July 5th, 2019

उद्यमी बन्न लिएको ऋण भोजभतेरमा खर्च गर्ने, अनि डुबाउँदैन त लघुवित्त कर्जाले ?

बैंकिङ खबर । उद्यमशीलताको विकास गरी विपन्न वर्गको जीवनस्तर उकास्नका लागि योगदान पुर्याउने उद्देश्यले विश्वमा लघुवित्तको अवधारणा विकास भएको पाइन्छ । विपन्न वर्गलाई ससाना उद्यम सुरु गरी क्रमशः विस्तार गर्दै जानका लागि विनाधितो सामुहिक जमानीमा कर्जादेखि लिए व्यवसायिक तालिम एवम् परामर्श समेत दिएर लघुवित्त संस्थाहरुले आर्थिक क्रियाकलाप बढाउन भूमिका खेल्दछन् । नेपालको सन्दर्भमा पनि गरीबी न्युनीकरणमा लघुवित्त क्षेत्रको ठूलो योगदान रहेको छ ।

लघुवित्तको कर्जा लिएर सदुपयोग गर्नेहरु आज सफल उद्यमी बनेका छन् । कुनै समय खानलाउनकै समस्यामा रहेका व्यक्तिहरु आज आफै मालिक र रोजगारदाता समेत बनेका छन् । घरमै चुलाचौकामा हराउने महिलाहरु व्यवसाय गर्न थालेका छन् । यद्यपि, नेपालमा लघुवित्तको कर्जाको दुरुपयोग भएका घटनाहरु पनि धेरै छन् ।

कर्जाको दुरुपयोग
विनाधितो कर्जा पाइने भएपछि कतिपयले यसको फाइदा उठाउने गरेका छन् । लघुवित्तबाट कर्जा लिएर छोरीलाई दाइजो पठाउने गरेको समेत पाइएको छ । एउटा प्रयोजनका लागि भनेर कर्जा लिने र अर्कै काममा खर्च गर्ने गरेको पनि पाइएको छ । कर्जाको दुरुपयोग आफू गर्ने र लघुवित्तको कर्जाले डुबायो भनेर गुनासो गर्ने व्यक्तिहरुका कारण बेलाबेलामा लघुवित्तको आलोचना पनि हुने गरेको छ ।

डुप्लिकेसनको समस्या
कर्जाको दुरुपयोग मात्रै नभएर डुप्लिकेशन पनि लघुवित्त क्षेत्रका लागि चुनौति बनेको छ । एउटै ग्राहकले १२।१३ वटा लघुवित्तबाट ऋण लिएर जथाभावी खर्च समेत गर्ने गरेका छन् । एउटा व्यक्तिले एउटा लघुवित्तबाट कर्जा लिने र उक्त कर्जा चुक्ता गर्न अर्को लघुवित्तबाट कर्जा लिने गरेको समेत पाइएको छ । यो विकृतिका कारण लघुवित्त क्षेत्र संकटमा पर्ने देखिन्छ ।

लघुवित्तबाट लिएको कर्जा कुनै उद्यममै लगाउने हो भने सजिलै कर्जा चुक्ता गर्न सकिन्छ र यसका उदाहरणहरु पनि धेरै छन् । लघुवित्तले यही विश्वासमा नै कर्जा दिएको हुन्छ । तर, भैँसीपालनका लागि लिएको कर्जा अन्य विलासी कुरामा खर्च गर्न थालेपछि पक्कै कर्जाले डुबाउँछ । यसका लागि लघुवित्त संस्थाहरु पनि चनाखो हुनुपर्ने देखिन्छ । आफूले प्रवाह गरेको कर्जा के कुरामा खर्च भइरहेको छ भनेर अनुगमन गर्नुपर्ने देखिन्छ । अन्यथा, विपन्न वर्गको उत्थानका लागि विकसित लघुवित्त क्षेत्र विकृतिको कारण बन्न सक्छ ।

आँटे के हुँदैन ? ४५ हजार लघुकर्जाबाट सुरु भएको रजनीको व्यवसायिक यात्रा

वित्तीय साक्षरता आवश्यक
लघुवित्त संस्थाहरुले कर्जा प्रवाह गरेर थुप्रै ग्राहक सदस्यलाई उद्यमी बनाएको छ । यद्यपि, ऋणीहरुमा वित्तीय साक्षरताको कमी हुँदा कर्जाको दुरुपयोग हुने गरेको छ । उद्यमी बन्नका लागि दिइएको कर्जा छोरीलाई दाइजो दिने अथवा अन्य अनुत्पादक क्षेत्रमा लगानी गर्ने समस्याहरु पनि देखिने गरेको छ । लघुवित्तहरुले कर्जा प्रवाह गर्दा ऋणीहरुलाई कर्जाको सदुपयोग गर्ने र उद्यमी बन्ने तालिम पनि प्रदान गर्नुपर्ने र लघुवित्तका कर्मचारीहरुलाई पयिन समयसमयमा तालिम दिइरहनुपर्ने विज्ञहरु बताउँछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]