June 22nd, 2016

रुकुममा दैनिक १ करोड रेमिट्यान्स, एउटै व्यक्तिले पठाउँछ ५ लाखसम्म

moneyपछिल्लो समय रुकुममा रेमिट्यान्स आप्रवाह बढेकसँगै जिल्लाको अर्थतन्त्रमा सुधार हुँदै गएको छ । जिल्लामा विभिन्न मनि ट्रान्सफरहरुमार्फत दैनिक १ करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको बताइएको छ । मुलुकभर वैदेशिक रोजगारमा जाने युवाहरुको संख्या घटेको नेपाल राष्ट्र बैंकको तथ्यांक भएतापनि रुकुममा भने वैदेशिक रोजगारमा जाने युवाको संख्या बढेको छ । जसकारण, रेमिट्यान्स कारोबार पनि बढ्दै गएको छ । 

कुन कम्पनिमार्फत कति रेमिट्यान्स भित्रिन्छ ?
हाल जिल्लाभर १९ वटा मनी ट्रान्सफरका कार्यालयहरु सञ्चालनमा छन् । जसमध्ये, डिग्रे शाइकुमारी बचत तथा ऋण सहकारी संस्थामार्फत दैनिक २५ देखि ३० लाखसम्म रेमिट्यान्स जिल्लामा भित्रिने गरेको छ । यसमध्ये, धेरैजसो रेमिट्यान्स साउदी, दुबई, मलेसिया र कतारबाट भित्रिने गरेको छ ।  त्यस्तै हाम्रो बचत तथा ऋण सहकारीमा विशेषतः मलेसिया, कतारलगायतका देशबाट दैनिक २० लाख रुपैयाँसम्म रेमिट्यान्स भित्रिने गरेको छ । सदरमुकाम मुसिकोटमै रहेको प्रभु मनी ट्रान्सफर रुकुम र सिटी एक्सप्रेस रुकुमले पनि दैनिक लाखौंको कारोबार गर्ने गरेको बताएका छन् । त्यस्तै, यति डेभलपमेन्ट बैंकमार्फत दैनिक १० देखि १५ लाख रुपैयाँ रेमिट्यान्स भित्रिने गरेको छ । 

एउटै व्यक्तिले ५ लाखसम्म पठाउँछन्
कामको सिलसिलामा बिदेश गएका, भारतीय सेना, सिंगापुरे प्रहरी र बेलायती सेनामा कार्यरत रुकुमेलीले सबैभन्दा बढी रेमिट्यान्स पठाउने गरेका छन् । जिल्लाको पूर्वी क्षेत्रका अधिकांश मगर समुदायका युवा भारतीय, सिंगापुरे र बेलायती सेनामा कार्यरत रहेकाले पनि रेमिट्यान्स रकम उच्च भएको हो । उनीहरूले एक पटकमा प्रतिव्यक्ति एक लाखदेखि पाँच लाख रुपैयाँसम्म पठाउने गरेका छन् ।

केमा हुन्छ खर्च ?
जिल्लामा भित्रिएको रकम उनीहरूको आवश्यकताका आधारमा विभिन्न काममा खर्च गर्ने गरेका छन् । गरिब तथा बिपन्न समुदायले घरको खर्चसँगै बालबच्चाको लालनपालन र शिक्षादीक्षामा रकम खर्चने गरेका छन् भने केही हुनेखाने व्यक्तिले चाडपर्व र विभिन्न व्यवसाय तथा सामाजिक काममासमेत यस्तो रकम खर्चने बताउँछन् ।

रेमिट्यान्स कम्पनिहरु सुगमकेन्द्रित
वैदेशिक रोजगारमा जानेहरु प्रायः स्थानीय स्तरका नै हुन्छन् । यद्यपि, जिल्लामा स्थानीयस्तरमा पैसा पठाउने तथा पाउने सुबिधा छैन । उनीहरुले पठाएको पैसा कारण सेबाग्राही सदरमुकाम नै आउने गरेका छन् । यसले जिल्ला सदरमुकाम मुसिकोट खलंगाका रेमिट्यान्स संस्थाहरूमा सेवाग्राहीहरूको भीड लाग्ने गरेको छ ।

चालू आर्थिक वर्ष २०७२/७३ को पहिलो दश महिनामा ५ खर्ब ३८ अर्ब ८७ करोड रुपैँयाको रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।