May 31st, 2016

४ खर्ब ७० अर्बमा ओर्लियो देशको व्यापार घाटा

financial chartआर्थिक बर्ष २०७२/७३ को नौ महिनामा कुल वस्तु व्यापार घाटा पौने ४ खर्बमा सिमित भएको छ । व्यापार घाटा ८.२ प्रतिशतले घटेर ४ खर्ब ७० अर्ब ७३ करोड रुपैँयामा सीमित भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १२.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.५ प्रतिशत रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.१ प्रतिशत रहेको थियो । 

यस्तो छ निर्यातको अवस्था
कुल वस्तु निर्यात २३.४ प्रतिशतले ह्रास आएको छ । समीक्षा अवधिमा ४९ अर्ब २४ करोड रुपैँया बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारततर्फ ३३.४ प्रतिशत, चीनतर्फ ४१.३ प्रतिशत र अन्य मुलुकतर्फ १.५ प्रतिशतले निर्यात घटेको छ । वस्तुगत आधारमा भारततर्पm जिङ्क शीट, जि.आई. पाइप, जुस, लत्ताकपडा लगायतका वस्तुहरु, चीनतर्फ प्रशोधित छाला, चाउचाउ, तयारी पोसाक लगायतका वस्तुहरु र अन्य मुलुकतर्फ दाल, प्रशोधित छाला, छालाका तयारी सामान, चिया लगायतका वस्तुहरुको निर्यात घटेको छ । भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र वीरगञ्ज सुख्खा वन्दरगाहबाट भएको निर्यातमा वृद्धि भए तापनि अन्य भन्सार नाकाहरुबाट भएको निर्यातमा कमी आएको छ ।

आयात पनि घट्यो
कुल वस्तु आयात पनि घटेको छ । समीक्षा अवधिमा आयात ९.९ प्रतिशतले घटेर ५ खर्ब १९ अर्ब ९७ करोड रुपैँया पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.५ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा चीनबाट भएको आयात २.८ प्रतिशतले बढेको छ भने भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः १४.३ प्रतिशत र ५.५ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा रासायनिक मल, दुरसञ्चारका उपकरण तथा पार्ट्स, तयारी पोसाक लगायतका वस्तुको चीनतर्फबाट हुने आयात बढेको छ भने भारततर्फबाट पेट्रोलियम पदार्थ, एम.एस.विलेट, रासायनिक मल, मेसिनरी तथा पाटपूर्जा लगायतका वस्तुहरु र अन्य मुलुकबाट चाँदी, खाने तेल, कच्चा पाम तेल, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ । आयाततर्फ समीक्षा अवधिमा मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सार नाकाबाट हुने आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । तातोपानी भन्सार नाकाबाट हुने व्यापार अझै सुचारु हुन सकेको छैन । 

निर्यात आयात मूल्य सूचकाङ्क 
आर्थिक वर्ष २०७२/७३ को नौ महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाई मूल्य सूचकाङ्क वार्षिक विन्दुगत आधारमा १९.२ प्रतिशतले वृद्धि भएको तर आयात मूल्य सूचकाङ्कमा ४.३ प्रतिशतले कमी आएकोले व्यापारको शर्त (Terms या Trade) मा २४.५ प्रतिशतले सुधार भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अनुपात १८.२ प्रतिशतले बढेको थियो । अलैंची, यार्सागुम्बा निर्यात मूल्यमा वृद्धि भएको कारण निर्यात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो भने पेट्रोलियम पदार्थहरुको मूल्यमा कमी आएको कारण समीक्षा अवधिमा आयात मूल्य सूचकाङ्कमा कमी आएको हो ।