राजाराम श्रेष्ठ, अधिवक्ता-
राजा त्रिभुवनको पालामा २००२ सालदेखि नेपालमा कागजी नोट छाप्न शुरू गरिएको हो । त्यतिबेला नोटमा रुपैयाँको सट्टा मोहर रू. अङ्कित गरिएको हुन्थ्यो । नोट चलनचल्तीमा ल्याएपछि केही समय अष्ट्रेलिया, हल्याण्ड, बेलायतलगायत देशमा नोट छापिँदै आएको थियो । भारतमा समेत नेपाली नोट छापिएको थियो । उक्त नोटको गुणस्तर नभएकाले पछि छाप्न बन्द गरिएको थियो । २०६२ सालमा नेपाल राष्ट्र बैङ्कले स्वर्ण जयन्ती वर्ष मनाउँदा रू. ५० को नोट र पूर्वराजा ज्ञानेन्द्रको गद्दी आरोहणको रजत महोत्सवको अवसरमा रू. २ सय ५० को नोट निष्काशन गरिएको थियो । त्यस्तै रू. २५ कागजी नोट र रू. १० को पोलिमरको नोट पनि छापेर चलनचल्तीमा ल्याइएको थियो ।
चल्तीका नोटहरु
अङ्ग्रेजीमा ‘लुम्बिनी दि बर्थ प्लेस अफ लर्ड बुद्ध’ भनी लेखिएको रू. १ सय दरको नोट २०६९ सालमा निष्काशित भएको थियो । जुन अहिले पनि चलनचल्तीमा रहेको छ । हाल १, २, ५, १०, २०, २५, ५०, १ सय, ५ सय र १ हजारका नेपाली नोटहरू बजारमा चलनचल्तीमा छन् । नोट छपाइको प्रारम्भदेखि हालसम्म विभिन्न डिजाइन र प्रकृतिका नोटहरू बजारमा आइसकेका छन् । मुलुकमा हुने शासन व्यवस्थाको परिवर्तनले गर्दा नोटमा एकरूपता आउन सकेको छैन ।
नोट निष्काशनका आधारहरु
नोट निष्काशन गर्ने अधिकार नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ५२ अनुसार नेपाल राष्ट्र बैंकलाई रहेको छ । यसैको उपदफा (४) अनुसार बैंकले आवश्यकताअनुसार विभिन्न दरका नोट निष्काशन गर्न सक्छ । नोट निष्काशन गर्दा नोटमा देखिने चित्र, आकार र दर नेपाल सरकारको स्वीकृतिमा र नोटमा नदेखिने चित्र, आन्तरिक सुरक्षाको व्यवस्था, छपाइ गर्ने व्यवस्था समितिले निर्णय गरेबमोजिम हुन्छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययन प्रतिवेदनको आधारमा आवश्यकताको आधारमा नोट छापिन्छ । त्यसरी छापिने नोटमा ६ अङ्कको नम्बर राखिएको हुन्छ । ६ अङ्कको नम्बर राखी ‘अ १’ बाट नोट छाप्न शुरू गरी ‘अ १००’ सम्म पु¥याइन्छ । यसको आवश्यकताअनुसार ‘क’ देखि ‘ज्ञ’ सम्म नम्बरसमेत राखी नोट छाप्ने काम गरिन्छ ।
नोट निष्काशनको प्रक्रिया
नेपाल राष्ट्र बैङ्कमा गभर्नरसहितको विज्ञ सम्मिलित नोट डिजाइन समिति रहेको हुन्छ । नोट डिजाइन गरी राष्ट्र बैङ्कको बोर्डबाट स्वीकृति गराएपछि मन्त्रिपरिषद्मा पेश गरिन्छ । स्वीकृत भएको नोटमा गभर्नरको हस्ताक्षर स्क्यान गरेर राखी नोट छाप्ने काम गरिन्छ । राष्ट्र बैङ्कले नोट छाप्नुपूर्व ग्लोबल टेण्डर आह्वान गरेर प्राविधिक र आर्थिक पक्ष सबल रहेको कम्पनीलाई नोट छाप्ने कामको जिम्मा दिइन्छ । छापिएको नोटको ‘प्रिफेक्स नम्बर’ चलनचल्तीमा ल्याएको सूचना राष्ट्र बैङ्कले जारी गरेपछि मात्र नयाँ नोटको मान्यता हुन्छ । समितिको राय लिई नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी जुनसुकै बैङ्क नोट कुनै तोकिएको ठाउँ वा अड्डाबाहेक अन्यत्र नचल्ने गराउन सक्छ । बैङ्कद्वारा कानूनी ग्राह्य बनाई निष्काशन गरिएको नोट नेपालभित्र सबै किसिमको सार्वजनिक तथा व्यक्तिगत ऋण चुक्ता गर्न सर्वस्वीकार्य हुने नेपाल राष्ट्र बैङ्क ऐनको दफा ५३ मा व्यवस्था गरेको छ ।
नोट निष्काशन र राष्ट्र बैँक
बैङ्कले झुटो मुद्रालाई खिच्ने, नष्ट गर्ने वा अन्य नोटसँग सटही गरिदिन सक्नेगरी ऐनको दफा ५७ मा व्यवस्था गरिएको छ । बैङ्कले डिजाइन मेटिएको, च्याटिएको, विकृत वा ५० प्रतिशतभन्दा बढी भाग नभएको नोट सटही गर्न इन्कार गर्न सक्नेछ । राष्ट्र बैङ्क ऐनको दफा ६० अनुसार बैङ्कले नेपालभित्र चलनचल्तीमा रहेका नोट शोधभर्ना दिने गरी खिच्न वा फिर्ता लिन सक्छ । त्यसरी खिचेका नोट तथा त्रुटियुक्त मुद्रा तोकिएबमोजिम धुल्याउने, काट्ने, फुटाउने वा अन्य कुनै पनि किसिमले नष्ट गर्न सक्छ ।
मुलुकी ऐन खोटा चलनको महलको १ नं अनुसार सरकारी टक लागेको नोट कसैले बाहिर छाप्न, बनाउन लगाउन र बनाउन उद्योग गर्न निषेध गरेको छ । नोट छापी खोटा चलनको अपराध गर्नेलाई बिगोबमोजिम जरीवाना गरी १० वर्ष कैद सजाय हुन्छ । कसैले पनि खोटा चलन गरी सम्पत्ति आर्जन गरी त्यसको शुद्धीकरण गरेमा समेत सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को परिच्छेद ७ बमोजिम सजाय हुन्छ ।
च्यात्तिएका नोट के गरिन्छ ?
नोट छापिएर विभिन्न माध्यमबाट बजारमा गएपछि पुनः त्यो नोट राष्ट्र बैङ्कमै फर्कन्छ । केरमेट भएका, च्यातिएका, आगोले खाएका आदि पुराना नोटहरू राष्ट्र बैङ्कले खिची त्यसको सट्टामा नयाँ नोट बजारमा पठाउँछ । च्यातिएर वा आगलागी भएर वा पूर्णरूपमा काम नलाग्ने भएका नोटहरू राष्ट्र बैङ्कमा फर्कंदैनन् । बैङ्कमा नफर्केका यस्ता नोटहरू नेपाली बजारमा चलायमान भइरहेको मानिन्छ । तर, कतिपय अवस्थामा डढेको वा च्यातिएको नोट भए पनि नम्बरसहित त्यसको २ तिहाइ भाग भएको खण्डमा राष्ट्र बैङ्कबाट भुक्तानी पाउन सकिन्छ ।
किन जरुरी छ नोटको हिफाजत ?
हाम्रो कामको आर्थिक आम्दानी भनेको नै मुद्रा हो । नेपाल सरकारले वा नेपाल राष्ट्र बैङ्कले निष्काशन गरेको नोट, मोहर, रुपैयाँ, रेचकी वा पैसा नेपाली मुद्रा हुने भनी नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन, २०१४ को दफा २ मा उल्लेख गरेको छ । सबैले मुद्राको प्रयोग हिफाजतका साथ गर्नु पर्छ । अझ कागजी नोटलाई त बढी हिफाजतका साथ प्रयोग गर्न सकेनौं भने त्यसको आयु चाँडै नै घट्छ । नोटलाई जथाभावी प्रयोग गर्दा च्यातिने, मैलो हुने, नोटको अक्षर, चिह्न, चित्र, नम्बर आदि नचिनिने भई झुत्रो हुने गर्छ ।
नोटमा लेख्ने, केरमेट गर्ने, जथाभावी दोबार्ने, नोटको प्याकेटमा स्टिच लगाउने गर्नाले पनि नोट फोहोर हुने र च्यातिने सम्भावना हुन्छ । प्रायःजसो बैङ्क तथा वित्तीय संस्थाले नोटको प्याकेटमा स्टिच लगाउने गरेको पाइन्छ । नेपाल राष्ट्र बैङ्कले २०७१ जेठ २३ गते जारी गरेको परिपत्रले एउटा मात्र स्टिच गर्न पाउने निर्देशन दिएको थियो । पछि राष्ट्र बैङ्कले नोटको प्याकेटमा स्टिच नगर्न २०७३ वैशाख १२ गते अर्को परिपत्र जारी गरिसकेको छ । नोटमा केरमेट नगर्ने र जथाभावी च्यात्ने कार्य नगर्ने र नगराउने व्यवस्था मिलाउन पनि उक्त परिपत्रमा भनिएको छ । त्यसका साथै बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्नो संस्थामा प्राप्त हुने नोटहरूलाई चलनचल्तीमा पठाउन योग्य वा अयोग्य छुट्ट्याउनुपर्ने र योग्य नोटको प्याकेटमा अनिवार्य रूपमा बैङ्कको नाम, नोट गन्ती गर्ने कर्मचारीको नाम, सही र छापसहित सेतो रङको स्लिप मात्र प्रयोग गर्नुपर्ने तथा अयोग्य नोटको प्याकेटमा पनि सोही बेहोरा उल्लेख गरी रातो रङको स्लिप मात्र प्रयोग गर्नुपर्ने गरी परिपत्र जारी गरेको छ ।
सफा र गुणस्तरयुक्त नोट प्रयोग गर्न पाउनु सबैको अधिकार हो । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैङ्क, अर्थ मन्त्रालय र नेपाल सरकारको नाममा बैङ्क नोटमा अबदेखि स्टिच नगर्न, केरमेट नगर्न, जथाभावी च्यात्न नपाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको थियो । नोट सभ्यताको प्रतीक पनि हो । नोटले विश्वमा राष्ट्रको पहिचान कायम गर्न मद्दत गरेको हुन्छ । नेपाली नोट नेपालको पहिचान पनि भएको हुँदा सबैले सुरक्षित साथ सफा नोट प्रयोग गर्नेतर्फ अग्रसर हुनुपर्छ ।
राष्ट्र बैङ्कले च्यातिएको, मेटिएको वा झुत्रिएको नोट पुनः निष्कासन गर्दैन । सभ्य नागरिकले नोटलाई झुत्रोमैलो बनाई, च्याती यसको आयु घटाई राष्ट्रलाई आर्थिक व्यय भार र्पुयाउने कार्य गर्नु शोभनीय हुँदैन । त्यसैले, विभिन्न सङ्घ, संस्था, व्यक्ति विशेषले नोटको हिफाजत गरी सुरक्षित तरीकाले प्रयोग गर्न सिकौं र सिकाउनेतर्फ सबै अग्रसर होऔं ।