राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार कर्जा लगानीमा प्राप्त हुनुपर्ने ब्याज नगदमा प्राप्त भएमा मात्र आम्दानी जनाउन पाउँछन् । तर, बुझाउनु पर्ने निर्धारित समय पुगेको ब्याज पनि नगदमा प्राप्त नभएसम्म त्यस्तो ब्याजलाई ‘ब्याज मुल्तबी’ हिसाबमा राख्नुपर्छ । त्यस्तै, उठ्नुपर्ने भाका नाघेर खराब कर्जामा परिणत भएको ऋणको ब्याज रकमलाई पनि मुल्तबी हिसाबमा राख्नुपर्ने व्यवस्था छ ।
यसको प्रभाव के हुन्छ ?
बैंकहरूको ब्याज आम्दानीमा कमी आए पनि मुल्तबीमा गएको उठ्नुपर्ने ब्याज बढ्दै जाँदा कम्पनीको नाफामा असर पर्ने हुन्छ । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार गत फागुनसम्म बैंक तथा वित्तीय संस्थाहरूले नियमित रूपमा उठाउन नसकेर मुल्तबीमा राखेको यस्तो ब्याज रकम ४३ अर्ब ७७ करोड पुगेको छ । त्यस्तै, आव २०७१/७२ को तुलनामा आव २०७२/७३ को ८ महीनामा बैंकहरूको ब्याज आम्दानी ३६ प्रतिशतले घटेर ८४ अर्बमा सीमित भएको छ ।
आर्थिक वर्ष २०७०/७१ मा मुल्तबी हिसाबमा गएको ब्याज ९ प्रतिशतले बढेर ३० अर्ब रुपैयाँ पुगेकोमा आव २०७१/७२ मा थप ३ प्रतिशतले बढेर ३१ अर्ब पुगेको थियो । तर, आव २०७२/७३ को प्रथम ८ महिनामा नै बैंकहरूको ब्याज मुल्तबी ४० प्रतिशतले बढेर लगभग ४४ अर्ब पुगेको हो । चालू आवको ८ महिनामा यस्तो ब्याज मुल्तबी सबैभन्दा धेरै हुनेमा राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक र कृषि विकास बैंक रहेका छन् । यिनीहरूको यस्तो ब्याज क्रमशः १० अर्ब ४१ करोड रुपैँया, २ अर्ब ३१ करोड रुपैँया र २ अर्ब ३ करोड रुपैँया रहेको छ ।