June 17th, 2016

१० प्रतिशत पुग्यो उपभोक्ता मुद्रास्फीति, तलब ५.३ प्रतिशतले बढ्यो

Womans finger on stack of coins२०७३ वैशाख महिनामा उपभोक्ता मुद्रास्फीति १० प्रतिशत पुगेको छ । २०७२ पुस महिनामा १२.१ प्रतिशतको उच्चतम बिन्दुमा पुगेको मुद्रास्फीति त्यसपछिका महिनाहरूमा क्रमिक रूपमा घट्दो क्रममा रहेको थियो । दक्षिणी सीमाका भन्सार नाकाहरूको अवरोध सहज भई इन्धन लगायत उपभोग्य वस्तुहरूको आपूर्ति सामान्यीकरण हुँदै गए तापनि घर भाडा तथा शिक्षा सम्बन्धी खर्चमा वृद्धि हुन गएकोले उपभोक्ता मुद्रास्फीति बढेको नेपाल राष्ट्र बैंकको ठहर छ ।

दलहन मूल्यवृद्धि सबैभन्दा बढी
वार्षिक बिन्दुगत आधारमा २०७३ वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्क वृद्धिदर ९.६ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क वृद्धिदर १०.४ प्रतिशत रहेको छ । समीक्षा अवधिमा दलहन तथा गेडागुडीको मूल्य सबैभन्दा बढी २३.४ प्रतिशत र तरकारीको मूल्य २०.१ प्रतिशतले बढेको छ । त्यसैगरी, लत्ता कपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र मदिराजन्य पेय पदार्थको मूल्यमा क्रमशः १७ प्रतिशत, १६.४ प्रतिशत र १५.९ प्रतिशतले वृद्धि भएको छ । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ११.५ प्रतिशत, पहाडमा ११ प्रतिशत, हिमालमा ९.१ प्रतिशत र तराईमा ८.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर काठमाडौं उपत्यकामा ६.८ प्रतिशत, पहाडमा ७.७ प्रतिशत र तराईमा ६.९ प्रतिशत रहेको थियो ।

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर 
२०७३ को वैशाख महिनामा भारतको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ । नेपालको मुद्रास्फीति १० प्रतिशत रहेको आधारमा दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ४.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ७.१ प्रतिशत र ५ प्रतिशत रहेकोले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर २.१ प्रतिशत रहेको थियो । २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पको अन्तराल प्रभाव, तराईको आन्दोलन र दक्षिणका व्यापार नाकाहरूमा भएको अवरोधका कारण नेपाल र भारतबीच मुद्रास्फीति दरको अन्तरमा वृद्धि हुन गएको हो । 

थोक मुद्रास्फीति 
आर्थिक वर्ष २०७२/७३ को वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर ५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.१ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ९.६ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ६ प्रतिशतले वृद्धि भएको छ भने आयातित वस्तुहरूको मूल्य सूचकाङ्क २.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ८.८ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.५ प्रतिशतले वृद्धि भएको थियो भने आयातित वस्तुहरूको मूल्य सूचकाङ्क २.१ प्रतिशतले घटेको थियो । 

राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क 
समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ५.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ७.२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा ०.८ प्रतिशत र ज्यालादर सूचकाङ्कमा ६.३ प्रतिशतले वृद्धि भएको छ । तलबअन्तर्गत बैंक तथा वित्तीय संस्था, शिक्षा र सार्वजनिक संस्थान उप–समूहहरूको तलब सूचकाङ्क क्रमशः २.३ प्रतिशत, १.५ प्रतिशत र ०.७ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, ज्यालादर अन्तर्गत निर्माण मजदुर, कृषि मजदुर र औद्योगिक मजदुरको ज्यालादर सूचकाङ्क क्रमशः ११.३ प्रतिशत, ६.२ प्रतिशत र ५ प्रतिशतले वृद्धि भएको छ ।