June 2nd, 2016

शेयर विश्लेषक रविन्द्र भट्टराईको विश्लेषण : ‘ब्रोकरको कमिसन धेरै भयो, घटाउनुपर्छ’

rabindra bhattaraiकेही समययता शेयर बजार बुलिसको अवस्थामा छ । हरेक दिन अर्बमाथिको शेयर कारोबार भइरहेको छ । अहिले विभिन्न कम्पनिहरुले शेयर निष्काशन गरिरहेका छन् । त्यस्तै, भर्खरै सार्वजनिक भएको बजेटले पनि बजारलाई प्रभाव पारिरहेको छ । त्यसो त सरकारका हरेक नीति नियमहरु सार्वजनिक हुँदा त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा पर्ने गरेको छ । यसैबिच, अहिलेको शेयर बजारको अवस्था, बजारलाई प्रभाव पार्ने सूचकहरु, समस्या र सुधारका उपाय लगायतका विषयमा केन्द्रित रहेर शेयर विश्लेषक रविन्द्र भट्टराईसँग बैँकिङ खबर डटकमका लागि सहकर्मी नवराज कुँवरले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

शेयर बजार बढ्नुको कारण के हो ?
अहिले शेयर बजार बढ्नुको पछाडिको एउटा कारण सिजनल कारण पनि हो । सामान्यतयाः वैशाख महिनापछि शेयर बजार बढ्ने गर्छ । विगत १२/१३ बर्षको इतिहासलाई हेर्ने हो भनेपनि करिव ७७ प्रतिशत समय शेयर बजार बैशाखपछि बढेको छ । अर्को कारण व्याजदर र तरलता पनि हो । अस्तिसम्म शेयर बजार बढ्नको कारण बजेट पनि हो । यसैको परिणामले अहिले शेयर मार्केट बढीरहेको छ र नेप्से परिसुचकले पनि नयाँ–नयाँ रेकर्ड बनाइरहेको छ ।  

शेयर बजार बढ्दा फन्डामेन्टल कुरालाई हेर्ने हो या हल्लाकै पछि लाग्ने हो ?
शेयर बजारको विषयमा हल्ला त संसारभरी नै हुन्छ । त्यसको प्रभाव परिरहने र लगानीकर्ता त्यसको पछाडि लागिरहने अवस्था पनि भइरहेकै हुन्छ । यसलाई स्वभाविक पनि मान्नुपर्दछ । शेयर बजारमा सूचना र जानकारीहरुको भूमिका एकदमै महत्वपूर्ण हुन्छ । एउटा सानो सूचनाले पनि शेयर बजारमा ठूलो उत्तारचढाव ल्याएको हुन्छ र लगानीकर्ताहरु पनि यसप्रति अत्यन्तै चनाखो भइरहेका हुन्छन् ।  

शेयर बजारलाई सुधार गर्नको लागि लगानीकर्ता र सरकारको तर्फबाट के गर्नुपर्ला ?
शेयर बजार सुधार गर्नको लागि सबैभन्दा ठूलो हात धितोपत्र वोर्ड र सरकारको हुन्छ । त्यस्तै नेप्सेको पनि उल्लेखनीय भूमिका रहेको हुन्छ । अहिलेको शेयर बजारलाई हेर्ने हो भने धितोपत्र बोर्डले गर्नुपर्ने कामहरु धेरै छन् । त्यसमध्ये पूर्वाधार निर्माणको काम सबैभन्दा महत्वपूर्ण काम हो । भौतिक पूर्वाधार र प्राविधिक विकासमा नेप्सेले जसरी काम अगाडि बढानुपर्ने हो त्यसै अनुरुप काम नगरेको अवस्था छ । नेप्से अहिले हात बाँधेर बसेको छ । सरकारले आफ्नो लगानी भएको संस्थालाई संस्था सवलीकरण गर्नको लागि दवाब दिन सक्छ । तर सबै जिम्मेवारी लिन सक्दैन । सरकारले निर्माण गरेका नीति तथा नियमलाई नेप्सेले पालना गर्ने हो भने शेयर बजार थप व्यवस्थित बन्न सक्छ जस्तो लाग्छ मलाई । धितोपत्र बोर्डले पछिल्लो समयमा सक्रिय भएर काम गरेको छ । यसै अनरुप काम गर्दै जाने हो भने भविष्य पनि राम्रो हुन्छ र सरकारले पनि आवश्यकता हेरिकन नीति तथा नियमहरु बनाउन सक्छ ।
 
नेप्सेमा मार्केट मेकिङ गर्ने काम डिलरले गरेको हुन्छ । आफ्नो खरिद मुल्य र विक्रि मुल्य राखेर सेयर कारोबार गर्ने संस्थाहरु छन् । जसले लगानीकर्ताको रुपमा काम गर्दैन या अरुको अर्डर लिएर काम गर्दैन । आफूसँग भएको सेयर आफ्नो नाममा किनेर विक्रि गर्ने काम गर्छ । उसको फाइदाको विषय भनेको खरिद विक्रिबीचको अवस्था हो । मार्केट मेकर र डिलर आउनु भनेको हाम्रो लागि खुशिको कुरा पनि हो । तर त्यसका लागि पर्याप्त कानुन छकि छैन भन्ने कुरामा पनि भर पर्छ । अहिले नयाँलाई बजारमा प्रवेश गराउनु ठूलो कुरा भएन तर पनि त्यसलाई अनुगमन गर्नको लागि नीति नियम र कानुन कत्तिको कसिँलो छ  भन्ने कुराले पनि फरक पारेको हुन्छ । 

ब्रोकरको कमिसन घटाउने कुरा विगतमा पनि लामो समयसम्म चर्चाको विषय बन्यो तर अहिलेसम्म घट्न नसक्नुको कारण के हो ?
ब्रोकरको कमिसन दक्षिण एसियामै महङ्गो छ । यसलाई घटाउनको लागि धितोपत्र बोर्डपनि अर्थमन्त्रालयमा पठाएको भन्ने कुरा बाहिर आएको छ । तर यो विषयमा अर्थ मन्त्रालयले खासै चासो नदिएको होकि जस्तो लाग्छ मलाई । यसलाई घटाउन आवश्यक देखिन्छ र समयमै घट्नुपर्छ । यो घट्या भने लगानीकर्ताहरुले पनि सहज महसुश गर्छन् र यो देशको लागि पनि फाइदाको विषय बन्न सक्छ । सेयर बजारमा कारोबार बढ्छ । र कारोबार बढ्नु भनेको सरकारको लागि पुँजीगत लाभ बढी प्राप्त गर्ने अवसर पनि हो । यसले मुल्य पनि बढ्ने सम्भावना हुन्छ । अहिले सरकारले जतिपनि सेयरबाट कर पाप्त गरिरहेकोे छ, त्यो कमिसनबाट मात्रै पाइरहेको छ । त्यो भन्दा बढी पुँजीगत लाभबाट प्राप्त गर्न सक्छ ।

सेवन र नेप्सेकोबीचमा तालमेल मिलेको छैन भनिन्छ नि ?
यी दूईवटा संस्था एक अर्कामा अन्तर्निर्भर हुने संस्था हुन् । नेपाल स्टक एक्सचेन्जको यसमा सबैभन्दा बढी दोष देखिन्छ । एउटा संस्था नियम लागु गर्ने र एउटा संस्था नियम लागु गराउने संस्था छ । यसमा नेपाल स्टक एक्चेन्जको व्यवस्थापनले अलि बढी जर्बजस्ती गरे जस्तो देखिन्छ । आफू काम नगर्ने र अरुलाई बढी दोष लगाउने प्रवृति छ । जुन पहिलेदेखि नै चलिआएको संस्कृति हो । त्यसलाई नेपाल स्टक एक्सचेन्जले निरन्तरता दिए जस्तो देखिन्छ । यस्तो गर्ने हो भने बजारको कदापि हित हुँदैन । व्यक्तिले जागिर खाला तर संस्था कहिल्यै राम्रो हुँदैन ।

लगानीकर्ताहरुलाई के सुझाव दिन चाहानुहुन्छ ?
शेयर बजार जहिले पनि जोखिमपूर्ण ठाउँ हो । यसलाई सुरक्षित गर्न कोहि पनि आउँदैन । त्यसको लागि आफैँ सचेत हुनुपर्छ । भोली क्षति भएमा समाधान गर्न आफैँ तत्पर हुनुपर्छ । उपायहरु अवलम्बन गरेर अघि बढ्नु जरुरी हुन्छ ।