हरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ गतिविधिहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तिय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यस साता शेयर बजारको ऐतिहासिक गतिका विषयमा बढी चर्चा भयो । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको एफपीओ प्रकरणका विषयले पनि चर्चा बटुल्यो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
शेयर बजारको उचाई : उत्साह र जोखिम एकैसाथ
शेयर बजार दिनदिनै उचाईमा पुगेपछि यस विषयले हरेक दिन चर्चा पाउने गरेको छ । हरेक दिन २ अर्बमाथिको कारोबार हुने गरेको छ भने परिसूचक १६ सय माथि छ । बजार अझै बढ्ने विश्लेषकहरु बताउँछन् । बजार बढेको देखेर झन्झन् उत्साहित भएका लगानीकर्तालाई विहिबार एक सूचना जारी गर्दै धितोपत्र बोर्डले सतर्क भएर लगानी गर्न आग्रह समेत गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको एफपीओ प्रकरण
गत साताको बिहीबार बिहान नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ प्रतिकित्ता १ सय अंकित मुल्यमा २ हजार ८ सय ५१ रुपैंया थप गरि ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपिओ निष्काशन गर्ने कम्पनी सञ्चालक समितिले निर्णय गरेको र सम्बीन्धत निकायबाट स्वीकृत हुन बाँकी रहेको सुचना प्रकाशित भएको थियो । यसले गर्दा सो कम्पनिको शेयरमा लगानीकर्ताको आकर्षण ऐतिहासिक बन्यो । बोर्डमा आवेदन नदिई एफपीओ जारी गर्ने सूचना सार्वजनिक गरेको भन्दै शुक्रबार नै धितोपत्र बोर्डले कम्पनिको शेयर कारोबार रोक्का गरायो । त्यसपछि, बोर्डले नेप्से र नेपाल लाइफसँग स्पष्टीकरण माग्यो । नेप्सेले बुधबार स्पष्टीकरण दिँदै बोर्डको नियमावलीअनुसार नै कम्पनिले दिएको सूचना आफ्नो वेबसाइटमा राखेको बतायो ।
शेयर निष्काशन तथा विक्रि
जनता बैंक नेपालको आइतबार सम्पन्न साधारणसभाले ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गर्यो । युनाइटेड इन्स्योरेन्स कम्पनीले आफ्नो शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नका लागि असार २० गते बस्ने साधारणसभा प्रायोजनका लागि कम्पनिको शेयरधनी पुस्तिका शुक्रबारदेखि बन्द भएको छ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको विहिबार सम्पन्न चौधौँ वार्षिक साधारणसभाले आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनश दिने प्रस्ताव पारित गर्यो । दिव्यश्वरी हाइड्रोपावरले सर्वसाधारणका लागि ३ लाख ९६ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति यसै साता पायो । बरुण हाइड्रोपावर कम्पनीको बुधबार बसेको पाचौँ सञ्चालक समितिको बैठकले ले १ बराबर १ का दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव अघि सार्यो । नेपाल कम्युनिटी डेभलपमेण्ट बैङ्क लिमिटेडको १ बराबर १ अनुपातको हकप्रद शेयर निष्काशन बुधबारदेखि सुरु भयो । रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको १० बराबर ३.५ को अनुपातमा हकप्रद सेयर बिक्री खुल्यो । निर्माणाधिन दुई जलविद्युत आयोजनाका लागि वित्तीय स्रोत जुटाउन बुटवल पावर कम्पनीले अघि सारेको ३० लाख कित्ता सेयर एफपिओबाट विक्रि गर्ने प्रस्तावलाई कम्पनीको सोमबार बसेको बोर्ड बैठकले अघि बढायो । नेपाल बंगलादेश बैंकले १० बराबर ८ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्न लागेको जानकारी नेप्सेलाई दियो । कृषि विकास बैंकले चालू आर्थिक वर्षभित्रैै २ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गर्यो । धनकुटामा केन्द्रीय कार्यालय रहेको कावेली विकास बैंकको सेयरधनी आठौं साधारणसभाले सदस्यलाई २० प्रतिशत बोनस दिने निर्णय गर्यो । जनता बैंक नेपालको आइतबार सम्पन्न साधारणसभाले ५० प्रतिशत हकप्रद शेयर दिने निर्णय गर्यो । डेढ वर्ष भन्दा लामो समयसम्म बीमा सम्बन्धि कारोबार बन्द भएको एनबी इन्स्योरेन्सको शेयर कारोबार सोमबारदेखि खुल्यो ।
शाखा, सेवा तथा प्रविधि विस्तार
आई.एल.एफ.सि.ओ.माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड ले लघुवित्त कार्यक्रम विस्तार गर्ने क्रममा नुवाकोट जिल्लाको खड्गभञ्जाङ्ग र दाङ्ग जिल्लाको लक्ष्मिपुरमा थप २ वटा नयाँ शाखा कार्यालयहरु यसै सातादेखि सञ्चालनमा ल्यायो । साताको बुधबार नागरिक लगानी कोष र नेपाल बैंकबिच कोषको रकम बैंकको केन्द्रिय खातामा एविविएसमार्फत सिधै जम्मा हुने सम्बन्धि सम्झौता भयो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नुवाकोट जिल्ला स्थित रालुकादेवी, थापे्रक र खरानीटार गा.वि.स. मा थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा विस्तार गर्यो । सनराइज बैंक लिमिटेडले आफ्नो पाँचौ शाखारहित बैंकिङ्ग सेवा डोटी जिल्लाको बनलेक गा.वि.स.वडा नं.३ स्थित बानडुङग्रीसेन बजारमा शुरू गर्यो । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको मनमैजुमा रहेको मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर खोल्यो । विद्यूतीय प्रणाली मार्फत् गरिने सूचना आदान प्रदानमा उत्पन्न हुने जोखिमलाई न्युनीकरण गर्ने तथा सूचना प्रवाहलाई अझ विश्वसनीय बनाउनका लागि प्रभु बैंक लिमिटेड र नेपाल सर्टिफाइङ कम्पनी लिमिटेड बीच यसै साताको विहिबार सम्झौता भयो ।
मर्जर तथा एक्विजिसन
ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंक किन्ने भएको छ । यी दुई बैंकबिच बुधबार समझदारी भयो । त्यस्तै, काष्टमण्डप डेभलपमेन्ट बैंकले कांँक्रेविहार विकास बैंकलाई किन्ने भएको छ । यी दुई बैंकबिच पनि यसै साता सम्झौता भयो । महालक्ष्मी फाइनान्स, मालिका विकास बैंक र सिद्धार्थ फाइनान्स एकआपसमा गाभिएर महालक्ष्मी विकास बैंक बन्ने प्रस्ताव यसै साताको मंगलबार पारित भयो । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नामबाट गौमुखी विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरे । एनसीसीसँग गाभिन लागेका पाँच वटा सस्थाको स्वाप रेसियो यसै साता पारित भयो ।
अन्य
यसै साताको सोमबारदेखि ग्रोमोर मर्चेन्ट बैंकर लिमिटेडले आफ्नो नाम परिवर्तन गरी प्रभु क्यापिटल राख्यो । द्वन्द्वकालमा विस्थापित भएको पाल्पा जिल्लाको चापाकोटको कृषि विकास बैंक करिब १५ वर्षपछि सञ्चालनमा आयो ।