बेरोजगार युवालाई बिनाधितो सस्तो ब्याजदरमा २ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउन युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम व्यापक दुरुपयोग भएको भेटिएको छ । कार्यक्रमको उद्देश्य सिप र जाँगर भएका तर पैसा नभएका युवालाई रोजगारीको अवसर सिर्जना गर्नु थियो । तर, कार्यक्रम सञ्चालनको तरीका र त्यसको प्रतिफल उद्देश्यभन्दा फरक पाइएको छ ।
स्वस्तिक बचत तथा ऋण सहकारी संस्था स्वरोजगार कोषको रकम पाउने मध्येको सहकारी हो । पाँच बर्षअघि रामनगर १, नवलपरासीमा स्थापना भएको यो सहकारीले उतिबेला देखि नै गाई फार्म सञ्चालन गरेको छ । स्वस्तिकलाई २०६९ सालमा कोषले ३० लाख कर्जा दिएको थियो । तर स्वस्तिकले १८ लाखमात्र गाई फार्ममा लगानी गर्यो । “८ लाखमा सुरु गरेको गाई फर्ममा अपुग चएपछि त्यो रकम पनि हालियो” सहकारी व्यवस्थापक तारा न्यौपानेले भने, “फार्म घाटामा थियो, सहुलियत ऋण पाएपछि त्यहि लगायौँ ।” कार्यसमितिको बैंठकबाटै कोषको पैसा फार्ममा लगाउने निर्णय भएको उनले बताए । “पहिलो र दोश्रो किस्तामा शेयर सदस्यकै नाममा गाई फार्मका लागि सामूहिक कर्जा उपलब्ध गराएका छौँ ”, न्यौपानेले भने । तेश्रो किस्ताबापत आएको १२ लाख एकमुष्ट पाडापालनमा लगाइएको छ ।
कागज चाहि यो सहकारी सेयर सदस्यको नाममा कर्जा उपलब्ध गराइएको देखाइएको छ । तर, धेरै सदस्यलाई आफ्नो नाममा कर्जा लिएको थाहा छैन । नक्कली ऋण खडा गरिएको विषयमा स्वस्तिक सहकारीका अध्यक्ष देवराज भनछन्, “ दुइटा फार्म चलाउँदा पैसा अपुग भएपछि स्वरोजगार कोषको सबै पैसा यसैमा लगायौँ । नाफा सबैले पाउँछन् के भयो त ?” स्वस्तिकले किर्ते ऋण खडा गरेको छ । सरकारी कर्मचारी परिवार र स्यम् आफ्ना कर्मचारीका नाममा ऋण लगानी गरेको देखाइएको छ, जुन स्वरोजगार कोषको मापदण्डविपरीत छ ।
नाम गरिबको, रजाई अरुको
बुटबलमा केन्द्रीय कार्यालय रहेको मिसन डेभलपमेन्ट बैंकले स्वरोजगार कोषबाट कर्जा लिएर नवलपरासी र रुपन्देहीका युवामा लगानी गर्यो । तर, बैंक बेरोजगार युवालाई स्वरोजगार बनाउनतिर लागेन बरु विभिन्न संस्थाका सञ्चालक र प्रोप्राइटरलाई यो सुविधा उपलब्ध गरायो । “बैंकले सहुलियत ऋण लिन भनेर बोलायो, ऋण लिन गएँ,” रामनगर १ भुमहिका स्टार कम्प्युटर इन्स्टिच्युट तथा टे«डिङ सेन्टरका सञ्चालक नारायण पाण्डेले भने । उनका अनुसार यो कोषबाट रकम लिन खासै अप्ठेरो पनि भएन, अनुगमन गर्न पनि कोहि आएन ।
मीना क्षेत्री पनि बैंकबाट सहुलियत व्याजमा ऋण पाउनेमध्ये एक हुन् । “जग्गा किन्दा पैसा पुगेन, त्यहि पैसा हालियो”, स्वरोजगार कोषबाट कर्जा लिएको स्वीकार गर्दै उनले भनिन् उनले गाईको गोठ देखाएर ऋण लिएकी थिइन् । रामनगर ८, नवीन टोलमा न्यौपाने स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक हुन् । उनलाई पनि गुड पर्फर्मेन्स देखेर बैंकले बर्जा उपलब्ध गराएको हो । “स्वरोजगार कोषका कर्जा कर्मचारीले लिन नमिल्ने हो तर भैसी किनेको पैसा तिर्न बाँकी थियो, त्यसैले लिएँ” उनी भन्छन् ।
सहुलियत कर्जा लिनेमा अध्यापक र कर्मचारी पनि छन् मोतिलाल बहुमुखी क्याम्पसमा पढाउने बसन्त सुवेदी र हाल तथ्यांक कार्यालय गोरखामा कार्यरत यज्ञमुर्ति भण्डारीले पनि स्वरोजगार कोषबाट कर्जा लिएका छन् । नवलपरासीमा मात्रै कोषको १८ सहकारी र दुई बैंकमार्फत २०७२ फागुनसम्म करिब १० करोड लगानी छ । विपन्न र बेरोजगारलाई अवसर दिन गठन भएको स्वरोजगार कोषबाट ऋण पाउनेहरु सबैजसो हुनेखाने र पहुँचवाला छन् । नवलपरासी र रुपन्देही कार्यक्षेत्र बनाएको मिसन डेभलपमेन्ट बैंकले १ सय ३३ जनामा १ करोड लगानी गरेको छ । बैंकले प्रतिव्यक्ति ७५ हजारका दरले ऋण उपलब्ध गराएको छ । “पेसा र रोजगारीमा छन् र तिर्न सक्छन् भने तिनलाई ऋण दिने हो, हामीले पनि तिर्न सक्ने मान्छे हेर्यौँ ।” बैंकका ऋण अधिकृत विष्णु गौतम भन्छन् ।
बुटबल इलाका कार्यालय रहेको साना किसान विकास बैंकले पनि नवलपरासी र रुपन्देहीमा लगानी गरेको छ । ०६८ सालमा रुपन्देही र नवलपरासीमा १४ साना किसान मातहतका सहकारीमा १ करोड २ लाख ४० हजार लगानी गरेको छ । बैंकका इलाका प्रबन्धक शेरबहादुर चौधरीले स्वरोजगार कार्यक्रम प्रभावकारी नभएको खुलासा गरे । “निर्देशिकाले विपन्न र बेरोजगारी युवालाई देउ भन्छ, केहि नभएकालाई कर्जा दिँदा डुब्छ”, उनले भने, “समस्या यहिनेर छ ।” कोषका कानुनी तथा असुली शाखाका प्रमुख कमल प्रसाद सापकोटाले भने कोषको बजेट दुरुपयोग हुन नदिने बताउँछन् । “जनताको कर कट्टा गरेर गरीब र विपन्नलाई सहयोग गर्न संकलन गरिएको रकम दुरुपयोग हुन दिन्नँ,” उनी भन्छन्, “सहकारी वा बैँकले दुरुपयोग गरेको भए कारबाही गर्छु ।”
पाल्पाको सिर्जना बचत तथा ऋण सहकारी संस्थाले पनि चिनेजानेका र नजिकका व्यक्तिलाई दोहोरो ऋणसमेत उपलब्ध गराएको पाइएको छ । सिर्जनाले स्थानीय कुशलबहादुर गाहामगर, शान्ता न्यौपाने, कमलादेवि गैरे र यज्ञ प्रसाद बत्स्याललाई पटकपटक कर्जा दिएको भेटिएको छ । पाल्पाको रामपूर नगरपालिका ७ मा सिटी मेडिकल सञ्चालन गरेर बसिरहेका खेमनारायण काफ्लेले धितो राख्न नसकेर स्वरोजगार कोषको कर्जा पाएनन् । उनले भने, “कर्जा माग्दा धितो माग्यो, धितो नहुँदा पाइनँ ।” रामपूर नगरपालिका १० फेदियाका खेमराज गौतमले पनि धितो पेस गर्न नसक्दा कर्जा पाएनन् । सहकारी व्यवस्थापक दीपेन्द्र पौडेल लगानी डुब्ला भन्ने डरले धितो खोजेको तर्क गर्छन् । सहकारीले विपन्न र बेरोजगार युवालाई बिनाधितो लगानी गर्ने भनेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयबाट ५० लाख कर्जा लिएको छ ।
रामपूर ५ रातमाटाका सूर्यप्रसाद पंगेनीले मासु पसल र कुखुरापालन व्यवसाय गर्न २ लाख कर्जा मागे । डेढ लाख मात्रै पाए । त्यही पैसामा उनले कुखुरापालन व्यवसाय र मासु पसल सञ्चालन गरिरहेका छन् । तर, उनले पनि यो पैसा बिनाधितो पाएनन् । “कर्जा लिन घरजग्गाको लालपुर्जाको फोटोकपि मागे”, पंगेनीले भने । सहकारीले मालपोत कार्यालयलाई पंगेनीको जग्गा रोक्का गर्न लेखेको निवेदनमा कर्जाको अंक पनि बढाएर ५ लाख लिएको देखाएको छ । यसरी अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार कोषको सहुलियत कर्जा लगानी गर्दा स्वरोजगार कोषको नियमविपरीत ऋणीको सम्पत्ति धितो राखिएको छ ।
हालत खराब, बोल्न मिल्दैन
साना किसान विकास बैँक बुटवल शाखाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट १ करोड २ लाख ४० हजार लिएर नवलपरासी र रुपन्देहीका १४ साना किसान कृषि सहकारीमा लगानी गरेको छ । यसमध्ये, नवलपरासीको कुमारवर्तीमा रहेको साना किसान सहकारी संस्थाले २५ जनालाई ३३ लाख लगानी गरेको छ । सहकारीले २६ असार २०६८ मा लगानी सुरु गरेर ५ असार २०७० मा कार्यक्रम सम्पन्न गरेको छ । दुई वर्षको अवधिमा लगानी सुरु गरिएको रकम कसरी प्रयोग भइरहेको छ भन्नेबारेमा एकपटक पनि अनुगमन भएन । “बैँकबाट हेर्न आए, स्वरोजगार कोषबाट कोही आएनन्,” सहकारीकी व्यवस्थापक सीता पाठकले भनिन् । पाल्पा छहरा १ स्थित परोपकार स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाले ३० युवालाई ४५ लाख लगानी गरेको छ । यहाँ पनि कार्यक्रमको प्रभावकारीतामाथि प्रशन उठेको छ । कोषका सूचना अधिकृत लोकबहादुर खड्काका अनुसार देशका ७३ जिल्लाका २८ वटा बैँक र ६ सय २४ सहकारीमा अहिलेसम्म ३ अर्ब ४९ करोड लगानी गरिएको छ ।
कोषको लगानी निर्देशिकाअनुसार अनुगमनको जिम्मेवारी कर्जा दिने बैँक, वित्तीय संस्था, सहकारी, स्वयम् स्वरोजगार कोषका कर्मचारी र जिल्ला संयोजन तथा अनुगमन समितीलाई छ । जिल्ला संयोजन तथा अनुगमन समितीले डाकेको अनुगमनमा आफू पुगेको डिभिजन सहकारी कार्यलयका लेखापाल प्रकाश आचार्य बताउँछन् । “स्वरोजगार कोषको मापदण्डविपरीत परियोजना सञ्चालन गरेको देखियो,” उनी भन्छन्, “हामी बोल्न मिलेन, सबैको हालत खराब छ ।”
अडिट पनि फर्जी
पाल्पाको असनटोलमा कार्यालय रहेको तिनाउ बहुउद्देश्यीय कृषि सहकारी संस्थाले फर्जी अडिट पेस गरेर स्वरोजगार कोषबाट कर्जा लिएको पाइएको छ । कोषबाट १० लाख ५० हजार कर्जा लिन फर्जी लेखापरीक्षण प्रतिवेदन पेश गरिएको थियो । संस्थाको आव ०६७/६८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन नै फर्जी भएको नेपाल अडिटर्स एसोसिएसनका जिल्ला अध्यक्ष रामजी ज्ञवालीले पुष्टि गरेका छन् ।
गरीब, विपन्न र बेरोजगार युवालाई रोजगार बनाउने नारासहित स्थापना गरिएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले सम्पन्न र बैँक तथा वित्तीय संस्थाले पत्याएका व्यक्तिलाई मात्रै लगानी गरेको देखिन्छ । कार्यक्रमको उद्देश्यानुसार, सीप र जाँगर भएका तर पैसा नभएका युवालाई रोजगारी अवसर सिर्जना गर्नु थियो । तर, त्यसविपरीत हुनेखाने र पहुँचवालालाई सहुलियत ऋण दिएर कोषले उुवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली २०६५ को उल्लंघन गरेको छ । (यो सामग्री खोज पत्रकारिता केन्द्रबाट लिइएको हो ।)