बैंक तथा वित्तीय संस्थाहरूमा अन्तर बैंकिङ विद्युतीय भुक्तानी प्रणाली सुरु हुने भएको छ । वित्तीय कारोबारलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउनुका साथै जोखिम न्यून गर्ने उद्देश्यले विद्युतीय प्रणाली लागू गर्न लागिएको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले जनाएको छ । बैंक तथा वित्तीय संस्थालाई विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन क्लियरिङ हाउसले हालसम्म ५४ बैंक तथा वित्तीय संस्था र ३ रेमिट्यान्स कम्पनी (इन्टरनेसनल मनी एक्सप्रेस, बेस्ट रेमिट्यान्स र सिटी एक्सप्रेस) सँग सम्झौता गरिसकेको छ । तीमध्ये २६ वाणिज्य बैंक, २३ विकास बैंक र ५ वित्त कम्पनी यो प्रणालीमा आबद्ध छन् ।
यो प्रणालीमार्फत ग्राहकले रकम स्थानान्तरण, लाभांश भुक्तानी, प्राथमिक निष्काशनको रकम फिर्ता, बिल भुक्तानी, प्रिमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन/तलब भुक्तानी, रेमिट्यान्सलगायत विविध भुक्तानी दिन र लिन सक्ने एनसीएचएलले जनाएको छ । त्यस्तै, ग्राहकले एउटा बैंकबाट जुनसुकै बैंक तथा वित्तीय संस्थाको खातामा रकम भुक्तानी तथा स्थानान्तरण गर्न सक्छन् । अहिले एउटा बैंक तथा वित्तीय संस्थाको खातामा मात्र रकम स्थानान्तरण तथा भुक्तानी गर्न सकिन्छ । हाल यसरी एक बैंकबाट अर्कोमा रकम पठाउँदा चेक काटेर क्लियरिङ हाउसमार्फत स्थानान्तरण गर्नुपर्छ । यो प्रविधि लागू भएपछि ग्राहकको आग्रहअनुसार सिधै रकम स्थानान्तरण गर्न सकिन्छ । यो सेवामार्फत ग्राहकले अतिरिक्त शुल्क भने तिर्नुपर्छ । यसका लागि सम्बन्धित संस्था÷कम्पनी एनसीएचएलको विद्युतीय क्लियरिङ प्रणालीमा आबद्ध भएको हुनुपर्ने छ ।
एनसीएचएलको यस प्रयासलाई नेपाल राष्ट्र बैंकले पनि साथ दिएको छ । विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्नका लागि राष्ट्र बैंकले ‘पेमेन्ट एन्ड सेटलमेन्ट’ विभाग स्थापना गरी काम सुरु गरेको छ ।
हाल एनसीएचएलले विद्युतीय प्रणालीमार्फत १ सय २५ वटा सदस्य बैंकको चेक क्लियरिङ गर्दै आएको छ । उक्त प्रणालीमार्फत सदस्य बैंक तथा वित्तीय संस्थाका २ हजार ६ सय ३२ वटा शाखाबाट खिचिएका चेक राफसाफ गराउँदै आएको छ ।