June 17th, 2016

५ खर्बमा झर्यो नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा

economic (2)रुपा कोइराला । नेपालको अन्तरराष्ट्रिय व्यापारघाटामा कमी आएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष (आव) २०७२/७३ को प्रथम १० महीनामा नेपालको वैदेशिक व्यापारघाटा गत वर्षको सोही अवधिको तुलनामा २.४ प्रतिशतले घटेको छ । . यो अवधिमा नेपालको अन्तरराष्ट्रिय व्यापारघाटा ५ खर्ब ४३ अर्ब ७६ करोड रुपैँयामा सीमित भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापारघाटा १०.१ प्रतिशतले बढेको थियो ।

निर्यात : कतै बढ्दै, कतै घट्दै
समीक्षा अवधिमा कुल वस्तु निर्यातमा २१.७ प्रतिशतले कमी आई ५५ अर्ब ६० करोड रुपैँयामा सीमित भएको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो निर्यात ५.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारततर्पm ३३.४ प्रतिशत र चीनतर्फ ३५.६ प्रतिशतले कमी आएको निर्यात अन्य मुलुकतर्पm भने ४.१ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा भारततर्पm जिङ्क शीट, जि.आई. पाइप, जुस, पोलिष्टर यार्न लगायतका वस्तुहरू र चीनतर्फ प्रशोधित छाला, चाउचाउ, तयारी पोसाक लगायतका वस्तुहरूहरूको निर्यात घटेको छ भने अन्य मुलुकतर्पm ऊनी गलैंचा, तयारी पोसाक, पश्मिना, चिया लगायतका वस्तुहरूको निर्यात बढेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, वीरगञ्ज भन्सार नाका र सुक्खा बन्दरगाह भएर निर्यात बढे पनि अन्य भन्सार नाकाहरूबाट हुँदै आएको निर्यातमा भने कमी आएको राष्ट्र बैंकले जनाएको छ । भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाका र सुख्खा वन्दरगाह भन्सार नाका, वीरगञ्ज नाकाबाट भएको निर्यातमा वृद्धि भए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा कमी आएको छ ।

४.६ प्रतिशतले घट्यो आयात
समीक्षा अवधिमा विभिन्न मुलुकबाट हुने आयात गत आवको सोही अवधिको तुलनामा ४.६ प्रतिशतले घटेर करीब ५ खर्ब ९९ अर्ब ३६ करोड रुपैँयामा सीमित भएको छ । गत आवको सोही अवधिमा यस्तो आयात ८.१ प्रतिशतले बढेर ६ खर्ब २८ अर्ब १० करोड रुपैँया पुगेको थियो । समीक्षा अवधिमा भारतसँगको आयातमा ७.८ प्रतिशतले कमी आएको छ भने चीन र तेस्रो मुलुकसँगको आयात क्रमशः ९.५ प्रतिशत र ४.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, दूरसञ्चारका उपकरण तथा पाटर््स, तयारी पोसाक लगायतका वस्तुको आयात बढेको कारण चीनबाट भएको आयात बढेको हो भने पेट्रोलियम पदार्थ, एम.एस.विलेट, रासायनिक मल, हटरोल्ड सिट ईन क्वायल लगायतका वस्तुहरूको आयात घटेको कारण भारतबाट र चाँदी, हवाईजहाजका पार्टपूर्जा, खाने तेल, सुपारी लगायतका वस्तुहरूको आयात घटेको कारण अन्य मुलुकबाट भएको आयात घटेको हो । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सार नाकाबाट हुने आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । तातोपानी भन्सार नाकाबाट हुने व्यापार अझै सुचारु हुन सकेको छैन । 

एकाई मूल्य सुचकांक : निर्यातमा बढ्यो, आयातमा घट्यो
समीक्षा अवधिमा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा २०.३ प्रतिशतले बढेको छ । यता, आयात मूल्य सूचकाङ्कमा भने ४.६ प्रतिशतले कमी आएको छ । सोही आधारमा ‘टम्र्स अफ ट्रेड’मा २६.१ प्रतिशतले सुधार भएको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो अनुपात १६ प्रतिशतले बढेको थियो । गलैंचा, सुपारी, यार्सागुम्बाको निर्यात मूल्यमा वृद्धि भएको कारण निर्यात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो भने पेट्रोलियम पदार्थहरूको आयातित मूल्यमा कमी आएका कारण आयात मूल्य सूचकाङ्कमा कमी आएको हो । 

सुध्रियो राजस्व
समीक्षा अवधिमा नेपाल सरकारको राजस्व सङ्कलन ११.९ प्रतिशतले वृद्धि भई ३ खर्ब ५० अर्ब २७ करोड रुपैँया पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो राजस्व ११.७ प्रतिशतले वृद्धि भएको थियो । यस वर्षको २ महीनादेखि ९ महीनासम्म लगातार ऋणात्मक रहेको राजस्वको वृद्धिदर दशौं महीनामा भने सकारात्मक भएको हो । राजस्व सङ्कलनको वर्तमान प्रवृत्ति कायम रहेमा कुल राजस्व बजेट लक्ष्य ४ खर्ब ७५ अर्ब रुपैँयाभन्दा पनि बढी उठ्ने अनुमान बैङ्कको छ ।