June 16th, 2016

राज्यले नै ब्याज अनुदान दिँदा पनि लिनेले देखाएनन् चासो

moneyराज्यले नै ब्याज अनुदान दिँदा पनि उत्पादनशील उद्योग तथा निर्यातर्कता कर्जा उपयोगमा उदाशीन बनेको पाइएको छ । नेपाल राष्ट्र बैंकले नै उत्पादनशील क्षेत्रका उद्योग तथा निर्यातकर्तालाई प्रोत्साहन गर्ने उद्धेश्यले ल्याएको पुनर्कर्जा सुविधा उपयोग हुने क्रम घटेको हो । राष्ट्र बैंकद्धारा हालै प्रकाशित समस्टिगत आर्थिक स्थितिबारेको प्रतिवेदनमा चालू आर्थिक वर्षको पहिलो १० महिनामा उत्पादनशील क्षेत्रमा हुनुपर्ने पुनर्कर्जा उपयोग घटेको देखिएको हो । बैंकसंग ऋण लिन उत्पादनशील उद्योग र निर्यातकर्ताले खासै मन नगरेपछि बैंकहरुले पनि राष्ट्र बैंकसंग पुनर्कर्जाको सुविधा लिन घटाएका छन् ।

कति घट्यो पुनर्कर्जा ?
०७३ साल बैशाख मसान्तसम्ममा उत्पादनशील क्षेत्रमा लगानी गर्ने साधारण पुनर्कर्जा ४ अर्ब ५७ करोड रुपैँया र निर्यात पुनरकर्जा १ अर्ब १७ करोड रुपैँया गरी जम्मा ५ अर्ब ७४ करोड रुपैँया पुनरकर्जाको उपयोग भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । गत वर्षको सोही अवधिमा साधारणतर्फ ४ अर्ब ८ करोड रुपैँया र निर्याततर्फ १ अर्ब ९८ करोड रुपैँया गरी कुल ६ अर्ब ६ करोड रुपैँया पुनरकर्जा उपयोग भएको थियो ।

बाणिज्य बैंकहरुमा पनि घट्यो कर्जा अनुपात
वाणिज्य बैंकहरूले उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत कर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेकोमा २०७३ वैशाख मसान्तसम्ममा वाणिज्य बैंकहरूको यस्तो कर्जा अनुपात १५.९९ प्रतिशत मात्रै रहेको छ । बैंकर्सहरु भन्छन्–‘उत्पादनशील क्षेत्रमा कर्जाको माग घटेको छ ।’

पुनर्कर्जासम्बन्धी सुविधा
हाल राष्ट्र बैंकले उत्पादनशील तथा निर्यातमुखी उद्योग व्यवसायमा ऋण लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई ब्याज अनुदानसहितको पुनर्कर्जा प्रदान गर्दै आएको छ । जसअनुसार राष्ट्र बैंकले साधारण पुनर्कर्जा ४ प्रतिशत र नेपाली मुद्रामा प्रवाह हुने निर्यात कर्जा १ प्रतिशत ब्याजदरमा दिन्छ । जहाँ बैंकहरूले सञ्चालन लागत जोडेर सामान्य ब्याजदरभन्दा निकै सस्तोमा निर्यातक र उत्पादनमूलक उद्योगलाई ऋण प्रवाह गर्छन् ।

पुनर्कर्जाको उपयोग घट्नु नराम्रो संकेत  
राज्यले नै ब्याज अनुदान दिँदा पनि उत्पादनशील उद्योगले कर्जा उपयोग गर्न नसक्नु राष्ट्रिय अर्थतन्त्रका लागि चिन्ताको विषय भएको विज्ञहरु बताउँछन्  । त्यसो त राष्ट्र बैंककै अधिकारीहरू पनि उत्पादनमूलक क्षेत्रको पुनकर्जा घट्नुलाई नराम्रो संकेतको रुपमा लिन्छन् । विश्लेषकहरुका अनुसार नाकाबन्दीका कारण भएको इन्धन अभावले ढुवानी समस्यामात्रै निम्त्याएन, नेपाली उद्योगका लागि आवश्यक कच्चापदार्थको उपलब्धतामा समेत हाहाकार भयो, जसका कारण उत्पादनशील उद्योग र निर्यातकर्ताले व्यवसाय विस्तारमा चुनौति झेल्नुपर्यो । उनीहरुले व्यवसाय विस्तार गर्न पनि सकेनन् । विश्लेषकहरु भन्छन् –यसले पुनर्कर्जाको उपयोग पनि स्वाभाविक रूपमा घट्यो ।