमा चढाउन असम्भव हुने हुँदा २५ जनाको सम्युक्त लगानीमा सञ्चालनमा आएको उद्योग एक जनाको लागि उपयुक्त स्थान भएकोले फरक फरक क्षेत्रका अन्य २४ वटा उद्योगहरु पनि सञ्चालनमा ल्याउने महत्वाकांक्षी योजनाको बाटोमा चल्नको लागि सुझाव तथा शुभकामना ब्यक्त गरे ।

आलोक स्मृति केन्द्रका अध्यक्ष हेमराज अर्यालले समय सापेक्ष, जिवीकोपार्जन र समाजलाई मात्र नभई विग्रदो वातावरणलाई मध्यनजर गर्दै माटोसँग मिल्न सक्ने उत्पादनको उद्योग खोलिनु सबैका लागि खुसीको कुरा भएको बताए । उनले यस प्रकृतिका उद्योगहरुलाई राज्य स्तरबाट प्रोत्साहनका कार्यक्रमहरु ल्याएर सहयोग गर्नु पर्नेमा जोड दिए ।

समाजसेवी तथा साङ्लो गु्रप एण्ड ईण्डष्ट्रिजका प्रा.लि सेयर सदस्य अमृत भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा तिलोत्तमा–१४ का वडा अध्यक्ष सोहन थारु, तिलोत्तमा १३ का वडा अध्यक्ष गणेश न्यौपाने, स्थानिय बुद्धिजिवी श्याम खरेल, रुपन्देही व्यापार संगठनका अध्यक्ष नारायण भण्डारी लगायतले मन्तव्य राख्दै साङ्लो ग्रुपले प्रसंसनीय कामको सुरुवात गरेकोले सफलताको लागि शुभकामना व्यक्त गरे । भने कार्यक्रमको समापन गर्दै सदस्य बेद प्रसाद न्यौपानेले सबैको साथ र सहयोगले साङ्लो ग्रुपले उत्पादन सुरु गर्न सफल भएकोमा सबैलाई कृतज्ञता व्यक्त गर्दै विगतमा जस्तै भविष्यमा पनि सहयोग पाईरहनेमा साङ्लो ग्रुप विश्वस्त रहेको बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]