उहिले उहिले ग्रामीण भेगका महिलालाई बचत गर्ने सल्लाह दिंदा आफूसँग पैसै नहुने भनेर ठाडै इन्कार गर्दथे तर अचेल बचतको प्रस्ताव आउनेबित्तिकै आफूले खाँदै आएको एक दुई छाक काटेर पनि महिलाहरुले बचत गरिरहेको पाइएको छ । ग्रामीण भेगका महिलामाझ देखिएको यो बचतमोहले उनीहरुलाई आवश्यक पर्ने बेला गर्जो टार्ने मात्रै होइन, गाउँमै साना खाले पसल र व्यवसाय सञ्चालन गर्न सहयोग पुर्याइ आत्मनिर्भर बनाउने बाटो खोलेको छ । यति मात्रै होइन, उनीहरुले आफ्नो घरको पुरुषलाई वैदेशिक रोजगारीमा पठाउन पनि सामुहिक रुपमै सङ्कलन गरेको बचतबाट ऋण लिने गरेका छन् ।
पहिले घरको लोग्ने मान्छेलाई विदेश पठाउनु पर्यो भने गाउँ वा बजारको महाजनसँग घरजग्गा धितो राखेर सयकडा पाँचको दरले ब्याज लिनुपर्दथ्यो, दलित जनकल्याण युवा क्लवको सहयोगमा स्थापना भएको सिराहा जिल्ला लहान–१० स्थित पासमान टोलकी सहयोगी महिला बचत समुहकी अध्यक्ष देवकीदेवी पासमानले भन्नुभयो, अब अहिले आफैंले मासिक रुपमा गरेको सामुहिक बचतबाटै सयकडा एकको दरले मज्जाले ऋण पाउन सकिन्छ ।
महिलामा बचत प्रतिको मोह बढ्दै जान थालेपछि उनीहरुलाई हौंसाउन गरिबी निवारण कोष, हरुवाचरुवा अभिमूखि कार्यक्रम तथा विभिन्न सहकारी संस्थाहरुले विभिन्न किसीमको कार्यक्रम समेत लागु गरेका छन् । ग्रामीण भेगमा एउटा महिलाले पाँच रुपियाँदेखि एक सय रुपियाँसम्मको दरले सामुहिक बचत राख्ने गरेको पाइन्छ । गरिबी निवारण कोष तथा हरुवाचरुवा अभिमूखि कार्यक्रम अन्तर्गत सञ्चालित विभिन्न गैरसरकारी सँस्थाहरुले विपन्न तथा दलित समुदायका महिलाहरुलाई सामुदायिक बचतको बानी बसाउन सुरुमै सामुहिक रुपमा लगानी समेत गरेको पाइन्छ ।
लगानी त एउटा बहाना मात्रै हो, सिरहाका तीन गाविसहरुमा हरुवाचरुवा अभिमूखिकरण कार्यक्रम सञ्चालन गरिरहेको सामुदायिक विकास मञ्चका अध्यक्ष विनोद चौधरीले भन्नुभयो, हामीले गरेको सुरुवाती लगानीबाट विपन्न, दलित तथा आफ्नो घडारीसमेत नभएका महिलाहरुका लागि आयआर्जनको बाटो खुल्न जान्छ, त्यसपछि हामी उनीहरुले कमाएकै आर्जनबाट उनीहरुलाई बचत गर्न सिकाउँछौ ।
मेरो एक कठ्ठा जग्गा पनि कतै छैन म अरुको जग्गामा बस्दै आएको छु, हनुमाननगरकी हरुवाचरुवा परिवारकी लिलिया मल्लिकले भन्नुभयो, दुई छाक टार्न जमिन्दार तथा धनीमानीको खेतमा खनजोत गर्छु, उनीहरुको झूठो भाँडा माझ्छु तर प्रत्येक महिनाको १७ गतेका दिन समुहमा भेला भएर एक सय रुपियाँ मासिक बचतका लागि बुझाउँछु ।
हाम्रो बाजे पुर्खाले घरधन्दा तथा आवश्यक गर्जो टार्न जमिन्दारसँग बसाहा कागजमा सही गराएर लिएको ऋणले हामीलाई अहिलेसम्म पछ्याइरहेको छ, लिलिया मल्लिकले भन्नुभयो, तर हामी आउँदो पुस्तालाई त्यस्तो ऋणको भारले धनीमानीको दास र नोकर बनाउन दिंदैनौ ।