सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा हरेक नेपालीको बैंक खाता खोलिदिने, बैंक तथा वित्तीय क्षेत्रको पहुँचमा हरेक नेपालीलाई पुर्याउने घोषणा गर्यो । हुन पनि मुलुकमा अहिले २९ वटा वाणिज्य बैंक, ७१ वटा विकास बैंक, ४७ फाइनान्स कम्पनी, ४१ लघुवित्त विकास बैंक र १३ हजार ४ सय १५ सहकारी संस्था सञ्चालनमा छन् । मुख्यत यी बैंक तथा वित्तीय संस्थाहरु सेवाग्राहीको कमाइलाई सुरक्षित गरिदिन र चाहिएका बेला उपलब्ध गराउनकै लागि क्रियाशिल छन् । अहिले सहकारीहरु गाउँ–गाउँमा पुगेका छन् । बैंकहरुले पनि शाखा विस्तार गर्ने क्रम बढेको छ । बिमा कार्यक्रमलाई पनि अभियानकै रुपमा अघि बढाइएको देखिन्छ ।
तर अपत्यारिलो कुरा के छ भने, अझै पनि ३९ प्रतिशत नेपाली भने बैंक तथा वित्तीय संस्थाको पहुँचभन्दा बाहिर छन् । अहिले पनि उनीहरु आफुसंग भएको पैसा बाकसमै राख्छन् । किनकी उनीहरुले पैसा बैंक तथा वित्तीय संस्थामा राख्दा सुरक्षित हुने कुरामा विश्वासै गरेका छैनन् । बाकसमा पैसा थन्काउनु उनीहरुको रहर पनि हैन । उनीहरु यसलाई एउटा बाध्यता भएको बताउँछन् ।
उदपुरका रामपुर ठोक्शिलाका धु्रवहरि अधिकारी दुई वर्षअघिसम्म स्थानीय एक सहकारीमा बचत गर्थे । देशका विभिन्न ठाउँमा सहकारीहरुले ठगी गरेको उनले समाचारमा सुन्थे । त्यसै पनि आशंकीत थिए उनी । त्यसमा पनि झण्डै एक वर्ष बचत गरेपछि रामपुरमै रहेको एउटा सहकारीमा आर्थिक हिनामिनाको बहस चुलियो । त्यसयता उनले सहकारीमा पैसा जम्मा गर्नै छाडे । ‘बैंकमा राखौँ भने, यहाँ बैंक छैन’ उनले बैंकिङ खबरसंग भने, ‘बरु बाकसमै राख्ने हो । कम्तिमा पैसा आफैसंग सुरक्षित छ भन्ने कुरामा ढुक्क त हुन्छ ।’
झण्डै २० हजार जनसंख्या भएपनि रामपुरमा एउटा बैंक पनि स्थापना भएको छैन । सो ठाउँका मानिसहरु पूर्ण रुपमा सहकारीप्रति अझै ढुक्क हुन सकेका छैनन् । रामपुर त एउटा नमुनामात्र हो । यस्ता ठाउँहरु अझै निकै भेट्न सकिन्छ जहाँका मानिसहरु आज पनि पैसा बाकसमा राखेर बस्न बाध्य छन् ।
नेपालकै सन्दर्भमा सहकारी संघसंस्थालाई समेत औपचारिक क्षेत्र मान्दा करिब ६१ प्रतिशतले बैंकिङ सेवा लिइरहेको नेपाल राष्ट्र बैंकले करिब एक वर्षअघि दाता निकाय डिएफआइडी, युएनडिपी र युएनसिडिएफको सहयोगमा गरेको अध्ययनले देखाएको छ ।
तथ्याङकअनुसार त्यसमध्ये ४० प्रतिशतले बैंक, वित्तीय संस्था (क, ख, ग र घ वर्गका वित्तीय संस्था) बाट र बाँकीले सहकारी तथा अन्य औपचारिक वित्तीय क्रियाकलाप (संस्था र समूह) बाट बैंकिङ सेवा लिँदै आएको अध्ययन नतिजा छ । २१ प्रतिशतमा पनि सहकारीबाट ११ र बाँकी १० प्रतिशतले अन्य औपचारिक वित्तीय क्रियाकलापबाट सेवा प्राप्त गरेको प्रतिवेदनमा भनिएको छ । बाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघु वित्त विकास बैंकको पहुँच ४० प्रतिशतमा मात्र पुगेको बताइन्छ ।
केही वर्षयता बैंक, वित्तीय संस्थाको विकास तथा विस्तार तीव्र भए पनि अपेक्षा गरेअनुसार वित्तीय पहुँच सबै नेपालीमा पुग्न नसकेको अध्ययनले देखाएको छ । कुल वयस्क जनसंख्याको आधाभन्दा बढीले नियमित आम्दानी गर्ने अवसर प्राप्त नगरेका कारण मुलुकको ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार हुन नसकेको बताइएको छ ।
धेरैजसो बैंकहरु जिल्ला सदरमुकामकेन्द्रित देखिन्छन् । उनीहरुको गाउँसम्म पहुँच पनि देखिदैन । ग्रामीण अर्थतन्त्र सुधार नगरेसम्म देशको समृद्धि नहुने विज्ञको भनाइ छ ।